यौन उत्पीडनमा दोषी पाइएपछि न्युयोर्कका गभर्नरले दिए राजीनामा


काठमाडौँ — एउटा जाँचमा यौन उत्पीडनको मामिलामा दोषी पाइएपछि न्युयोर्कका गभर्नर एन्ड्रयु कुओमोले राजीनामा दिएका छन् । हालसालै सार्वजनिक भएको उक्त जाँचको प्रतिवेदनमा कुओमोले केही महिलामाथि यौन उत्पीडन गरेको पाइएको बताइएको थियो ।

आफूमाथिको आरोप निराधार भएको बताउँदै आएका कुओमोले मंगलबार पत्रकार सम्मेलनमा भने, ‘म पदबाट राजीनामा दिएर यस विषयमा सहयोग गर्न चाहन्छु ।’
कुओमोले आफ्नो राजीनामा १४ दिनभित्र लागू हुने बताएका छन् । अब कुओमोलाई लेफ्टिनेन्ट गभर्नर क्याथी होचुलले प्रतिस्थापन गर्नेछिन् । उनी न्युयोर्क राज्यको पहिलो महिला गभर्नर बन्नेछिन् । राष्ट्रपति जो बाइडेनसमेत थुप्रै डेमोक्रेटिक नेताहररूले कुओमालाई राजीनामाका दबाब दिइरहेका थिए ।
एक वर्षअघि कोरोना महामारी रोकथाम र नियन्त्रणमा प्रभावकारी कदम चालेको भन्दै कुओमोको निकै प्रशंसा भएको थियो । न्युयोर्कका महान्यायाधिवक्ताले तयार पारेको रिर्पोटमा कुओमोले करिब एक दर्जन महिलामाथि यौन दुर्व्यहार गरेको बताइएको छ । उनले अस्वभाविक रुपमा महिला कर्मचारीहरुलाई छोएको र अस्वभाविक प्रतिक्रिया जनाएको बताइएको छ ।
प्रकाशित : श्रावण २७, २०७८ १०:०३