स्थापनाको शतवार्षिकी मनाउँदै चिनियाँ कम्युनिस्ट पार्टी- विश्व - कान्तिपुर समाचार

स्थापनाको शतवार्षिकी मनाउँदै चिनियाँ कम्युनिस्ट पार्टी

लक्ष्मी लम्साल

बेइजिङ — चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको शतवार्षिकीको उपलक्ष्यमा चीनको राजधानी बेइजिङमा भव्य समारोहको आयोजना गरिएको छ। स्थानीय समयअनुसार ८ बजेदेखि मनाउन थालिएको शतवार्षिकी समारोहमा अनेक परेड,  झाँकी तथा प्रदर्शनीहरूका अलावा सत्तारूढ पार्टीले एक सय वर्षको अवधिमा हासिल गरेका उपलब्धिहरूको प्रदर्शनी पनि समावेश छन्।

तस्बिर : सिन्ह्वा

थ्यानआनमन चोकमा राष्ट्रिय झण्डोत्तोलनका साथै १ सय तोपको सलामी अर्पण गरिएको थियो भने आकाशमा विमानले १०० को आकृतिका साथ उडान प्रदर्शनी गरेका थिए।

कम्युनिस्ट पार्टी स्थापनाको १००औं वार्षिकोत्सव समारोहमा भाग लिन पार्टीका ७० हजारभन्दा बढी सदस्य थ्यानआनमन चोकमा भेला भएका छन्। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवं केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले सम्बोधन गरे। सीले चीनले समृद्ध समाज निर्माणको चरण पार गरेको बताए।

तस्बिर : सिन्ह्वा

सबैको मेहनत तथा संघर्षपश्चात चीनले खुशीयालीयुक्त समाज निर्माण पूरा गरेको बताउँदै सीले चीन अब समाजवादी आधुनिक शक्तिशाली मुलुकको रूपमा अघि बढिरहेको बताए। चीनले हालै गरिबी निवारणको लक्ष्य पूरा गरेको छ

तस्बिर : रोयटर्स

सीले चिनियाँ कम्युनिस्ट पार्टी नभएमा नयाँ चीनको स्थापना र राष्ट्रको पुनरूत्थान असम्भव भएको बताउँदै पार्टीको नेतृत्वमा सबै अडिग रहनुपर्ने बताए। उनले भने, ‘चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्व चिनियाँ विशेषतायुक्त समाजवादको आवश्यकता हो, चिनियाँ विशेषतायुक्त परिपाटी देशको जग र जीवनरक्त हो।’शतवार्षिकी सम्बन्धित कार्यक्रमका विभिन्न गतिविधिहरू बेइजिङमा जारी छन् ।

तस्बिर : रोयटर्स

सन् १९२१ जुलाई १ तारिख चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना भएको थियो। पार्टी तथा जनसंघर्षको नेतृत्व गरेका अध्यक्ष माओ चतुङले सन् १९४९ को अक्टोबर १ तारिख राजधानी बेइजिङस्थित थ्यानआनमन चोकमा जनगणतन्त्र चीनको घोषणा गरेका थिए।

तस्बिर : रोयटर्स

प्रकाशित : असार १७, २०७८ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्

सिआनका पत्थरमा नेपाली झल्को 

लक्ष्मी लम्साल

बेइजिङ — मे महिनाको दोश्रो साता सिआनमा पुग्ने अवसर पाएपछि मैले एकजना उर्दूभाषी चिनियाँ नूरिनलाई अग्रिम अनुरोध गरिसकेको थिएँ, ‘पैलिन् भन्ने पत्थर संग्रहालयमा नेपाली पहिचानको ढुंगा छ रे, कृपया त्यो पत्ता लगाइदिन आयोजकलाई भनिदिनुहोला।’

नयाँ पुस्ताले पूरातत्व वा इतिहासका कुरामा रुचि राखेकोमा केही आश्चर्यसूचक नजर पारेर उनले प्रयास गरिदिने आश्वासन दिइन्। ‘विश्वतर्फ सिल्करोडको प्रस्थान विन्दु’ विषयक एउटा आर्थिक व्यापारिक तथा सांस्कृतिक भ्रमण विषयक कार्यक्रम पल्लो शानसी प्रान्तको सिआनमा भइरहेको थियो।

नेपाल र चीनबीच दौत्य सम्बन्ध स्थापना भएको ६०औं वार्षिकोत्सव मनाउनका लागि भगिनी सहर सम्बन्ध विषयक वृत्तचित्र छायांकनका सिलसिलामा सन् २०१५ मै सिआनको भ्रमण गरिसकेको थिएँ। सन् १९९६ मा सिआन र काठमाडौंबीच भगिनी सम्बन्ध स्थापना भएको हो। चिनियाँ राष्ट्रपति सी चिनफिङको २०१९ अक्टोबर १२ को नेपाल भ्रमणमा प्रधानमन्त्रीसँगै बसेर १३ अक्टोबरमा बुटवल र सिआनबीचमा फेरि अर्को भगिनी सम्बन्ध स्थापित भएपछि सिआन र नेपालबीचको नाता झनै गहिरिएको भान हुन्छ।

दौत्य सम्बन्धको सेरोफेरोमा जब कुनै पनि वार्षिकोत्सव शून्य अंकमा पुग्छ, चिनियाँहरूले भव्य तरीकाले मनाउने गर्दछन्। ६ वर्षअघि सो भ्रमणबाट फर्किएपछि सहकर्मी चेतनाथ आचार्यले सोधेका थिए ‘के त्यहाँ नेपाली शिलालेख देख्नुभयो?’

सन् २००४ सालमा एक रेडियो श्रोताको पुरस्कार विजेताको रूपमा चीन भ्रमण गर्दाको हस्तलिखित डायरी पल्टाउँदै उनले शिलालेखको कुरा गरे। उतिखेर रिलवाला क्यामराको जमाना भएकाले शिलाको फोटो नखिचेकोमा उनमा थकथकी बाँकी रहेछ। र, ६ वर्षअघिको भ्रमणमा कुनै सुइँको नै नपाउँदाको उस्तै मनोदशा दोहोर्‍याउने पक्षमा म पनि थिइनँ।

भौगोलिकताका हिसाबले चीनको केन्द्रभागमा अवस्थित र पहेँलो नदीको मध्यभागले सिञ्चिएको पल्लो शान्सी प्रान्त उनीहरूकै शब्दमा भन्ने हो भने चिनियाँ सभ्यताको उद्गम थलो हो। कुनै बेला चिनियाँ राजनीतिक, आर्थिक तथा सांस्कृतिक केन्द्र बनेको शानसीमा विश्वका अन्य मुलुकसँग जोडिएका तत्वहरू अनेकन होलान्। हान राजवंश (ई.पू.२०६−२२०) र थाङ राजवंश (ई.पू.६१८−९०७)ले शानसीको सिआनलाई राजधानीको रूपमा अपनाएका थिए। कालान्तरमा १३ वटा सम्राटहरूले त्यहीँबाट शासन व्यवस्था चलाए र विश्वको एउटा प्राचीन राजधानीको रुपमा पहिचान दिलाए।

सिआनलाई जीवन्त ऐतिहासिक संग्रहालयको उपमा त्यतिकै दिइएको होइन, यदि त्यहाँ प्रचूर ऐतिहासिक अवशेषहरू वा सांस्कृतिक धरोहरहरू हुन्थेनन् भने। टेराकोट्टा योद्धा र घोडा, जंगली हाँसको मन्दिर अर्थात् भिक्षु ह्वेन शाङको प्रतिमा स्थापित ‘ता यान था’, लामो पर्खाल, स्याउ यान प्यागोडा, प्राचीनता झल्किने मानवजीवन र हाउभाउ अनि सहरको भौगोलिक परिवेश लगायत अनेकन इतिहास झल्काउने संरचना भएकाले यसले जीवन्त संग्रहालयको उपमा पाएको हो ।

सिआन सहरको इतिहाससँग विश्वको एउटा लगाव छ। आफ्नो गृहनगर गुजरातमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन् २०१४ को स्वागत खाएका चिनियाँ राष्ट्रपति सी चिनफिङले टेराकोटा वारियर्समा प्रथम स्वागत गरेर तिरेका थिए। चीन−भारत दौत्य सम्बन्ध स्थापनाको ६५औं वार्षिकोत्सवको सन्दर्भ र नरेन्द्र मोदी भारतीय प्रधानमन्त्री भएपछिको पहिलो चीन भ्रमणको गन्तव्यस्थलको रूपमा सन् २०१५ को मे १४ मा टेराकोटा वारियर्सलाइ छनोट गरिएको थियो।

जिउँदो इतिहासधारी संग्रहालयमा कतै-कतै नेपालको पनि अस्तित्व विराजमान छ भन्ने सुन्दा जो कोही नेपालीको शीर उँचो हुन्छ, जसरी बेइजिङको ग्रेटवालमा रञ्जना लिपि कुँदिएको देख्दा गर्वले छातीको आयतन बढ्छ। प्राचीन राजवंशीय समाधिलेख तथा शिलालेखको अध्ययन हुने शानसीको सबैभन्दा पुरानो संग्रहालयमा नेपाल तत्व भेटिनु आफैँमा गौरिको विषय हो। ११ सय भन्दा बढी सांस्कृतिक अवशेषको संग्रह, वर्ग वर्गका उच्चस्तरीय अवशेषहरू, कुँदिएको कलाकृति, प्रदर्शनी कक्षहरू समेटिएको त्यो वैभवशाली कक्षमा नेपाल भेटिन्छ। त्यसो देखिनु चिनियाँ सांस्कृतिक उत्थानमा नेपालको योगदान र तत्कालीन आपसी घनिष्ठताको एउटा संकेत पनि हो।

सिल्करोड गतिविधिमा भाग लिन विभिन्न देशका कूटनीतिज्ञहरू सम्मिलित झुण्ड झुण्ड संग्रहालयको परिसरमा छिरेपछि दोभाषेले अंग्रेजीमा जानकारी भट्याउन थाले। ऐतिहासिक महत्‍त्वका मूर्ति र तिनले बोकेका महिमाहरूबारे चर्चा गरिरहेका दोभाषेका पछिपछि पर्यटकहरू लागे। मेरो ध्याउन्न भने नेपाली लिपि कुँदिएको शिला कता छ भन्नेतर्फ एकोहोरिरहेको थियो। भित्री प्यासेजको केही अगाडि बढिसकेको थिएँ। यसअघि मैले गरेको अनुरोधबारे कसैले चासो दिएजस्तो लागेको थिएन। हुल आफ्नै लयतालमा अगाडि बढिरहेका बेला उर्दू विभागकी साथी टुप्लुक्क देखापरिन्, ‘म देखाउँछु, यता आउनुस्।’ म पनि ज्ञानी बालकजस्तो पछिपछि लागें। नभन्दै उनले देखाएको एउटा शब्दसँग म परिचित भएँ। सूचना बोर्डमा लेखिएका चिनियाँ लिपिमध्ये ‘निपोअर्’ अर्थात् नेपाल शब्दसँग म आत्मीय भइहालें। पूरै लेखोट पढ्नसक्ने स्तरको मेरो चिनियाँ भाषा त थिएन। अंग्रेजी उल्था गरिएको छेउपट्टिको पाटीमा सरसर्ती नजर लगाउँदा नेपाल शब्द किटिएको थिएन।

त्यो शिलाको नाममा लेखिएको सूचना पाटीमा धारणी संस्कृत शिला भनेर लेखिएको छ। यो शिलालाई नेपाल र चीनबीचको सांस्कृतिक आदानप्रदानको प्रतीकका रूपमा लिइन्छ। यही लेनदेनको सम्बन्धले नै यसको नाम पनि ‘साइनो−नेपाली धारणी मन्त्र शिलास्तम्भ’ भनेर नामकरण गरिएको हुनसक्छ। तत्कालै चिनियाँ लिपिका अनलाइनहरूमा निकै कम मात्र यस सम्बन्धी लेख रचना भेटिए। किन हो कुन्नि, कतिपय लेखकले यस स्तम्भको नाम संस्कृत मन्त्र धारणी शिलास्तम्भ भनेर पुनः नामकरण गर्नुपर्ने सुझाएका रहेछन्। थाङ राजवंशका राजा च्यान चोङ (सन् ७८०−७८३) कार्यकालको दोश्रो वर्षमा तासिङशान गुम्बाबाट यो स्तम्भ ल्याइएको थियो। पु खुङ सान चाङ नाम गरेका भिक्षुको धार्मिक स्मारकको रूपमा त्यहाँ स्थापित गरिएको हो। पुखुङ सानचाङ (सन् ७०५−७७४) थाङ राजवंशकालकै पश्चिमी क्षेत्र अर्थात् हालको श्रीलंकाका भिक्षु थिए। उनी तान्त्रिक बुद्धिज्मका दोश्रो पुर्खा र शान वुवेइ र चिनकाङ चका समकालीन भएकाले खाइयुआनका तीन विद्वान भनेर कहलिएका थिए जो चार मुख्य साइनो−टर्किस बुद्धिज्मका अनुवादक थिए।

यो स्तम्भको नेपालसँग कुनै सम्बन्ध छैन। चिनियाँ इन्टरनेटमा हेर्दा शिलालेख नेपाली प्रकृतिको भएपनि यसको नेपालसँग कुनै सम्बन्ध देखिँदैन भन्ने आसयका वाक्य देखेपछि भने खिन्नता जाग्नु स्वाभाविकै हुन्छ।

शिला स्तम्भलाई वरिपरिबाट नियालें, केही अध्ययन सामग्री जुटाएँ। ढुंगा धेरै वर्ष पुरानो र खिइएकाले अक्षरहरू त्यति स्पष्ट देखिँदैनन्। एकापट्टि चिनियाँ लिपि देखिन्छ, अर्कोपट्टि भागमा प्राचीन नेपाली अक्षर देखिन्छन्। ल, य, स र ह भन्ने अक्षर मैले हतारैहतारमा देखें। कुनै नेपाली भाषावेत्ताले गहिरिएर अध्ययन गरेमा त्यो के विषयमा कुँदिएको शिला हो भनेर खुलस्त गर्न सक्नेछ। भविष्यमा कुनै पनि नेपालीले यस क्षेत्रको भ्रमण गर्दा नेपाली तत्व भेटेर अपनत्व महसुस गर्न सकून् भनेर देखेका कुराहरू फोटो र भिडियोमा पनि उतारें।

नेपाली अंश मिसिएका दुर्लभ कुराहरू चीनमा-कतै कतै भेटिन्छन्। भएका चीजबीजहरूको चीनले निकै राम्रोसँग संरक्षण गरिरहेको छ। चिनियाँ संस्कृतिमा योगदान गरेको नेपालले आफ्नो गर्विलो सांस्कृतिक इतिहासको पुनरावृत्ति गर्नसक्छ। इतिहासमा टेकेर नै वर्तमानमा आर्थिक उन्नतिको उचाइमा हुइँकिइरहेको चीनलाई अझै घनिष्ठ मित्र बनाएर साझा फाइदाका खाकाहरू कोर्नसक्छ। अतः नयाँ पुस्ताले पनि यस्ता गहन कुराहरूको हेक्का राख्ने बनाउनु र यथोचित अध्ययन गरेर विस्तृत बनाउनु नेपाली पुरातत्वविद् वा इतिहासकारहरूको पनि जिम्मेवारी हुनुपर्छ।

यतिखेर अलिक हतारो छ। नेपालीपन देखेर अल्मलिँदा अल्मलिँदै भ्रमणकारी आफ्नो टोलीका सदस्यहरू कता पो हराइसकेका थिए। कुनै परिसर वा मानिसको भीडमा हुँदाखेरि मास्क लगाउनुपर्ने भएकाले एकअर्कालाई सजिलै खुट्याउन पनि गाह्रो। सायद उनीहरू फर्किने गाडीमा मलाई पर्खिरहेका हुनसक्छन् भनेर झटपट गर्न थालें। मातृभूमि झल्काउने चिनो देखेकाले पुलकित भएर गाडीतिर दौडिनै लाग्दा भित्री मंगोलियाली चिनियाँ देखिए। चीनकै भित्री मंगोलियाका वासिन्दा भएकाले चाइना मिडिया ग्रुपको मंगोलियाली विभागमा काम गर्थे।

कोरोना महामारीयता नयाँ भाषा विशेषज्ञ चीनमा भित्रिन पाएका छैनन्। हाम्रो समूहबाट बिछोडिएर अलपत्र परिरहेका उनलाई देखेपछि मलाई हल्का राहत भयो। जसरी बिरानो मुलुकमा नेपाली अक्षर कुँदिएको पत्थर देख्दाखेरि भइरहेको थियो। यसअघिको बोलचालमा उनले मलाई ‘बालबा’ को साथी भनेका थिए। त्यो भनेको मंगोलियाली भाषामा नेपाल।

प्रकाशित : असार १२, २०७८ १३:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
थप केही विश्वबाट
×