बगदादमा आईएसद्वारा आत्मघाती बम विस्फोट : कम्तीमा ३५ को मृत्यु, ६० भन्दा बढी घाइते- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बगदादमा आईएसद्वारा आत्मघाती बम विस्फोट : कम्तीमा ३५ को मृत्यु, ६० भन्दा बढी घाइते

कान्तिपुर संवाददाता

काठमाडौँ — इराकको राजधानी बगदादमा सोमबार गराइएको आत्मघाती बम विस्फोटमा कम्तीमा ३५ जनाको मृत्यु भएको छ । बगदादको बजार क्षेत्रमा भएको बम विस्फोटमा ६० जनाभन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ ।

तस्बिर : रोयटर्स

इदको पूर्वसन्ध्यामा किनमेलका लागि बजारमा भीडभाड लागेका बेला बम विस्फोट गराइएको हो ।

समाचार संस्था रोयटर्सका अनुसार इस्लामिक स्टेट(आईएस) ले विस्फोटको जिम्मा लिएको छ । नासीर न्युज एजेन्सीलाई टेलिग्राममार्फत आफूले विस्फोट गराएको आईएसले जानकारी दिएको छ । त्यस्तै बजारमा भीड भएकाले बेला आफ्ना एकजना लडाकुले आत्मघाती विस्फोट गराएको पनि आईएसको दाबी छ । गम्भीर घाइतेहरूको संख्या धेरै भएकाले मृतकको संख्या बढ्न सक्ने अस्पतालले जनाएका छन् ।

आक्रमणपछि प्रधानमन्त्री मुस्तफा अल काधिमीले सुरक्षा अधिकारीहरुको आकस्किम बैठक बोलाएका छन् । त्यस्तै राष्ट्रपति बह्राम सालिहले साद्र सहरमा सर्वसाधारणमाथि भएको आक्रमणको निन्दा गरेका छन् । उनले आतंकवादलाई जरैबाट उखेलिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

तस्बिर : रोयटर्स

बगदादमा पछिल्लो ६ महिनायताकै सबैभन्दा ठूलो विस्फोट भएको बताइएको छ । यसअघि अप्रिलमा कार बम विस्फोट गराइँदा ४ जनाको मृत्यु भएको थियो भने करिब २० जना घाइते भएका थिए । त्यस्तै जनवरीमा तायारन स्क्वायरमा भएको विस्फोटमा ३० भन्दा बढीको मृत्यु भएको थियो ।

सन् २०१७ को अन्त्यमा इराक सरकारले आईएसमाथि जित हात पारेको दाबी गरे पनि इराकमा आईएसको स्लिपर सेल लगातार सक्रिय रहेको पाइएको छ ।

प्रकाशित : श्रावण ५, २०७८ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्

बाढीले चन्द्रनहर भत्कायो, ५ सयभन्दा बढी घर डुबानमा

अवधेशकुमार झा

राजविराज — अविरल वर्षापछि आएको बाढीले सप्तरीको सप्तकोसी नगरपालिका–४ स्थित देशकै पुरानो चन्द्रनहर भत्काएको छ । अमहा, टेंग्रालगायत खोलाको बाढीले दुई ठाउँमा चन्द्रनहर भत्काएको नगरप्रमुख उत्तम गौतमले जानकारी दिए ।

उनका अनुसार दुई स्थानमा गरी करिब ५० मिटर नहर भत्किएको छ । ‘जंगली क्षेत्रबाट अमहा, टेंग्रालगायत नदीको बाढी ओभरफ्लो भई नहरमा खसेको र त्यसपछि नहर नै कटान गरी क्षतिग्रस्त बनायो,’ गौतमले भने ।

बाढी बस्तीमा पस्दा सप्तकोसी नगरपालिकाका ३ सय घर डुबानमा परेका छन् । नगरप्रमुख गौतमका अनुसार सप्तकोसी नगरपालिकाका १, २, ४ र ११ वडाका घर डुबेका हुन् । ती घरमा ३ फिटसम्म पानी जमेको र अन्य विवरण संकलन भइरहेको उनले बताए ।


यता जिता नदीको बाढीले तिलाठी–कोइलाडी गाउँपालिका–७ मंसापुर र वडा नम्बर ५ बरसाइनका केही घर डुबाएको छ । गाउँपालिका अध्यक्ष सतीशकुमार सिंहका अनुसार वडा नम्बर ७ को मंसापुर र वडा नम्बर ५ को बरसाइनका करिब २ सय ७५ घर डुबेका छन् ।

तिलाठी–कोइलाडी–८ तोपा बस्तीका २५ घरसमेत डुबानमा परेका छन् । निरन्तरको वर्षाका कारण जिल्लाका नदीहरूमा जलस्तर बढिरहेको छ ।


प्रकाशित : श्रावण ५, २०७८ १०:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×