तालिबानले अफगानिस्तानमाथि कब्जा गरे मान्यता दिइनेछैन : नेटो

कान्तिपुर संवाददाता

काठमाडौँ — नर्थ एटलान्टिक ट्रिटी अर्गनाइजेसन(नेटो) ले अफगानिस्तानमा तालिबानले कब्जा गरे त्यसलाई मान्यता नदिने बताएको छ । शुक्रबार नेटोका महासचिव जेन्स स्टोलटेनबर्गले एक बयान जारी गर्दै अफगानिस्तानमा बलपूर्वक तालिबान सत्तामा आए त्यसलाई मान्यता नदिने बताएका हुन् । 

तालिबानले अफगानिस्तानमाथि कब्जा गरे मान्यता दिइनेछैन : नेटो

महासचिव स्टोल्टेन्बर्गले नेटोको सहयोगी देश अफगानिस्तानमा जारी द्वन्द्वको राजनीतिक समाधान चाहेको पनि बताएका छन् । ‘हामी घटनालाई सूक्ष्म रुपमा नियालिरहेका छौँ । हामी अफगान अधिकारी र बाँकी अन्तर्राष्ट्रिय समुदायसँग लगातार सम्पर्कमा छौँ । तालिबानको आक्रमणसँग ठूलो मात्रामा भइरहेको हिंसालाई लिएर नेटोका सहयोगी चिन्तित छन्, जसमा नागरिकमाथि आक्रमण, हत्या तथा गम्भीर मानवअधिकार हननको रिपोर्ट समावेश छ,’ उनले भनेका छन् ।

तालिबानलाई चेतावनी दिँदै उनले भनेका छन्, ‘तालिबानले यो कुरा ध्यान राख्न जरुरी छ कि यदि उसले अफगानिस्तानमा जबर्जस्ती कब्जा गरे अन्तर्राष्ट्रिय समुदायद्वारा मान्यता दिइनेछैन । हामी जारी संघर्षको राजनीतिक समाधानको समर्थनका लागि प्रतिबद्ध छौँ ।’

अफगानिस्तानमा अन्धकार युग दोहोरिने चिन्ता

नेटो अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, क्यानडा, टर्की, स्पेनलगायतका ३० देशको एउटा समूह हो । तालिबानविरुद्ध सन् २००१ मा अफगानिस्तानमा सुरु भएको युद्धमा नेटो आबद्ध थियो ।

अमेरिकी नेतृत्वको नेटो सेनाले अफगानिस्तान छाडेपछि विद्रोही तालिवानले सत्ताकब्जा गर्न सरकारी सुरक्षाकर्मीविरुद्ध आक्रमण तीव्र बनाएको छ । अफगानिस्तानका ३४ मध्ये १८ प्रान्तका राजधानी तालिवानले पछिल्लो एक सातामै कब्जा गरिसकेको छ भने यो समूह निरन्तर राजधानी काबुलतर्फ अघि बढिरहेको छ ।

सम्बन्धित समाचार

प्रकाशित : श्रावण ३०, २०७८ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?