कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

पाकिस्तानमा बस दुर्घटना : ९ जना चिनियाँ इन्जिनियरसहित १३ को मृत्यु

ग्यास लिक भएर दुर्घटना भएको पाकिस्तानले दाबी गरे पनि चीनले भने बम विस्फोटको आशंकासमेत गरेको छ 
इकान्तिपुर डेस्क

काठमाडौँ — पाकिस्तानको खैबर पख्तनुख्वा प्रान्तमा भएको ‘बस दुर्घटना’ मा ९ जना चिनियाँ नागरिकसहित १३ को मृत्यु भएको छ । मृत्यु हुनेहरुमा ४ जना पाकिस्तानी नागरिक रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । डासु जलविद्युत् आयोजनामा काऱ्यरत चिनियाँ नागरिकसहितको टोली बोकेको बस बुधबार विस्फोटपछि खोलामा खसेको बताइएको छ । 

पाकिस्तानमा बस दुर्घटना : ९ जना चिनियाँ इन्जिनियरसहित १३ को मृत्यु

पाकिस्तानले ग्यास लिकेज भएर बस दुर्घटना भएको बताएको छ । तर चीनले भने यसमा आशंका व्यक्त, गरेको छ । चीनले बम विस्फोट गराइएको पनि हुन सक्ने आशंका व्यक्त गरेको छ । अपर कोहिस्तान जिल्लामा भएको उक्त दुर्घटनामा २७ जना घाइते भएका छन् भने घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर भएको बताइएको छ । घाइतेमध्ये अधिकांश चिनियाँ नागरिक रहेका छन् । दुर्घटनामा मृत्यु भएका ९ जना चिनियाँ नागरिक डासु परियोजनामा इन्जिनियरका रुपमा कार्यरत थिए ।

पाकिस्तानमा रहेको चिनियाँ दूतावासले उपचार र उद्धारका लागि तत्काल प्रयास गरिएको बताएको छ । पाकिस्तानी सेनाले हेलिकप्टरमार्फत घाइतेहरुलाई अस्पताल लगेको थियो ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिजियानले उक्त घटनाको आलोचना गरेका छन् । समाचार संस्था रोयटर्सको प्रश्नको जवाफमा उनले भनेका छन्, ‘पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा भएको विस्फोटको घटनाबाट चीन निकै चिन्तित छ । हामी यसको निन्दा गर्छौं । पाकिस्तानी सैन्य बलले अवस्था नियन्त्रणका लागि तत्काल कदम चालेको छ ।’

चीनले पाकिस्तानसँग उक्त घटनाको गम्भीर रुपले छानबिन गर्नुपर्ने पनि माग गरेको छ । प्रवक्ता चाओ भन्छन्, ‘चीनले पाकिस्तानलाई यस घटनाको गम्भीर रुपले छानबिन गर्न अनुरोध गरेको छ । यस घटनामा संलग्नलाई छिटोभन्दा छिटो पक्राउ गर्न र कडा सजाय दिन माग गरिएको छ ।’ त्यस्तै उनले पाकिस्तानमा रहेका चिनियाँ नागरिक, संस्थान र परियोजनामा सुरक्षा व्यवस्था मिलाउन पनि आग्रह गरिएको बताएका छन् ।

चिनियाँ समाचारपत्र ग्लोबल टाइम्सले पनि उक्त घटना शंकास्पद रहेको उल्लेख गर्दै ‘दुर्घटना वा आतंकवादी आक्रमण ?’ भन्दै समाचार प्रकाशित गरेको छ । पछिल्लो समय प्रान्तमा आतंकवादी आक्रमणका घटना बढिरहेकाले उक्त बसमा पनि आक्रमण भएको हुनसक्ने अड्कलबाजी गरिएको ग्लोबल टाइम्सले जनाएको छ । चिनियाँ विज्ञले पाकिस्तालाई छिटोभन्दा छिटो अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन आग्रह गरेको समाचारमा उल्लेख गरिएको छ ।

राष्ट्रिय सुरक्षा र प्रतिआतंकवादका विज्ञ ली वेईले भने प्राविधिक गडबडीका कारण दुर्घटना नै भएको हुन सक्ने बताएका छन् । ग्लोबल टाइम्ससँगको कुराकानीमा उनले बम विस्फोट गराइएको भए प्रमाण देखिनुपर्ने बताएका छन् । बम विस्फोट भएको भए रोडसाइड बम, मोटरसाइकलद्वारा आत्मघाती आक्रमण वा मानिसले नै शरीरमा बम बोकेर विस्फोट गराएको हुनुपर्ने उनको भनाइ छ । उनका अनुसार पाकिस्तानमा रहेका चिनियाँ परियोजनामा पाकिस्तानी सेना र प्रहरीले कडा सुरक्षा व्यवस्थाको प्रबन्ध मिलाएका छन् ।

प्रारम्भिक विवरणका अनुसार बम विस्फोटको सम्भावना निकै कम रहेको उनको दाबी छ । तर केही चिनियाँ विज्ञले भने प्राविधिक त्रुटिका कारण त्यति ठूलो विस्फोट कसरी भयो भन्दै प्रश्न उठाएका छन् ।

प्रकाशित : असार ३१, २०७८ ११:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?