२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

चीनले बीआरआई वरिपरिका मुलुकमा खोपको सुलभता अझै बढाउने

लक्ष्मी लम्साल

बेइजिङ — चीनले बेल्ट एण्ड रोड (बीआरआई) वरिपरिका मुलुकमा खोपको सुलभता अझै बढाउने भएको छ । सोमबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमार्फत् चिनियाँ परराष्ट्र प्रवक्ताले बीआरआई वरिपरिका देशहरूसँगै साझा प्रयास गर्दै खोपको निष्पक्ष वितरणलाई सक्रिय पार्ने बताए । ती प्रवक्ताले भने, ‘खोपको निष्पक्ष वितरणका लागि चीनले अरू मुलुकहरूलाई पनि घच्घच्याउनेछ ।’

चीनले बीआरआई वरिपरिका मुलुकमा खोपको सुलभता अझै बढाउने

बीआरआई वरिपरिका देश तथा विकासोन्मुख देशमा खोपको सुलभता र सामर्थ्यलाई बढाउनका लागि चीन सक्रिय रहेको पनि चीनले स्पष्ट पारेको छ ।

गत जुन महिनामा चिनियाँ परराष्टमन्त्री वाङ यीले बीआरआई सम्बन्धी एसिया-प्रशान्त क्षेत्रीय अन्तर्राष्ट्रिय सहकार्य विषयक एउटा उच्चस्तरीय बैठकको अध्यक्षता गरेका थिए । त्यस क्रममा चीनसहित २८ देशहरूबीच बीआरआई खोप सहकार्य साझेदारी सम्बन्ध स्थापना गर्ने सहमति भएको थियो । सो सम्बन्धको मुख्य उद्देश्य खोप सहायता, निर्यात तथा संयुक्त उत्पादनको सहकार्यलाई बलियो बनाउने भन्ने थियो । मन्त्री वाङले चीनका तर्फबाट यस्तो प्रस्ताव गरेका थिए ।

आफ्नो प्रस्तावलाई कार्यान्वयन गरिरहेको बताउँदै चीनले हालसम्म विभिन्न देशमा ७७ करोड ५० लाख डोज खोपमा सहकार्यका लागि सहमति जुटाएको दाबी गरेको छ । साथै हालसम्म ३५ करोड डोज खोप पनि सम्बन्धित देशमा पठाएको चीनको भनाइ छ । चिनियाँ व्यवसायले ४ वटा मुलुकसँग खोपको सहउत्पादन सुरू गरेका छन् भने अन्य देशहरूसँग संयुक्त उत्पादनबारे पनि छलफल चलाइरहेको जनाएको छ ।

यसअघि गत जुन २३ तारिख चीनले बेइजिङबाट एसिया प्रशान्त क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोगमा बीआरआई सम्बन्धित भिडियो सम्मेलनको आयोजना गरेको थियो । चीनले यो बैठकलाई उच्च महत्व दिँदै २८ वटा राष्ट्रलाई आमन्त्रण गरेको थियो ।

विकासोन्मुख मुलुकहरूले आवश्यकता भन्दा बढी खोप भण्डारण गरेर गरिब मुलुकका लागि खोपसम्मको पहुँचलाई कठिन बनाउन खोजिरहेका बेला चीनको यो अडानले राहत दिलाएको विज्ञहरूले टिप्पणी गरेका छन् ।

प्रकाशित : श्रावण १९, २०७८ १७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?