अफगानिस्तानले पाकिस्तानबाट राजदूतसहित सबै कूटनीतिक कर्मचारी फिर्ता बोलायो- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अफगानिस्तानले पाकिस्तानबाट राजदूतसहित सबै कूटनीतिक कर्मचारी फिर्ता बोलायो

कान्तिपुर संवाददाता

काठमाडौँ — अफगानिस्तानले पाकिस्तानबाट राजदूतसहित सबै कूटनीतिक कर्मचारीलाई फिर्ता बोलाएको छ । अफगानिस्तानको विदेशमन्त्रालयका अनुसार राष्ट्रपति असरफ घानीको आदेशमा पाकिस्तानका लागि राजदूत नजिबुल्लाह अलिखिलसहित सबै कूटनीतिक कर्मचारीलाई फिर्ता बोलाइएको हो ।

पाकिस्तानका लागि अफगानी राजदूत नजिबुल्लाह अलिखिल । फाइल तस्बिर

सुरक्षा चुनौतीका कारण राजदूतसहित सबै कर्मचारीलाई फिर्ता बोलाइएको अफगानिस्ताले जनाएको छ ।

यसअघि इस्लामाबादमा राजदूत नजिबुल्लाहलाई अज्ञात हतियारधारीले अपहरणको प्रयास गरेका थिए । पाकिस्तान प्रहरीका अनुसार हतियारधारीहरूको उक्त समूहले राजदूतकी छोरी अलिखिललाई दुर्व्यवहार गरेर भागेका थिए ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले उक्त घटनाबारे जानकारी लिँदै प्रहरी र जाँच एजेन्सीलाई अनुसन्धान गर्न निर्देशन दिएका छन् ।

पछिल्लो समय अफगानिस्तानबाट विदेशी सेना फिर्ता हुने भएपछि सुरक्षा चुनौती थपिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले सेप्टेम्बर ११ सम्ममा सबै अमेरिकी सेना फिर्ता बोलाउने बताएका छन् । तर पछिल्लो समय तालिबान प्रभावित क्षेत्रमा हिंसा मच्चिएको छ ।

तालिबानले तोकिएको समयसीमाभित्रै सबै विदेशी सेनाले अफगानिस्तान छोड्नुपर्ने बताएको छ भने अफगान सुरक्षा फौजमाथि आक्रमण गरिरहेको छ । केही दिनअघि कन्दाहारमा तालिबानसँगको भिडन्तमा परी अफगान सुरक्षा फौजका उच्च अधिकारीसहित रोयटर्सका चर्चित फोटोपत्रकार दानिस सिद्दिकीको मृत्यु भएको थियो ।

प्रकाशित : श्रावण ४, २०७८ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्

जसलाई श्रीमान्‌ले झुक्याएर बेचे

कान्तिपुर संवाददाता

कञ्चनपुर — उनी तीन कक्षामा पढ्थिन् । उमेर करिब १२/१३ वर्ष थियो । गाउँकै भिनाजु नाता पर्ने युवक उनको पछि लागे । तिनले अनेक प्रलोभन देखाएर मायाजालमा पारे । दुवैले भागी विवाह गरे । केही वर्षसम्म घरबार राम्रै चल्यो । विवाह भएको एक वर्षमै जेठो र पाँच वर्षमा कान्छो गरी दुई छोरा जन्मिए । 

कान्छो छोरा जन्मिएको एक वर्षमात्रै भएको थियो । परिवारमा खटपट सुरु भयो । श्रीमान्ले कुटपिटदेखि अनेक यातना दिन थाले । खानामा समेत अनेक किसिमका औषधि मिसाएर खुवाउन थाले । जसका कारण उनको मानसिक अवस्थासमेत बिग्रिँदै गयो । श्रीमान्को उनकै काकाकी छोरीसँग लागेका थिए । त्यसैले उनीसँग झर्किने, झगडा गर्ने र यातना दिने गर्न थालेका थिए । उनीमाथि बहिनी ‘सौता’ आइन् । त्यसपछि झनै यातना दिने क्रम बढ्यो ।

श्रीमान्ले उनलाई गाउँकै बिना विष्टसँगै भारततर्फ पठाए । उनलाई कुन नाकाबाट भारततर्फ लगेको समेत अहिले थाहा छैन । दिनहुँ खुवाइने औषधिका कारण उनी बेहोस जस्तै थिइन् । उनलाई मुम्बईको पानमेलमा पुर्‍याएर छाडियो । ‘करिब एक वर्षपछि मात्रै थाहा भयो म श्रीमान्बाटै बेचिएकी छु भनेर,’ १२ वर्षपछि माइती नेपालले उद्धार गरेर स्वदेश फर्केकी रुकुमकी ती महिलाले भनिन्, ‘त्यसपछि त्यहाँबाट कहीँ जाने ठाउँ नै थिएन ।’ उनलाई आफू बेचिएको बारे थप केही जानकारी भने छैन ।

उद्धारपछि उनी शनिबार निकै भावुक देखिइन् । जब उनलाई घर लैजान बहिनी ज्वाइँ माइती नेपाल कञ्चनपुरको कार्यालयमा पुगेका थिए । ‘फेरि गाउँमा त्यही कुटपिट, त्यही गाली गलौज र तनाव सहनुपर्ने होला,’ उनले भनिन्, ‘त्यहाँ गएर के गर्नु, माइतीमा बसुँ आमाबुबालाई पनि अप्ठेरो, घरमा जाऊँ बस्नै नसकिने ।’ तीन महिनाअघि उनलाई मुम्बईबाट माइती नेपालले उद्धार गरेर यहाँ ल्याउँदा उनी निकै खुसी थिइन् । तर, आफन्तसँग भेट हुँदा उनी झनै निराश देखिइन् ।

श्रीमान्बाटै बिक्री भएको थाहा पाएपछि उनी निकै चिन्तितसमेत भइन् । पानमेलमा पुर्‍याएर उनलाई लैजाने युवती कहाँ गइन् भन्ने केही थाहा पाइनन् । उनले श्रीमान्को नम्बर खोजेर फोन गरिन् । ‘तँ अझसम्म बाँचेकै छस्, नेपाल आइस् भने हातखुट्टा काटेर राखिदिन्छु,’ श्रीमान्को धम्की सुनाउँदै उनले भनिन्, ‘तेरो आमाबुबालाई पनि मारिदिन्छु ।’ उक्त धम्कीपछि उनले घर फर्किने आँटसम्म गर्न सकिनन् ।

उनले श्रीमान्को फोन नम्बर पनि फेसबुकबाट पत्ता लगाएकी हुन् । आमालाई फोन गरेपछि मात्रै उनी मुम्बईमा रहेको घरपरिवारले थाहा पाए । ‘काम गर्ने ठाउँमै फेसबुक चलाउन सिकें,’ उनले भनिन्, ‘फेसबुकबाटै मैले घर परिवारसँग सम्पर्क गर्न सकें ।’

पानमेलमा केही वर्ष बसेपछि उनलाई मुम्बईमा रहेका एक नेपाली पुरुषले उद्धार गरे । उनको औषधि उपचार गरेर घरेलु कामदारमा लगाए । केही समय आफूसँगै राखे । त्यसपछि उनले पनि दुर्व्यवहार गर्न थाले । उनका आमा र ज्वाइँले माइती नेपालको केन्द्रीय कार्यालयमा खोजबिनका लागि निवेदन दिएका थिए । त्यही निवेदनका आधारमा माइती नेपालले भारतीय संघसंस्थाको सहयोगमा उद्धार गरी गड्डाचौकी नाका हुँदै महेन्द्रनगर पुर्‍याइएको हो । तीन महिनासम्मै माइती नेपालको आवधिक गृहमा बसेकी उनलाई शनिबार ज्वाइँको जिम्मा लगाएर घर पठाइएको हो ।

सरितालाई मुम्बईसम्म पुर्‍याउने बिनामाथि उनका आफन्तले बेचबिखन मुद्दा दायर गरेका थिए । तर प्रमाण पुर्‍याउन नसक्दा बिनालाई अदालतले सफाइ दिएको थियो । उद्धारपछि उनले श्रीमान्विरुद्ध बेचबिखनको मुद्दा हाल्ने सोच भए पनि हिम्मत नभएको बताइन् । ‘मलाई त मार्छ, मेरो माइतीलाई पनि बाँकी राख्दैन,’ उनले भनिन्, ‘त्यही भएर १२ वर्षपछि घर फर्किंदा पनि मेरो मनमा कुनै उत्साह छैन ।’

प्रकाशित : श्रावण ४, २०७८ ०९:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×