१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

काबुलमा रहेको जापानी दूतावास कतार सार्ने तयारी

एएनआई 

टोकियो — जापान सरकारले अफगानिस्तानको राजधानी काबुलमा रहेको आफ्नो दूतावासको काम कतारबाट गर्ने भएको छ । जापानका अधिकारीहरुले अफगानिस्तानबाट दूतावासको काम गर्न अहिले असहज भएको ठहर गर्दै कतारबाट त्यहाँको काम गर्ने तयारी गरेका हुन् ।

काबुलमा रहेको जापानी दूतावास कतार सार्ने तयारी

तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेपछि राजनीतिक अन्योल सिर्जना भएकाले विदेशी कूटनीतिक निकायहरुले अफगानिस्तानमै रहेर काम गर्न अप्ठ्यारो मानिरहेका छन् । तालिबान विद्रोहीहरुको सरकारप्रति आशङ्का र त्रास व्यक्त गर्दै अफगानिस्तानबाट अहिले हजारौँ विदेशी तथा स्वदेशी नागरिकले देश छाडेका छन् । धेरै देशहरुले अफगानिस्तानबाट आफ्ना नागरिक फिर्ता गराइरहेका बेला जापानले पनि दूतावासको काम अन्य देशबाट गर्ने तयारी गर्नुलाई स्वभाविक रुपमा लिइएको छ ।

जापानका विदेश मन्त्री तेशिमित्सु मोतेगीले अफगानिस्तानमा रहेको जापानको दूतावासको काम कतारको राजधानी दोहाबाट गराउने तयारी भइरहेको बताएका हुन् । अफगानिस्तानस्थित दूतावासको काम अहिले पनि अस्थायी रुपमा टर्कीको राजधानी इस्तानबुलस्थित कन्सुलेट जनरलबाट भइरहेको उनले जानकारी दिए । 'तालिबानका अधिकारीहरुसँग कुराकानी गर्नुपरेमा दोहामै उनीहरुको राजनीतिक कार्यालय रहेकाले त्यहीँ पनि छलफल गर्न सकिन्छ,' विदेश मन्त्री मोतेगीले भने ।

अमेरिकाले भने गत मंगलबार आफ्ना सबै सैन्य अधिकारीहरुलाई अफगानिस्तानबाट फिर्ता गरेर अफगानिस्तानमा आफ्नो सैन्य संलग्नता अन्त्य गरेको छ । अफगानिस्तानबाट हात झिक्नु परेको विषयलाई अमेरिकाले आफ्नो सबैभन्दा लामो युद्धबाट बाहिरिएको रुपमा लिएको छ ।

सम्बन्धित समाचार

प्रकाशित : भाद्र १६, २०७८ २१:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?