क्यानडामा १३० भन्दा बढी ठाउँमा डढेलो

एजेन्सी

टोरन्टो — क्यानडाको पश्चिमी क्षेत्रमा चट्याङ पर्दा १ सय ३० भन्दा बढी क्षेत्रमा डढेलो सल्केको छ । क्यानडाको ब्रिटिस कोलम्बिया क्षेत्रमा एक सातायता निकै चर्को गर्मी भइरहेको छ ।

क्यानडाको संघीय सरकारले डढेलो नियन्त्रण र आकस्मिक सेवाका लागि ब्रिटिस कोलम्बियामा सैन्य जहाज पठाउने बताएको छ । यसै साताको सुरुमा उक्त प्रदेशको लिटन गाउँका मानिसहरू चर्को गर्मी र तातो हावाका कारण विस्थापित भएका थिए ।

लिटनमा गत मंगलबार क्यानडाको हालसम्मकै सबैभन्दा उच्च तापक्रम ४९.६ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो । पछि उक्त गाउँ आगलागीले ध्वस्त भयो । चर्को गर्मीका कारण उक्त क्षेत्रमा करिब २ सय ५० जनाको ज्यान गएको अधिकारीहरूले जनाएका छन् । प्रभावित सहर भ्यान्कोभर सहरबाट २ सय ६० किलोमिटर उत्तरपूर्वी भेगमा पर्छ ।

‘करिब १५ मिनेटको अवधिमा पूरै सहर आगोको लप्काले घेरियो,’ मेयर ज्यान पोल्डरम्यानले भने । शुक्रबार ब्रिटिस कोलम्बियाको डढेलो नियन्त्रण सेवासम्बन्धी निकायले प्रदेशभरि १ सय ३६ वटा डढेलो सक्रिय अवस्थामा रहेको बताएको थियो ।

निकायका अनुसार १२ हजार वटा चट्याङका घटना रेकर्ड गरिएको छ । निकायका प्रादेशिक सञ्चालन निर्देशक क्लिफ च्यापम्यानका अनुसार तीमध्ये निकै धेरै चट्याङहरू समुदाय वरपर खसेका थिए । उनले सयौं घरपरिवारलाई घर छाडेर सुरक्षित स्थानमा जान चेतावनी दिइसकिएको जनाएका छन् । क्यानडाका रक्षामन्त्री हरजित सज्जनले सरकारले आगलागी पीडितको सहायताका लागि सैन्य हेलिकप्टर र आवश्यक अन्य सामग्रीहरू पठाउने बताएका छन् ।

आगलागी फैलिए पनि त्यस क्षेत्रका राजमार्गहरू बन्द भएका छन् । जनसुरक्षा मन्त्री बिल ब्लेयरले मौसम र डढेलोले ब्रिटिस कोलम्बियामा ‘विध्वंसकारी र अप्रत्याशित’ असर परेको बताए ।

चिकित्सा परीक्षण कार्यालयले गत साता अप्रत्याशित रूपमा ७ सय १९ जनाको मृत्यु हुनुमा चर्को गर्मी र तातो हावाको असर प्रमुख भएको जनाएको छ । मृतकहरूको संख्या विगतका वर्षहरूको तुलनामा तीनगुणा बढी हो 

‘गत साता मृत्यु भएकामा धेरैजसो कम भेन्टिलेसनयुक्त निजी घरमा एक्लै बस्ने ज्येष्ठ नागरिकहरू छन्,’ कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । क्यानडाको तटीय क्षेत्रमा तापक्रममा कमी आइरहेको जनाइएको छ ।

प्रकाशित : असार २०, २०७८ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्

मेसीको उत्कृष्ट प्रदर्शन, अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा

एजेन्सी

रियो डि जेनेरियो — लियोनल मेसीले फ्रिकिकबाट एक गोल गर्दै अर्को दुई गोलमा सहयोगी भूमिका निभाएपछि अर्जेन्टिनाले कोपा अमेरिकामा आइतबार १० खेलाडीमा सीमित इक्वेडरलाई ३–० हराएको छ । यो जितपछि अर्जेन्टिना प्रतियोगिताको सेमिफाइनल पनि पुगेको छ ।


यस्तै अर्को खेलमा जित निकाल्नै कोलम्बियाले पनि अन्तिम चारको यात्रा तय गरेको छ । मेसीले फ्रिकिकबाट दोस्रो हाफको इन्ज्युरी समयमा गोल गरे । यसअघि ४० औं मिनेटमा रोडरिगो डे पउल र ८५ औं मिनेटमा लउटारो मार्टिनेजले गोल गरेका थिए ।

दुवै गोलमा मेसीले सटिक पास मिलाएका हुन् । यसअघि कोलम्बियाले टाइब्रेकरमा उरुग्वेलाई ४–२ ले हराएको थियो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगेपछि खेल टाइब्रेकरमा गएको हो । कोलम्बियाका तर्फबाट भएका सबै चार प्रहार गोलमा परिणत भएका थिए ।

उरुग्वेका चारमध्ये दुई प्रहार मात्र गोलमा परिणत भएको थियो । अब सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन ब्राजिलले पेरु र अर्जेन्टिनाले कोलम्बियाको सामना गर्नेछ ।

प्रकाशित : असार २०, २०७८ ०८:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×