तालिवान काबुल छिर्न थाले- विश्व - कान्तिपुर समाचार

तालिवान काबुल छिर्न थाले

एजेन्सीहरु

काबुल — अफगानिस्तानका तालिवान लडाकुहरू आइतबार राजधानी काबुल पस्न थालेका छन् । अमेरिकाले त्यहाँस्थित दूतावासबाट कूटनीतिज्ञहरुलाई हेलिकप्टरमार्फत खाली गराएपछि तालीवानहरु काबुल पस्न थालेको अफगानिस्तानको गृह मन्त्रालयका अधिकारीले बताएका छन् ।

एक वरिष्ठ अधिकारीले समाचार संस्था रोयटर्सलाई तालीवानहरु 'सबै दिशाबाट काबुल पस्न थालेको' बताएका छन् । यसबारे विस्तृत भने खुलाइएको छैन ।

अफगानिस्तानका मुख्य सहरहरु नियन्त्रणमा लिएको केही घन्टामै तालिवानहरु काबुल पसेको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । आइतबार बिहान मात्रै तालीवानहरुले पूर्वी सहर जलालावादलाई नियन्त्रणमा लिएका थिए ।

अफगान राष्ट्रपतिको कार्यालयको ट्वीट अनुसार काबुलका विभिन्न स्थानमा 'फायरिङ भएको सुनिएको' तर त्यहाँस्थित सशस्त्र बल र अन्तराष्ट्रिय साझेदारहरुको सहयोगमा सहर नियन्त्रणमै रहेको छ ।

तालिवान समूहले काबुलमा हिंसा नगर्न र बाहिरिन चाहनेलाई सुरक्षित रूपमा निस्कन दिन आफ्ना लडाकुहरूलाई निर्देशन दिएको दोहास्थित एक नेतालाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

सम्बन्धित समाचारहरु :

प्रकाशित : श्रावण ३१, २०७८ १४:५४
प्रतिक्रिया
पठाउनुहोस्

उत्पादन निर्यातका लागि सोचाइ परिवर्तन गर्ने समय आयो : महासचिव खड्का

कान्तिपुर संवाददाता

काठमाडौँ — स्वदेशी उत्पादनलाई प्रबर्धन गर्नका लागि सोचाइ परिवर्तन गर्ने बेला आएको निर्यात व्यवसायी महासंघ, नेपालका महासचिव अमृत खड्काले बताएका छन्  ।

आइतबार कान्तिपुर इकोनमिक समिट, २०२१ को दोस्रो सत्र 'आफ्नै उत्पादनको सामर्थ्य' विषयको अन्तरक्रियामा खड्काले यस्तो बताएका हुन् ।

‘अब हामीले हाम्रो सोच परिवर्तन गरौं । भारतको संरक्षणवादी बजार छ,’ उनले भने, ‘कोभिडपछि व्यापारको परिभाषा नै बदलियो, जुन हामीलाई फाइदा हुने गरेर बदलिदियो ।’

हामी हस्तकलामा अघि बढ्न सक्छौं । अहिले पनि हिमालमा राडीपाखी बनाइन्छ । हामीसँग त्यस्ता धेरै ज्ञान, सीप र कला छन् । यसकारण पनि ती स्रोतको उपयोग गर्नकै लागि भएपनि अब सोचाइलाई परिवर्तन गर्ने समय आएको उनले बताए ।

‘हामी अनुमान मात्र गर्न सक्छौं । कार्पेटमा हामी ग्रोथ गरिरहेका छौं । संसारको सबैभन्दा महंगो कार्पेट नेपालको हुन्छ,’ उनले भने, ‘हामीसँग उज्ज्वल भविष्य छ । सानो सोचाई राख्नु भएन ।’

त्यस्तै, व्यवसायीलाई सरकार, एनजीओ/आइएनजीओहरूले अवरोध गर्न नहुने उनले बताए ।

प्रकाशित : श्रावण ३१, २०७८ १३:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×