वाचा गरेअनुसार खोप उपलब्ध गराउन नसकेको भन्दै अस्ट्रेलियाका प्रधानमन्त्री मरिसनले मागे माफी

नारायण खड्का

अस्ट्रेलिया — अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनले सरकारले वाचा गरेअनुसार समयमै कोरोना भाइरसविरुद्धको खोप आफ्ना नागरिकलाई दिन नसकेकोमा क्षमायाचना गरेका छन् । मरिसनले आफू उक्त कार्यमा पछि परेको भए पनि त्यसलाई सफल बनाउन लागिपरेको बताएका छन् । 

वाचा गरेअनुसार खोप उपलब्ध गराउन नसकेको भन्दै अस्ट्रेलियाका प्रधानमन्त्री मरिसनले मागे माफी

पछिल्लो केही सातादेखि कोरोना भाइरसको ‘डेल्टा भेरियन्ट’ को संक्रमणसँग अस्ट्रेलिया जुधिरहेको छ । अस्ट्रेलियाका तीन राज्य अहिले पूर्ण लकडाउनमा छन् । न्यु साउथ वेल्स, भिक्टोरिया र दक्षिण अस्ट्रेलियामा डेल्टा भेरियन्ट देखिएपछि लकडाउन घोषणा गरिएको छ । अहिले सरकारले करोडौं डलर बराबरको राहत कार्यक्रमसमेत घोषणा गरेको छ ।

प्रधानमन्त्री मरिसनले आफूले जनतालाई वाचा गरेको समयमा खोप उपलब्ध गराउन नसकेकोमा जिम्मेवारी लिँदै बिहीबार माफी मागेका हुन् । उनले आफूले घोषणा गरेको खोप कार्यक्रमलाई अझ प्रभावकारी बनाउनका लागि अन्य फार्मेसीलाई समेत आफ्नो कार्यक्रममा समावेश गराइने बताए ।

‘म वास्तवमै तपाईंहरुसँग क्षमा चाहन्छु किनकी हामीले पहिले घोषणा गरेको खोप कार्यक्रमलाई पूरा गर्न सकेनौं,’ प्रधानमन्त्री मरिसनले बिहीबार आयोजना गरिएको पत्रकार सम्मेलनमा भने । उनले बुधबारमात्र आफ्नो कार्यक्रम सोचेको समयभन्दा २ महिना पछि सरेको बताएका थिए । मरिसनले सरकारले यही अक्टोबरसम्ममा योग्य सबै नागरिकलाई पहिलो खेपको खोप लगाइने बताएका थिए । तर उक्त कार्यक्रम यस वर्षको अन्त्यसम्ममा पूरा गर्ने नयाँ लक्ष्य लिइएको छ ।

अस्ट्रेलियाका विपक्षी दललगायतले सरकार आफ्ना नागरिकलाई खोप दिलाउने मामिलामा ढिला भएको आरोप लगाउँदै आएका छन् । यसका साथै उनलाई खोप कार्यक्रमलाई सोचेजति सफलता दिन नसकेकोमा जिम्मेवारी लिनसमेत दबाब परेको थियो । जसका कारण प्रधानमन्त्री मरिसनले बिहीबार उक्त ढिलाइका लागि जिम्मेवारी लिँदै माफी मागेका हुन् ।

अस्ट्रेलियाले आफ्नै देशमा उत्पादित एस्ट्राजेनेका खोपको राम्रो सदुपयोग गरेर सबै नागरिकलाई समयमै खोप लगाइसक्ने योजना बनाएको भए पनि उक्त खोपका कारण स्वास्थ्य समस्या देखिएपछि सो खोप लगाउने उमेरको सुझावमा फेरबदल गरेको थियो । जसका कारण समेत सरकारले आफूले तोकेको समयमा आफ्ना नागरिकलाई खोप लगाउन नभ्याएको समाचारमा जनाइएको छ । यसका साथै अहिलेसम्म भाइजर भ्याक्सिनले मात्र अनुमति पाएको र उक्त भ्याक्सिनको आपूर्तिमा केही समस्या देखिएकाले समेत अस्ट्रेलियाले आफ्नो खोपको लक्ष्य प्राप्त गर्न नसकेको विश्लेषण गरिएको छ । तर पनि अहिलेसम्म करिब आधा नागरिकले पहिलो डोज खोप लगाइसकेको अवस्थामा समेत विपक्षीलगायतले खोप कार्यक्रमका लक्ष्यका बारेमा प्रश्न उठाएपछि प्रधानमन्त्री मरिसनले माफी मागेका हुन् ।

अस्ट्रेलियामा बिहीबार मात्र करिब १ सय ५० नयाँ कोरोना भाइरसको संक्रमण देखिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । जसमध्ये सबैभन्दा धेरै न्यु साउथ वेल्समा १ सय २४ सय भिक्टोरियामा २८ वटा छन् ।

नयाँ संक्रमणसँगै ६ राज्य तथा टेरिटोरी रहेको अस्ट्रेलियाका विभिन्न राज्य तथा टेरिटोरीले आन्तरिक सीमामा आवातजावतलाई बन्द गर्नुका साथै सुरक्षा संयन्त्रलाई समेत बढाएका छन् । यसको प्रत्यक्ष प्रभाव प्रवासी नेपालीको निर्वाचनमा समेत परेको छ । यसैका कारण निर्वाचन पहिलो पटक पूर्ण रुपमा अनलाइन गरिने निर्वाचन समितिका सुजित सिग्देलले बताएका छन् ।

प्रकाशित : श्रावण ७, २०७८ १४:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?