कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

गोर्खा मुद्दा सुल्झाउन बेलायती प्रधानमन्त्रीलाई सांसदहरुले लेखे पत्र

नवीन पोखरेल

लन्डन — बेलायती सांसदहरुले प्रधानमन्त्री बोरिस जोन्सनलाई एक पत्र लेख्दै गोर्खा भूतपूर्व सैनिकको पेन्सन मुद्दा समाधान गर्न जोड दिएका छन् । ब्रिटिस संसद्को सर्वदलीय समितिका नेपाल अध्यक्ष सांसद वीरेन्द्र शर्मासहित सांसदहरु सीमा मल्होत्रा, नभेन्दु मिश्र, निक स्मिथ, अलान डोरान्स, डान जार्भिस, लर्ड बिलिमोरिया, लर्ड ढोलाकिया र लर्ड शेखले शुक्रबार प्रधानमन्त्री जोन्सनलाई संयुक्त पत्र लेख्दै गोर्खा समस्याको दीर्घकालीन समाधानमा जोड दिएका हुन् ।

गोर्खा मुद्दा सुल्झाउन बेलायती प्रधानमन्त्रीलाई सांसदहरुले लेखे पत्र

सर्वदलीय संसदीय समितिले विगतदेखि नै गोर्खा समस्याको निष्पक्ष समाधान हुनुपर्नेमा जोड दिएको उल्लेख गर्दै उनीहरुले पत्रमा गोर्खाहरुले सम्मान महसुस गर्ने र उनीहरुको सेवाको कदर हुने किसिमको समाधान चाहिएको बताएका छन् ।

सांसदहरुले प्रधानमन्त्री जोन्सनलाई आमरण अनशन बसिरहेका गोर्खाहरुलाई भेट्न र उनीहरुको अभियानलाई समर्थन गर्ने हजारौं भेट्रान्सको चासोबारे छलफल गर्न पनि आग्रह गरेका छन् । पत्रमा वार्ताले आमरण अनशन बसेका गोर्खाहरुको ज्यान बचाउन सक्ने र गोर्खा मुद्दाप्रति सरकार गम्भीर छ भन्ने सन्देश जाने उनीहरुको विश्वास छ ।

लन्डनमा प्रधानमन्त्री कार्यालयअगाडि भोक हडतालमा बसेका गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका धन गुरुङ, पुष्पा राना र ज्ञानराज राई ।

भूतपूर्व गोर्खाहरुको समान पेन्सनलगायत अधिकारका लागि अभियन्ताहरु ज्ञानराज राई, धनबहादुर गुरुङ र पुष्प राना घले गत शनिबारदेखि आमरण अनशनमा छन् । शनिबार अनसनको ८औं दिन प्रवेश गर्दा उनीहरुको स्वास्थ्य जटिल बन्दै गएको छ । चौतर्फी दबाब र अनुरोध हुँदा पनि बेलायत सरकारले यस विषयमा आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई सांसदहरूले लेखेको पत्र ।

गोर्खाहरुले भने नेपाल र बेलायत सरकारबीच उच्चस्तरीय वार्ता टोली गठन र वार्ताको मिति नतोकिएसम्म भोक हड्ताल अन्त्य नगर्ने अडान लिएका छन् । उता, गोर्खाहरुको आमरण अनशनप्रति ऐक्यबद्धता जनाउन शुक्रबार नै सोलिसिटर राजु थापाको पहलमा लेबर पार्टीका सांसद वीरेन्द्र शर्मा, इलिङका पूर्व मेयरहरु काउन्सिलर रन्जित धिर र हरभजन कौर, नेपलिज वुमन एसोसिएसन यूकेकी अध्यक्ष आरती श्रेष्ठ र यती नेपाली एसोसिएसन यूके अध्यक्ष ध्रुव केसी अनशनस्थल पुगेका थिए ।

यसअघि एनआरएनए यूके, नेपाल पत्रकार महासंघ यूके, प्रवासी नेपाली मञ्च यूकेलगायत कैयौं संघसंस्थाले गोर्खा आन्दोलनप्रति ऐक्यबद्धता जनाइसकेका छन् । प्रवासी नेपाली मञ्च यूकेले बिहीबार राजदूत लोकदर्शन रेग्मीलाई एक ज्ञापनपत्र दिँदै गोर्खा समस्या समाधानका लागि यथाशीघ्र कूटनीतिक पहल गर्न आग्रह गरेको थियो ।

भूतपूर्व गोर्खाहरुको समर्थनमा शनिबार र आइतबार बेलायती प्रधानमन्त्री कार्यालय तथा संसद् भवन अगाडि विशाल प्रदर्शनको तयारी छ ।

सम्बन्धित समाचार

गोर्खामाथि दुई शताब्दीदेखि विभेद

समान अधिकार माग्दै लन्डनमा भूतपूर्व गोर्खाले थाले आमरण अनशन

प्रकाशित : श्रावण ३०, २०७८ ०७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?