१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

अफगानिस्तानको कन्दाहारमा भएको भिडन्तमा रोयटर्सका फोटोपत्रकार दानिस सिद्दिकीको मृत्यु

केही दिनअघि उनले आफैंमाथि बर्सिरहेका तालिबानका रकेटका दृश्य खिचेका थिए

काठमाडौँ — रोयर्टसका फोटोपत्रकार दानिस सिद्दिकीको अफगानिस्तानको कन्दाहार प्रान्तको स्पिन बोल्दाक जिल्लामा तालिबान र अफगान सुरक्षा फौजको झडपमा परी मृत्यु भएको छ ।

अफगानिस्तानको कन्दाहारमा भएको भिडन्तमा रोयटर्सका फोटोपत्रकार दानिस सिद्दिकीको मृत्यु

पुलित्जर पुरस्कार विजेता फोटोपत्रकार सिद्दिकीले केही दिनयता कन्दाहारको तालिबान प्रभावित क्षेत्रबाट रिपोर्टिङ गरिरहेका थिए । हिन्दुस्तान टाइम्सले भारतका अफगानी राजदूत फरिद ममुन्ड्जलाई उद्धृत गर्दै दानिसको झडपमा परी मृत्यु भएको बताएको छ ।

त्यस्तै, अफगानिस्तानको टोलो न्युजले पनि अफगान सुरक्षा फौज स्रोतलाई उद्धृत गर्दै दानिसको मृत्यु भएको पुष्टि गरेको छ ।

रोयटर्सका लागि भारतमा चिफ फोटोपत्रकारका रुपमा कार्यरत दानिसले दिल्लीस्थित जामिया मिलिया इस्लामिया विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेका थिए । त्यस्तै, उनले एजेके मास कम्युनिकेसन रिसर्च सेन्टरमा पत्रकारितासम्बन्धी अध्ययन गरेका थिए ।

२ दिनअघि सुरक्षा फौजसँगै मिसनमा गएका फोटोपत्रकार दानिस चौरमा सुस्ताउँदै । तस्बिर : उनकै ट्विटरबाट

टेलिभिजन संवाददाताका रुपमा पत्रकारिता सुरु गरेका उनी सन् २०१० रोयटर्समा इन्टर्नका रुपमा आबद्ध भएका थिए । २ दिनअघि मात्रै उनले कन्दाहारमा एक जना प्रहरीको उद्धारमा सुरक्षा फौजसँगको टोलीमा खटिँदाको अनुभव ट्विटरमा सेयर गरेका थिए ।

अफगान सुरक्षा फौज र तालिबानबीचको भिडन्तमा भाग्यले बाँच्न सफल भएको भन्दै आफै चढेको गाडीमाथि रकेट आक्रमण भएको दृश्यसमेत उनले पोस्ट गरेका थिए ।

सम्बन्धित समाचार

प्रकाशित : श्रावण १, २०७८ १४:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?