कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

साइबर आक्रमणमा कम्तीमा २०० कम्पनी प्रभावित

फिरौती उठाउने समूह ‘रेभिल’ ले आक्रमण गरेको अमेरिकी अधिकारीहरुको दाबी
एजेन्सी

न्युयोर्क — अमेरिकामा गरिएको शक्तिशाली साइबर आक्रमणमा कम्तीमा २ सयवटा व्यवसायहरू प्रभावित भएका छन् । प्रभावित हुनेमा अधिकांश सूचना प्रविधि कम्पनी छन् । 

साइबर आक्रमणमा कम्तीमा २०० कम्पनी प्रभावित

साइबर सुरक्षा कम्पनी ‘हन्ट्रेस ल्याब्स’ का अनुसार ह्याकरहरूले मायामीस्थित मुख्यालय रहेको प्रविधि कम्पनी कसेयालाई निसाना बनाएका हुन् । उक्त कम्पनीको तथ्यांकमाथि पहुँंच कायम गरेपछि ह्याकरहरूले कर्पोरेट सफ्टवेयर प्रणालीबाट अन्यमा आक्रमण गरेका हुन् ।

कसेयाले भीएसए नामक आफ्नो प्रविधिमा सम्भावित आक्रमण भएको हुन सक्ने भन्दै त्यसको अनुसन्धान गरिरहेको जनाएको छ । कम्पनीले आफ्ना ग्राहकहरूलाई सर्भरहरू बन्द गर्न आग्रह गरेको छ ।

फिरौती उठाउने साइबर आक्रमणकारीहरूको समूह ‘रेभिल’ [र्‍यानसमवेयर-इभिल] ले आक्रमण गराएको दाबी अमेरिकी अधिकारीहरूले गरेका छन् । उक्त समूह रुसबाट उत्पत्ति भएको जनाइएको छ । यसअघि अमेरिकी अनुसन्धान निकाय एफबीर्आइले उक्त समूहले मासु प्याकिङ गर्ने प्रणाली ठप्प पारिदिएको आरोप लगाएको थियो । स्वतन्त्रता दिवसको सप्ताहान्तमा अमेरिकी कम्पनीहरूले आफ्नो व्यवसाय बन्द गर्ने तयारी गरिरहेका बेला उक्त आक्रमण गरिएको हो । अमेरिकाको साइबर सुरक्षा र पूर्वाधार एजेन्सीले एक विज्ञप्ति जारी गर्दै उक्त आक्रमणका विषयमा आवश्यक कदम चालिसकिएको जनाएको छ ।

कसेयाले आफ्नो कर्पोरेट सर्भर, डेस्कटप कम्प्युटर तथा नेटवर्किङका केही उपकरणहरू सञ्चालन गर्ने एक एपमा ह्याकरले पहुँच कायम गरेको देखिएको जनाएको छ । उसले केही त्यसबाट केही कम्पनीहरू मात्र प्रभावित भएको दाबी गरेको छ । तर हन्ट्रेस ल्याब्सले त्यस्ता कम्पनीहरूको संख्या २ सय पुगिसकेको र बढ्न सक्ने जनाएको छ । हालसम्म कुन कुन कम्पनीहरू प्रभावित भए भन्नेबारे केही उल्लेख गरिएको छैन । त्यसबारे कसेयाका अधिकारीले जानकारी दिन अस्वीकार गरेका बीबीसीले जनाएको छ । कसेयाका हाल विभिन्न १० देशमा १० हजारभन्दा बढी ग्राहक छन् । हन्ट्रेस ल्याब्सका वरिष्ठ सुरक्षा अनुसन्धानकर्ता जन हेमन्डले उक्त साइबर हमला भीषण भएको बताएका समाचार संस्था रोयटर्सले जनाएको छ । आक्रमणपछि स्वीडेनस्थित कोप सुपरमार्केटले आफ्ना ५ सयवटा स्टोर बन्द गरेको छ । साइबार आक्रमणसँगै बिल तिर्ने प्रणालीले काम गर्न छाडेको बीबीसीले जनाएको छ । कोपका स्वीडेनमा ८ सय स्टोर छन् ।

अमेरिका र रुसले एकअर्काका देशबाट साइबर आक्रमण हुने गरेका आरोप लगाउँदै आएका छन् । स्विट्जरल्यान्डको जेनेभामा गत महिना भएको शिखर बैठकपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई त्यस्ता आक्रमण नियन्त्रण गर्नु उनको जिम्मेवारी भएको बताएको दाबी गरेका थिए ।

त्यसक्रममा बाइडेनले ऊर्जादेखि पानीलगायतका पूर्वाधारसम्बन्धी १६ वटा क्षेत्रमा कुनै पनि हालतमा साइबर हमला गर्न नहुने भन्दै पुटिनलाई सूची दिएका थिए । पछिल्लो साइबर हमलामा संलग्न ठानिएके रिभिल विश्वको सबैभन्दा बढी नाफा कमाउने साइबर अपराधीहरूको समूह हो ।

उक्त समूहलाई सोडीनोकीबी पनि भनिन्छ । समूहले गएको महिनामा विश्वको सबैभन्दा ठूलो मासु आपूर्तिकर्ता जेबीएसको सञ्चालन ठप्प हुने गरी साइबर आक्रमण गरेको थियो । अमेरिकाको टेक्सासमा सन् २०१९ मा दुई दर्जन स्थानीय सरकारहरूमा भएका संगठित साइबर आक्रमणका लागि पनि उक्त समूह जिम्मेवार मानिन्छ ।

प्रकाशित : असार २०, २०७८ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?