कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

महामारीमा पनि बीआरआई सहयोगका लागि अघि बढिरह्यो :  चिनियाँ परराष्ट्रमन्त्री वाङ यी

लक्ष्मी लम्साल

बेइजिङ — चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले कोरोना महामारीको बीच पनि बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) ले सहयोग स्थगन नगरेको बताएका छन् । यसका विरुद्ध विभिन्न प्रयास भए पनि त्यसलाई प्रतिरोध गर्दै अघि बढेको उनको भनाइ छ । 

महामारीमा पनि बीआरआई सहयोगका लागि अघि बढिरह्यो :  चिनियाँ परराष्ट्रमन्त्री वाङ यी

बेइजिङबाट बुधबार बीआरआई एसिया प्रशान्तक्षेत्रीय अन्तर्राष्ट्रिय सहकार्य उच्चस्तरीय भिडियो सम्मेलनको अध्यक्षता गर्दै वाङले भने, ‘हामीले महामारी प्रतिरोधमा अन्तर्राष्ट्रिय ‘फायरवाल’ निर्माण गर्न हातमा हात मिलाएका छौं ।’

नेपालका तर्फबाट उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलसमेत सहभागी भिडियो सम्मेलनमा एसिया प्रशान्तक्षेत्रका ३० मुलुकका परराष्ट्र तथा अर्थमन्त्रीहरू सहभागी भएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

मन्त्री वाङका अनुसार चीनले महामारीयता विश्वका १ सयभन्दा बढी पक्षसँग महामारी रोकथाम तथा नियन्त्रणको अनुभव आदानप्रदान गर्न बैठकहरू गरेको छ । यही जुन महिनासम्ममा चीनले २९० बिलियन मास्क, साढे ३ बिलियनभन्दा बढी पीपीई र साढे ४ बिलियनभन्दा बढी परीक्षण सामग्रीहरू विभिन्न देशलाई प्रदान गरिसकेको मन्त्री वाङले बताए । ‘चीनले विश्वका धेरै देशलाई भाइरस परीक्षण प्रयोगशाला निर्माणमा सघाएको छ । धेरै देशलाई ४ सय मिलियन डोज खोप सहयोग गरिसकेको छ । बीआरआईमा संलग्न भएका र नभएका गरी ९० भन्दा बढी मुलुकमा अनुदान तथा निर्यातमार्फत स्वास्थ्य सहयोग गरेको छ,’ उनले भने ।

विश्वव्यापी आर्थिक स्थिरताका लागि काम गरिरहेको जनाउँदै मन्त्री वाङले विकास अनुभव आदानप्रदान गर्न, विकास नीतिहरूमा समन्वय गर्न र व्यावहारिक सहकार्यलाई बढाउन दर्जनौं ‘बेल्ट एन्ड रोड’ अन्तर्राष्ट्रिय सम्मेलनहरू क्रमिक रूपमा सम्पन्न भएको बताए । उनले चीन–पाकिस्तान आर्थिक करिडोर ऊर्जा सहयोगमार्फत पाकिस्तानको एक तिहाइ बिजुली आपूर्ति गर्न सकेको र श्रीलंकाको कटाना पानी आपूर्ति परियोजनाले ४५ स्थानीय गाउँमा खानेपानीको समस्या समाधान गरेको फेहरिस्त सुनाए ।

तथ्यांकअनुसार गत वर्ष चीन र यसका ‘बेल्ट एन्ड रोड’ साझेदारहरूबीचको व्यापार १.३५ ट्रिलियन अमेरिकी डलर पुगेको छ । यसले महामारीको प्रतिकार गर्न, अर्थव्यवस्थामा स्थायित्व ल्याउन सकारात्मक योगदान गर्नुका साथै जनजीविकाको संरक्षण गर्न पनि टेवा पुर्‍याएको उनको भनाइ छ ।

चीनले हालसम्म २२ वटा मुलुकमा ‘सिल्क रोड ई–कमर्स’ सहयोग सुरु गरेको छ जसले महामारीको स्थितिमा सहज रूपमा व्यापारिक गतिविधिलाई स्थिरता दिइरहेको अर्थविश्लेषकहरूले बताएका छन् । गत वर्ष सन् २०२० मा एसिया र युरोपलाई जोड्ने चीन–युरोप कार्गो रेलमार्फत ढुवानी संख्याले नयाँ रेकर्ड स्थापित गरेको छ ।

उच्चस्तरीय भिडियो सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनफिङले लिखित भाषण पठाएका थिए ।

प्रकाशित : असार १०, २०७८ १२:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?