१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

अमेरिका–उत्तर कोरिया वार्ता पहल

एपी

सोल/वासिङ्टन — अमेरिकाले उत्तर कोरियासँग वार्ता गर्नका लागि औपचारिक पहल सुरु गरेको छ ।  अमेरिकी राष्ट्रपति जो बाइडेनका विशेषदूत सुङ किमले वार्ताका लागि अमेरिकाले गरेको अनुरोधलाई उत्तर कोरियाली नेताले सकारात्मक रूपमा लिने विश्वास व्यक्त गरेका छन् । 

अमेरिका–उत्तर कोरिया वार्ता पहल

उत्तर कोरियाली नेता किम जोङ–उनले अमेरिका र दक्षिण कोरियासँग वार्ता र विरोध दुवै गर्ने गरी आफ्ना अधिकारीहरूलाई आदेश दिएलगत्तै अमेरिकी विशेषदूत किमले सोमबार यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

उत्तर कोरिया मामिलामा रोकिएको कूटनीतिक प्रयासबारे दक्षिण कोरियाली र जापानी अधिकारीहरूसँग वार्ता गर्न अमेरिकी विशेषदूत सुङ किम हाल सोलमा छन् । खासगरी, उत्तर कोरियाली आणविक कार्यक्रम र अमेरिकी अग्रसरतामा उत्तर कोरियामाथि लागेका प्रतिबन्धबारेमा वार्ता केन्द्रित भएका छन् ।

उत्तर कोरियाको प्योङयाङमा गत साता आयोजित राजनीतिक सम्मेलनमा नेता किम जङ अनले देशको अर्थतन्त्रमा सुधार ल्याउन सुदृढ प्रयास थाल्न आह्वान गरेका थिए ।

अमेरिकी अग्रसरतामा लगाइएका प्रतिबन्धले संकट व्यहोरिरहेको उत्तर कोरियाली अर्थतन्त्रमा कोरोना भाइरस महामारीका कारण गरिएको सीमाबन्दी र खाद्यान्न अभाव चुलिएको जनाइएको छ । अमेरिकी विशेषदूत सुङ किमले उत्तर कोरियाली नेताका टिप्पणीलाई आफूहरूले ध्यानपूर्वक नियालेको जनाउँदै वार्ताका लागि गरिएको आग्रहलाई उत्तर कोरियाले सकारात्मक रूपमा लिने विश्वास व्यक्त गरे ।

किमले भने : उत्तर कोरिया अमेरिकासँग वार्ता र संघर्ष दुवैका लागि तयार रहनुपर्छ

दक्षिण कोरियाली र जापानी आणविक निःशस्त्रसम्बन्धी कूटनीतिज्ञसँगको भेटवार्तापछि विशेषदूत किमले भने, ‘हामीहरूले वार्ताका लागि कुनै पूर्वसर्त राखेका छैनौं । हामीहरू कुनै पनि ठाउँमा, कुनै पनि समयमा वार्ताका लागि तयार छौं ।’ दक्षिण कोरियाली विदेश मन्त्रालयले तीनवटै देशका वरिष्ठ अधिकारीहरूले सामूहिक रूपमा उत्तर कोरियालाई वार्ताका लागि सन्देश दिएको जनाएको छ ।

उत्तर कोरियाली नेता किम जोङ–उन र अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पबीच सन् २०१९ मा वार्ता भंग भएयता ठोस वार्ता भएका छैनन् । दुई देशबीचका वार्तामा नेता किमले आफ्नो देशमाथि लागेका अधिकांश प्रतिबन्धहरू फुकुवा हुने आशा गरे पनि त्यसलाई अमेरिकाले अस्वीकार गरिदिएको थियो ।

प्रकाशित : असार ८, २०७८ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?