२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

अफगानिस्तानका पूर्वमन्त्री जो जर्मनीमा फूड डेलिभरी गर्छन्

रोयटर्स

बर्लिन — सय्यद सादात अफगानिस्तानका पूर्वसञ्चारमन्त्री हुन् । सन् २०१६ देखि २०१८ सम्म उनी मन्त्रीको जिम्मेवारीमै थिए । उनी गत डिसेम्बरमा उज्ज्वल भविष्यको आशामा जमर्नी गए । 

अफगानिस्तानका पूर्वमन्त्री जो जर्मनीमा फूड डेलिभरी गर्छन्

अहिले उनी जर्मनीको लेइपजिग सहरमा फास्टफुड डेलिभरी गर्छन् । मन्त्री भइसकेको मान्छेले यस्तो काम गर्ने भनेर उनलाई सुरुमै परिवारका सदस्यले पनि आलोचना गरेका थिए । तर उनले काम सानो ठूलो हुँदैन भन्दै तत्काल जे काम पाए त्यही सुरु गरे । ‘मलाई यसमा कुनै लज्जित हुनुपर्ने कुरै छैन,’ ४९ वर्षीय ब्रिटिस–अफगान नागरिक सादातले भने । राष्ट्रपतिनिकट व्यक्तिहरुसँगको असहमतिपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए ।

उनी भन्छन्, ‘मलाई आशा छ अरु राजनीतिज्ञले पनि यही बाटो पछ्याउनुपर्नेछ । लुकेर बस्नुभन्दा सार्वजनिक रुपमै काम गर्नु राम्रो हो ।’ तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेपछि पूर्वमन्त्री सादातको बारेमा विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा समाचार प्रकाशित भएको हो । उनका साथी र परिवार पनि अहिले अफगानिस्तान छाड्ने तयारीमा रहेका छन् । हजारौं अफगानिस्तान सुरक्षित भविष्यको आशमा मातृभूमि छाड्न चाहन्छन् ।

बिहीबार मात्रै काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा इस्लामिक स्टेट–खुरासान(आईएस–के) ले गराएको आत्मघाती बम विस्फोटमा १३ अमेरिकी सुरक्षाकर्मीसहित करिब १६० जना अफगानी नागरिकको मृत्यु भएको थियो । उद्धारको पर्खाइमा विमानस्थलमा भीड लागेका बेला विस्फोट गराइएको थियो । अमेरिकी नेतृत्वको नेटो गठबन्धनको सेनाले अफगानिस्तान छाड्ने निर्णय गरेसँगै विभिन्न मुलुकमा शरण खोज्ने अफगानी नागरिकको संख्या पनि ह्वात्तै बढेको छ । त्यसमा पनि जर्मनीमा शरण खोज्ने अफगानी नागरिकको संख्या १३० प्रतिशतले बढेको शरणार्थी र आप्रवासीसम्बन्धी संघीय कार्यालयले जनाएको छ ।

पूर्वमन्त्री सादात ब्रिटिस नागरिक पनि भएकाले बेलायत पनि जान सक्थे तर युरोपेली युनियनबाट बाहिरिने निर्णयसँगै उनी जर्मनी जान चाहे । आर्थिक अवस्था राम्रो होला कि भन्ने देखेर उनले जर्मनी रोजेको बताए । त्यसो त उनी सूचना प्रविधि र टेलिकम्युनिकेसनमा उच्च शिक्षा हासिल गरेका कारण त्यसै क्षेत्रमा काम पाइन्छ कि भनेर उनी जर्मनी गएका थिए । तर जर्मन भाषाबिना त्यो सम्भावना निकै न्यून रहेको छ । उनी भन्छन्, ‘भाषाको ज्ञान निकै महत्त्वपूर्ण कुरा हो ।’

उनले लाइफर्‍यान्डोमा साँझको सिफ्टमा ६ घण्टा खानेकुरा डेलीभरीको काम गर्छन् । त्यसअघि उनी दैनिक ४ घण्टा भाषा स्कुलमा जर्मन भाषा सिक्छन् । ‘सुरुवाती दिनमा त निकै उत्साहित थिए, तर काम भने कठिन छ,’ उनले भने । सहरको ट्राफिकमा साइकल चलाउन चुनौतीपूर्ण रहेको उनको भनाइ छ । ‘जति तपाईँ बाहिर जानुहुन्छ, जति मानिसहरू देख्नुहुन्छ, त्यति तपाईंले सिक्ने अवसर पाउनुहुन्छ,’ उनले भने ।

प्रकाशित : भाद्र १२, २०७८ १४:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?