संक्रमण बढेपछि सिड्नीमा चार हप्ता लकडाउन थप

एजेन्सी

सिड्नी — अस्ट्रेलियाको सिड्नी र वरिपरिको क्षेत्रमा लकडाउनको समयावधि फेरि थप गरिएको छ । अन्तर्राष्ट्रिय समाचार संस्थाहरूका अनुसार सिड्नीमा पछिल्लो २४ घण्टामा २३९ जनामा संक्रमण पुष्टि भएको छ । जुन महामारी सुरु भएयता एकैदिन सबैभन्दा बढीलाई संक्रमण पुष्टि भएको हो ।

संक्रमण बढेपछि सिड्नीमा चार हप्ता लकडाउन थप

दैनिक संक्रमितको संख्यामा वृद्धि हुँदै गएपछि राज्य सरकारले सिड्नी क्षेत्रमा थप चार हप्ता लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको हो ।

सिड्नीमा अब अगस्ट २८ सम्म निरन्तर लकडाउन लागू हुने भएको छ । नयाँ थप गरिएको लकडाउन अवधिका लागि प्रतिबन्धात्मक व्यवस्थाहरू पनि थप गरिएको छ । किनमेल गर्नु परेमा स्थानीय सरकारको अनुमतिमा घरदेखि १० किलोमिटर टाढासम्म मात्रै जान पाइने व्यवस्था गरिएको छ ।

अस्ट्रेलियाको सबैभन्दा ठूलो सहर सिड्नीमा डेल्टा भेरियन्ट फैलिएपछि गएको जुन महिनाको अन्त्यबाट घरमा नै बस्न आदेश दिइएको छ । सिड्नीमा मात्रै यस वर्ष कोरोनाभाइरसबाट दुई हजार ५०० भन्दा बढी व्यक्ति संक्रमित भएका छन् ।

सानास्तरको महामारी नियन्त्रणमा लिएका भिक्टोरिया र साउथ अस्ट्रेलियाले भने बुधबारबाट लकडाउन अन्त्य भएको घोषणा गरेका छन् । तर सिड्नीमा भने निषेधाज्ञा सेप्टेम्बर वा त्योभन्दा पछिसम्म जारी रहनसक्ने विज्ञहरूले अनुमान गरेका छन् ।

विज्ञ र सरकारी अधिकारीहरूले सङ्क्रमण दर शून्य नजिकै नभएसम्म सिड्नीलाई पुनः खुला गर्न नसकिने बताइरहेका छन् ।

लगातार भइरहेको लकडाउनप्रति कतिपय मानिसले भने विरोध जनाएका छन् । उनीहरूले सिड्नी, मेलबर्नलगायतका विभिन्न सहरहरूमा प्रदर्शन पनि गरेका थिए ।

प्रकाशित : श्रावण १४, २०७८ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?