रोयटर्सका फोटोपत्रकार सिद्दिकीको तालिबानले बर्बरतापूर्वक हत्या गरेको थियो : रिपोर्ट

इकान्तिपुर डेस्क

काठमाडौँ — रोयटर्समा कार्यरत भारतीय फोटोपत्रकार दानिस सिद्दिको तालिबानले हत्या गरेको एउटा अमेरिकी अखबारले दाबी गरेको छ ।अमेरिकी अखबार वासिंटन एक्जामिनरले फोटोपत्रकार सिद्दिकीको तालिबान र अफगानी सुरक्षा फौजको भिडन्तमा परी मृत्यु नभएको बताएको छ ।

रोयटर्सका फोटोपत्रकार सिद्दिकीको तालिबानले बर्बरतापूर्वक हत्या गरेको थियो : रिपोर्ट

सुरुवाती रिपोर्टमा अफगानिस्तानको कन्दहारको स्पिन बोल्दोकमा अफगान सुरक्षा फौज र तालिबानबीचको संघर्षमा परी उनको मृत्यु भएको बताइएको थियो । तालिबानले पनि दानिसको मृत्युमा आफूहरुको हात नरहेको बताएको थियो । तालिबानले भनेको थियो, ‘भारतीय पत्रकारको मृत्यु भएकोमा हामीलाई दु:ख लागेको छ । यस क्षेत्रमा रिपोर्टिङमा आउने पत्रकारले हामीलाई सूचना दिनुहोस्, हामी ख्याल राख्नेछौं ।’

वासिंटन एक्जामिनरमा माइकल रुबिनले फोटोपत्रकार दानिस सिद्दिकीको मृत्युबारे तथ्यलाई मोड्न नहुने बताएका छन् । सिद्दिकीलाई पहिचानपश्चात नै तालिबानले नियन्त्रणमा लिई हत्या गरेको उनको दाबी छ । उनले भनेका छन्, ‘सिद्दिकी दोहोरो झडपमा मारिएका होइनन्, उनलाई तालिबानले बर्बरतापूर्वक हत्या गरेको हो ।

सुरक्षा फौजसँगै मिसनमा गएका फोटोपत्रकार दानिस चौरमा सुस्ताउँदै । तस्बिर : उनकै ट्विटरबाट

वासिंटन एक्जामिनरका अनुसार अफगानी सेना र दानिस एउटा कस्टम पोस्टनजिकै रहेका बेला तालिबानले आक्रमण गरेको थियो । त्यतिबेला अफगानी सेनाको टोली दुई समूहमा विभाजित हुनपऱ्यो । अफगानी सेनाका कमान्डर र केही सैनिक दानिसबाट अलग भए । त्यसबीचमै गोली लागेर सिद्दिकी घाइते भएका थिए । उनलाई प्राथमिक उपचारका लागि स्थानीय मस्जिदमा लगियो । उनलाई मस्जिद लगिएको थाहा पाउनेबित्तिकै तालिबानले पुन: आक्रमण गरेको माइक रुबिनले विभिन्न स्रोतलाई उल्लेख गर्दै दाबी गरेका छन् । रिपोर्टमा भनिएको छ, ‘तालिबानले सिद्दिकीलाई नियन्त्रणमा लिएर पत्रकार भएको पहिचान गरेपछि गोली हानेको थियो ।’

भारतको राजधानी दिल्लीमा कोरोनाले मृत्यु भएका व्यक्तिको अन्तिम संस्कारको तयारी गरिँदै । जुन तस्बिर सिद्दिकीले ड्रोनको सहायताले खिचेका थिए ।

अमेरिकन इन्टरप्राइज इन्स्टिच्युटका सिनियर फेलो रहेका रुबिनका अनुसार तालिबान लडाकुले पहिले सिद्दिकीलाई कुटपिट गरेका थिए । त्यसपछि उनीहरुले उनको शरीरका विभिन्न भागमा गोली बर्साएका थिए । रुबिन लेख्छन्, ‘सिद्दिकीको मृत्यु पछि सामाजिक सञ्जालमा पोस्ट भएका तस्बिरमा उनको अनुहार प्रस्ट चिनिन्छ । मैले भारत सरकारको एक सूत्रमार्फत प्राप्त भएको केही तस्बिर र भिडियो पनि हेरेको थिएँ ।’

जसले आफैंमाथि बर्सिरहेका तालिबानका रकेटका दृश्य खिचिरहे

सिद्दिकी रोयटर्सका चिफ फोटोपत्रकारका रुपमा कार्यरत थिए । पछिल्लो समय अफगानिस्तानमा जारी हिंसाको रिपोर्टिङ गर्न उनलाई खटाइएको थियो । उच्च् जोखिमबीच सिद्दिकीले महत्त्वपूर्ण घटनाको रिपोर्टिङ गरेको रुबिन पनि बताउँछन् । उच्च जोखिम भए पनि सामान्य पूर्वसावधानी मात्रै अपनाएको रुबिनको तर्क छ । अफगानी सेनाले स्पिन बोल्दोकमा तालिबान समूहमाथि जित हात पार्ने आत्मविश्वासका साथ सिद्दिकीलाई उक्त क्षेत्रमा रिर्पोटिङको अनुमति दिएको थियो । तालिबानमाथिको विजय अभिलेखीकृत गर्ने उद्धेश्यका साथ उनलाई अनुमति दिइएको रुबिनको भनाइ छ ।

सिद्दिकीले मृत्यु हुनुभन्दा २ दिनअघि मात्रै कन्दहारमा तालिबान र अफगान सुरक्षा फौजको भिडन्तबारे समाचार र केही तस्बिर सार्वजनिक गरेका थिए । आफू चढेको गाडीमै तालिबानद्वारा भएको रकेट प्रहारको दृश्यसमेत उनले खिचेका थिए । आफू भाग्यले बाँचेको पनि उनले बताएका थिए ।

२०१० मा मुम्बईमा कार्गो पानीजहाज पल्टिएपछि तस्बिर खिच्दै सिद्दिकी । तस्बिर : रोयटर्स

सन् २०१८ मा रोहिंग्या शरणार्थीको समस्याबारेको कभरेजका लागि उनीसहितको टिमलाई फिचर फोटोग्राफी विधामा पुलित्जर पुरस्कार दिइएको थियो । साथै उनले २०७२ को गोरखा भूकम्पपछि नेपालका विभिन्न ठाउँ पुगेर तस्बिर खिचेका थिए । हङकङमा भएको प्रदर्शन, इराक युद्धलगायत महत्त्वपूर्ण घटनाको पनि उनले उत्कृष्ट कभरेज गरेका थिए ।

प्रकाशित : श्रावण १५, २०७८ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?