र्‍यापर क्रिस वूलाई यौन दुर्व्यवहारको आरोप- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

र्‍यापर क्रिस वूलाई यौन दुर्व्यवहारको आरोप

कान्तिपुर संवाददाता

काठमाडौँ — चर्चित चिनियाँ र्‍यापर तथा कलाकार क्रिस वूलाई यौन दुर्व्यवहारको आरोप लागेको छ । कम उमेरका किशोरी तथा युवतीसँग यौन सम्बन्धका लागि प्रलोभन देखाएको आरोप लागेसँगै विभिन्न ब्रान्डले उनीसँगको सम्झौता तोडेका छन् ।

सामाजिक सञ्जालमा यो आरोपमाथि बहस चर्किएको छ । कतिले उनलाई मनोरञ्जन क्षेत्र त्यागेर देशसमेत छोड्नुपर्ने अभिव्यक्ति दिएका छन् । वू चिनियाँ-क्यानडेली र्‍यापर एवं कलाकार हुन् । १९ वर्षिया डु मैज्हुले यौन दुर्व्यवहारको आरोप लगाएसँगै क्रिस विवादमा तानिएका हुन् । डुले केही हप्तादेखि सामाजिक सञ्जालमा वूले किशोरीहरुलाई संगीत र अभिनय क्षेत्रमा काम दिने भन्दै यौन सम्बन्ध राख्न प्रलोभन देखाएको कुरा सार्वजनिक गर्दै आएकी छन् ।

आइतबार मात्रै एक अन्तर्वार्तामा उनले आफूसहित वूबाट पीडित अन्य ७ जना महिलाबारे जानकारी रहेको बताएकी छन् । तीमध्ये दुई त निकै कम उमेर समूहका रहेको उनले बताएकी छन् । वूसँग पहिलोपटक भेट्दा आफू १७ वर्ष रहेको उनले दाबी गर्दै आएकी छन् । डुले आफूलाई अन्य किशोरीहरुसँग घर बोलाएर वूले मद्यपानका लागि दबाब दिएको र भोलिपल्ट आफू वूको ओच्छ्यानमा ब्युँझिएको बताएकी छन् ।

वूले भने आफूमाथि गलत आरोप लगाएको भन्दै गालीबेइज्जती सम्बन्धी उजुरी दर्ता गराएको कुरा बीबीसीले उल्लेख गरेको छ ।

के–पप ब्यान्ड 'एक्सो'को सदस्यका रुपमा एसियामा वू चिनिएका थिए । तर सन् २०१४ मा चीन फर्केर उनले गायनसँगै मोडलिङ र अभिनयमा करियर सुरु गरे । उनले मिस्टर सिक्स(२०१५), जर्नी टु दि वेस्ट : द डेमन्स स्ट्राइक ब्याक(२०१७) लगायत भिन डिजेलसँग 'त्रिपल एक्स : रिटर्न अफ जान्डर केज' र 'भलेरियन एण्ड दि सिटी अफ अ थाउजेन्ड प्लानेट्स'मा अभिनय गरेका छन् ।

चिनियाँ अखबार ग्लोबल टाइम्समा वूले डुलाई आफ्नो कुरा बाहिर नल्याउन ७७ हजार १ सय ६६ डलर दिन खोजेको समेत उल्लेख गरेको छ ।

प्रकाशित : श्रावण ५, २०७८ १४:११
प्रतिक्रिया
पठाउनुहोस्

पुर्ख्यौली पेसा छाड्दै पमरिया समुदाय

भरत जर्घा मगर

सिरहा — मिथिला क्षेत्रमा कसैले सन्तान पाए बधाई दिने र दान लिने पुरानै चलन हो । ‘शिशुलाई काख र काँधमा लिएर नचाउने, गीत गाउने तथा नाच देखाएर बधाई दिन आउने र दान लिने’ मिथिला क्षेत्रको यो परम्परालाई पमरिया समुदायले धान्दै आएका छन् । 

सिरहाको लहान–१० मा बच्चासँग रमाउँदै पमरिया समुदायका महिला । तस्बिर : भरत/कान्तिपुर


राजा दशरथके चारु ललनमा,

हो आगंनमामे खेलै........

राजा लुटावे अनधन सोनमा

रानी लुटावै हाथके कंगनमा हो

आगंनमामे खेलै.......

पमरियाहरूले गाउने लोकभाका हो, यो । मिथिला क्षेत्रमा बच्चाको छठीहार संस्कार सम्पन्न भएपछि मात्रै बधाई दिन आउने चलन छ । काँधमा ठूलो झोला अनि हातमा ढोलकी र झुनझुना (झ्याली) लगायतका आफ्नै परम्परागत बाजाको तालमा गीत गाउँदै पमरियाहरू मिथिला क्षेत्रका छोरा जन्मेको घरघरमा पुग्ने गर्छन् । तर, बधाई दिने र दान लिने परम्परा भने छोरी जन्मेको घरमा हुँदैन । ‘छोरी आफैं दान लिएर जाने जात भएको भन्दै पमरियाहरू छोरी जन्मेको घरमा बधाई दिन जाँदैनौं,’ ढोलकी र झुनझुनाको तालमा नवजात शिशुलाई नचाउँदै गरेकी सिरहा डुमरीका मुन्नी पमरियाले सुनाइन् ।

लहान नगरपालिका–१० की मुन्नी खातुनको नाति जन्मिएपछि पमरियाहरू बधाई दिन बाजा गाँजासहित नाच्दै गाउँदै पुगेका थिए । यो जानकारी भने उनीहरू गाउँघर घुम्ने क्रममा लिन्छन् । ‘मिथिला क्षेत्रको यो पुरानै परम्परा हो,’ उनले भनिन्, ‘पमरियाहरूले खुसी भएर आशिष दिए राम्रो हुने यदि श्राप दिए लाग्ने विश्वास छ । त्यसैले उनीहरूलाई नाति जन्मिएको खुसियालीमा नगदसहित कपडाहरू दान दिए ।’

उनका अनुसार खेलौना, बधाई, दीर्घजीवन, आमा, देबर, नन्दीलगायतका लोकगीत गाएर समूहमा नाच्ने गर्छन्, पमरिया समुदाय । मुन्नीको समूहमा चार जना छन् । उनीहरूले बढीभन्दा बढी दान नदिएसम्म बच्चालाई नचाएर खेलाइरहने र दान दिन स्वीकार गरेपछि मात्रै बच्चालाई आमाको काखमा दिने गर्छन् । उनीहरूले नगद, कपडा, गरगहना क्षमता र गच्छेअनुसार उपहारमा लिने परम्परा छ ।

‘पमरिया नाच र गीत मिथिला क्षेत्रको लोककला र संस्कृतिका रूपमा रहेको छ,’ लहान क्याम्पसका सहायक क्याम्पस प्रमुख कन्हैया भट्टले भने, ‘तर अहिले यो संस्कृति लोप हुने अवस्थामा छ, यसको संरक्षण गर्नुपर्ने आवश्यत्ता छ ।’ पुस्तौंदेखि निरन्तरता दिँदै आएको पेसाबाट हातमुख जोर्न पनि धौधौ पर्न थालेपछि आफ्नो पेसाबाटै पलायन हुन थालेको पमरियाहरूले गुनासो छ । ‘परम्परागत पेसा गरेर पेट पाल्न सकिँदैन, अरू रोजगारी गर्नका लागि आवश्यक सीप र स्रोतसाधन चाहिन्छ,’ जुग्नी किन्नरीले भनिन्, ‘कहाँ जाऊँ के गरूँको अवस्था सिर्जना भएको छ, हाम्रो अस्तित्व नै मेटिने पो हो कि भन्ने चिन्ताले सताएको छ ।’

तराई मधेसको सिरहा, सप्तरी, धनुषा, महोतरीमा छरिएर रहेको अल्पसंख्यक पमरियाहरू कसैको घरमा बच्चा जन्मेलगत्तै त्यहाँ पुगेर बच्चाको बाबुआमालगायतका आफन्तहरूलाई गीतका माध्यमले बधाई दिँदै लोक गाथा सुनाउँछन् । त्यसबापत घरमूलीले खुसी भएर दिने गरेको नगद, वस्त्र, गहना, अन्नपात र भाँडाकुँडा नै उनीहरूलाई आम्दानी हुने गरेको छ ।

‘झन्डै एक दशकअघिसम्म त्यसरी गीत र नाचगान गर्दा सुनचाँदीको गहनासमेत पाइन्थ्यो,’ ती पुराना दिनहरू सम्झिँदै जुग्नीले भनिन्, ‘अचेल गहना त परै जाओस् अन्नपात र लुगाफाटा पनि पाइँदैन । अलिअलि अन्नपात र साधारण भाँडाकुँडामै चित्त बुझाउनुपरेको छ ।’

प्रायः भूमिहीन रहेका पमरियाको वैकल्पिक रोजगारीको व्यवस्था नभएका कारण जीविकोर्पाजनमा समस्या छ । उनीहरूका अनुसार नेपालमै सबैभन्दा बढी पमरियाको बसोबास सप्तरीको पकरीमा छ तर रोजगारको अवसर नभएका कारण उनीहरू विस्तारै बसाइँ सर्दै गएका छन् ।

प्रकाशित : श्रावण ५, २०७८ १४:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×