कविता कोर्न गाई !- विश्व - कान्तिपुर समाचार

कविता कोर्न गाई !

ददि सापकोटा

पेरिस — कालो कोट । कालै पाइन्ट । घाँटीमा बेराले लगाउने कालै रङको बो टाई । ढाडमा पुरानो झोला । दाम्लो चट्ट समातेर गाई डोर्‍याउँदै देशका विभिन्न सहरमा यात्रा गरिरहेछन् एक फ्रान्सेली । गाउँसहरका जनजीवन, रहनसहन र दैनिक चर्यामा कविता प्रस्फुटन गर्न भन्दै रोबर्ट डु मोइन्सले गरिरहेको ‘कविताका लागि गाईयात्रा’ ले फ्रान्समा चर्चा बटुलिरहेको छ । फ्रान्सको सामाजिक सञ्जालमा उनको गाई ओल्हा र रोबर्ट दुवै अभिनेता जस्ता बनेका छन् ।

गाई ओल्हासँगै रोबर्ट डु मोइन्स ।

कतिपय सहरका नागरिकहरूले गाडीवालालाई सचेत गराइरहेका छन्, ‘सतर्क रहनुहोला । तपाईंले गाई डोर्‍याइरहेका एक सज्जनलाई सडकमा जतनले पार गरेर जानुपर्ने हुन सक्छ ।’ आफू आफैंमा हराउनु, आवश्यक वस्तुहरू बिर्सनुको बिन्दुमा बाँच्न र सास फेर्न चाहेको रोबर्टले बताउने गरेका छन् । उनको मूल उद्देश्य गाउँठाउँमा आफूले यात्रा गर्दा देखेभोगेका विषयलाई समेटेर कविता सिर्जना गर्नु हो ।

रोबर्टको भनाइमा यो गाई पनि भाग्न चाहन्थ्यो । लामा सिङ भएका बहरहरूबाट भाग्न चाहने गाई र व्यस्त र निकै व्यस्तताले झेलिएको जिन्दगीबाट भाग्न चाहने रोबर्ट दुवैको उद्देश्य मिलेकाले सहयात्रा सम्भव भएको हो । रोबर्टको खास घर राजधानी पेरिसबाट करिब ३ सय ४५ किमि टाढाको नात सहर हो । उनले नातबाट सोल्तेन, भालेन्सिन, सेबुर्ग, पैइ द कन्देलगायत सहरहरूको यात्रा गरिसकेका छन् ।

मुख्य सहर पार गरिसकेपछि रोबर्ट गाउँ पस्छन् । त्यहाँका मानिसहरूसँग बातचित गर्छन् । भन्छन्, ‘गाईसँग गाउँ तथा सहर छिरेपछि स्थानीयसँग गफगाफ गर्न सजिलो हुन्छ ।’

रोबर्टसँग एउटा पुरानो जग भने छुट्दैन । किनभने बिहान र साँझ उनले त्यही जगमा गाई दुहुन्छन् । बास नपाए वरिपरि कतै अँगेनो बनाउँछन् । दूध तताएर पिउँछन् । आफ्नो यात्राका घटनाहरू सबै पुरानो नोटबुकमा उतारेर राख्छन् । आफू नात क्षेत्रको एक होटलका पूर्वकर्मचारी प्रमुख भएको उनी बताउँछन् । उनले संसारलाई अवलोकन गर्न चाहेकाले गाई यात्रामा निस्केको बताउने गरेका छन् । रोबर्टलाई गाई भने एक किसानले सापट दिएका हुन् । स्थानीयहरू उनको रहस्यमय चरित्र देखेर उत्सुक हुने गरेका छन् । किनभने कुनै ठाउँको दिशा पत्ता लगाउनुपर्दा उनी आफूसित भएको गोलाकार ट्रपी झिक्छन् । त्यसैमा भएको नक्सा हेर्दै यात्रा गर्छन् । फ्रान्सेली भाषामा एउटा लोकप्रिय भनाइ छ, ‘हामी कता जाने भनेर हामीलाई जति कम जानकारी हुन्छ हामी त्यति नै हराउँछौं ।’ यो रोबर्टमा ठ्याक्कै लागू हुन्छ । उनलाई धेरैले ‘ल भ्वाइयाज पोएत’ अर्थात् यात्रु कवि पनि भन्छन् ।

‘हामी हरेक घण्टा तालिकामा हिँड्छौं । मेट्रो, रेल, बस, गाडी, काम, खाना, कम्प्युटर, मोबाइल, सुत्ने र उठ्ने सबै तालिकामा निर्भर भएका बेला अहिले पनि एउटा गाई डोर्‍याएर सडकसडक हिँडेरै आफ्नो इच्छा पूरा गर्न सक्नु अचम्मको जीवनशैली हो । यो देख्दा त जीवनशैली बदल्न मन लाग्दो रहेछ,’ उनको यात्रालाई उद्धृत गर्दै सामाजिक सञ्जालमा एक पुष्प व्यापारीले लेखेका छन् ।

यो यात्राबाट रोबर्ट भने आफैं जिल्ल छन् । किनभने सडकमा उनले सोचेभन्दा धेरै उदार मानिसहरू भेटेका छन् जसले उनलाई यात्रामा सम्पूर्ण भोजन प्रदान गर्छन् । मिठो मुस्कान छर्दै बास दिन्छन् । उनीसित सुन्दर, परोपकारीहरूको मात्रै जम्काभेट हुन्छ । ‘हामीले बाटोमा सपना देख्नुपर्ने सबै अद्भुत छालको सामना गर्यौं,’ रोबर्ट साहित्यिक पारामा सुनाउँछन् ।

प्रत्येक गाउँमा पुग्दा रोबर्टले कागजको सानो टुक्रामा धागोले बाँधेको एउटा चिर्कटो दिन्छन्, गाउँलेहरूलाई । त्यसमा उनी आफूलाई भेटेर आफ्ना कुरा सुन्न निम्ता दिन्छन् । किनभने बास बसेको गाउँमा उनले आफ्नो यात्राबारे सुनाउने गरेका छन् ।

प्रकाशित : असार ६, २०७८ १९:११
प्रतिक्रिया
पठाउनुहोस्

जहाँ विमान चिर निद्रामा जान्छन्

ददि सापकोटा

पेरिस — क्वान्टस एयरको ७४७ बोइङ लस एन्जलसबाट अमेरिकाकै क्यालिफोर्नियास्थित मोजावे मरुभूमिमा रहेको आफ्नो चिहान (ग्रेभ यार्ड) मा उत्रियो । यो विमान यहाँको सुख्खा मौसम, तातो हावा र खुला आकाशमा सधैंको लागि अन्तिम विश्राम लिने तर्खरमा थियो । विमानका पाइलट सिङलेटनले पाइलट ह्याट झुकाए । शरीर थोरै निहुराएर बिदाइ गरे 'अब तिम्रो माग कसैले गर्ने छैन । तिम्रै स्वामित्वकर्ताले पनि गर्ने छैनन् । मेरो विश्वासिलो पुरानो साथी ७४७ तिमीलाई हार्दिक श्रद्धाञ्जली ! तिम्रो चिरशान्तिको कामना ।'

सन् २०२० को जुलाई २२ का दिन क्वान्टस एयरको बोइङ ७४७ सेवानिवृत्त हुनु केही घण्टाअघि अन्तिम उडान गरिरहेको थियो । खासमा यो विमानको बिदाइ सन् २०२० को अन्त्यतर्फ हुनुपर्ने थियो । कोरोना संक्रमणले अन्तर्राष्ट्रिय यात्राको पतनसँगै यो विमान समय अघि नै सेवानिवृत हुनुपर्‍यो । सिड्नीबाट अमेरिकाको लस एन्जलसतर्फ उडाउँदै गर्दा यो विमानका चालक जोन सिङलेटन औधि दुखी थिए ।

'मैले क्वान्टास ७४७ को यो बोइङमा सयौं हजारौं किमीको यात्रा गरें । आज समय नपुग्दै यसको अन्तिम बिदाइ गर्नुपर्दा म अत्यन्त दुखी छु' विमानलाई सदाका लागि विश्राम गर्न लागेका चालक जोन सिङलेटनले 'फेयरवेल टु बोइङ ७४७ : अ हप अप टु द एरोप्लेन ग्रेभयार्ड' शिर्षकमा आफ्नो अनुभव उल्लेख गरेका छन् ।

ठूला बोइङहरु वर्षौं उडेका हुन्छन् । कतिपय पाइलट र परिचारिकाहरुले ती विमानमा वर्षौं सेवा गर्छन् । त्यस्ता विमानले तिनको रोजगारी र रोजिरोटीको सुनिश्चितता मात्रै गरेको हुन्न कि जीवनको अत्यन्त महत्वपूर्ण समय र अनुभव पनि समेटेको हुन्छ । त्यसैले, वर्षौं काम गरेको विमानसित तिनको भावना, संवेदना र जीवनको महत्वपूर्ण क्षण पनि गाँसिएको हुन्छ । आफूले वर्षौं काम गरेको विमानलाई चिहान घरमा पठाउँदा तिनलाई भावनात्मक रुपले छुन्छ ।

'मैले ११ वर्ष यो क्वान्टास ७४७ सित उडें । यसको दु:ख र सुखमा मसँगै रहेँ । मेरो परिवार धान्न र मलाई अनुभवी सुपरिटेन्डेन्ट बनाउन यसैले अवसर दियो । मैले मेरो परिवार यसैको सक्रियताले धानेँ । यसलाई चिहानघरमा छोड्नुपर्दा आज मलाई परिवारको सदस्य गुमाएको महसुस भएको छ' यो विमानकी परिचारिका क्याथरिन प्नाडेले फ्लाइट राडारमा आफ्नो भावना पोखेकी छन् ।

डेल्टा, युनाइटेड र अन्य एयरलाइन्सहरूले मरुभूमिमा आफ्ना सबैभन्दा ठूला विमानहरू भण्डारणको लागि पठाएका छन् । किनभने कोरोना भाइरसको कारण विमानहरु एकदमै नगन्य उडेका छन् । विश्वका लगभग ८० प्रतिशत विमानहरु ग्र्याउन्डेड भएपछि प्राय आकाशमै उडिरहने विमानहरुलाई पार्किङ पाउन कठिन परेको छ । त्यसैले तिनलाई ठूला विमानका चिहानहरुमा लगेर पार्किङ गरिएको छ ।

अहिले मारिना, एरिजोनामा रहेका विमानका चिहान (एरोप्लेन ग्रेभयार्ड) मा विमानहरू अवकाश लिन जान्छन् । तर केही एयरलाइन्सले आफ्ना जेटहरू त्यहाँ पठाइरहेका छन् बाहिर सवारीमा गएझैं । धेरै उमेर भएका विमानहरू जुन एक्लै एयरफिल्डको एकल रनवेमा अवतरण गर्दछन् । तिनीहरूले लामो निन्द्राको लागि तयारी गर्दा आकाशलाई फेरि कहिल्यै छुने आशा गर्न सक्दैनन् ।

एरिजोनामा रहेको पिनाल एयरपार्क विमानहरुको चिहानघरका रुपमा राम्ररी परिचित छ । जहाँ बुढेसकालका विमानहरू भण्डार गरिन्छन् । मरेका जीवहरुको छाला, हड्डी र अन्य अंग विभिन्न प्रयोजनका लागि झिकेझैं त्यहाँ म्रित विमानका काम लाग्ने अंगहरु झिकिन्छ ।

फोनिक्सको ९० माइल दक्षिणपट्टि एरिजोना मरुभूमिको बिचमा एउटा विमानस्थल छ । यो एकदमै एकान्त ठाउँमा छ । यसको रनवे एउटा मात्रै छ । यात्रुहरुको लागि टर्मिनल छैन । यसको नाम पिनाल एयरपार्क हो । यसमा व्यपारिक विमानहरु हुँदैनन् । तर ठूला प्रतिकात्मक विमान (आइकोनिक एयरक्राफ्ट्स) हरुले यो विमानको आकाशमा चक्कर मारिरहन्छन् ।

पिनाल एयरपार्क विमानहरुको चिहानका रूपमा परिचित छ । जहाँ लामो समय सम्मका लागि विमानहरू लाइन लगाएर राखिन्छन् । जमिनमा अवतरित विमानहरुको लागि यो सेवा अवकाशप्राप्त घर जस्तै हो जसको स्थान युवा विमानहरुले लिन्छन् । पुरानाले बाटो छोड्छन् ।

एरिजोनाको मारानामा विमानका अस्थिपन्जरहरु अहिले पाइँदैनन् । बरु तिनलाई मरुभूमिको घाम तातेको देखिन्छ । तर ती विमानले आकाशमा धेरै समय बिताएकोले तिनका केही पाटपूर्जा अहिलेको विमानको लागि प्रयोगजन्य हुन्छन् । पखेटाहरु आमनेसामने गरेर विमानहरू महिनौं, वर्ष र दशकौंसम्म स्थायी आराममा बस्छन् ।

मरुभूमिको सुक्खा तापले पुरानो एयरफ्रेमहरू कायम राख्न उत्तम मौसम प्रदान गर्दछ । तर मारानाको विमानस्थलमा भण्डारित विमानहरुले भने फेरि कहिल्यै आकाशमा उड्ने अवसर पाउँदैनन् ।

एरिजोनस्थित मरानाको पिनाल एयरपार्क अमेरिकाको दक्षिणपश्चिममा पर्ने एक चिहान घर हो । यो क्षेत्र तातो, सुख्खा मौसमको रुपमा परिचित छ । यस्तो मौसममा विमानहरु बढी सुरक्षित रहन्छन् । चिसो मौसममा बसेका भन्दा न्यानो मौसममा बसेका विमानको पाटपूर्जाको स्वास्थ्य बढी राम्रो हुन्छ ।

त्यसो त, चिहानघरमा ओर्लिने धेरै विमानको काम समाप्त भएको हुन्न । किनकी तिनीहरूका भागहरू अझै उडानमा उड्ने विमानहरूको लागि मूल्यवान् रहेका हुन्छन् । किनकी विमान परिचालकहरूलाई जहिले पनि विमानहरू मर्मतको लागि थप पाटपूर्जाको आवश्यकता हुन्छ ।

एसियामा यस्ता चिहान घर थाइल्याण्डमा मात्रै छ । भारतमा भने विमानहरु गाड्ने छुट्टै चिहानघर छैन । बरु विमान काम नलाग्ने भएपछि त्यसलाई इन्डियन एयर फोर्सले दान दिन सक्छ, भित्री भागका सबै पाटपूर्जाहरु झिकिसकेपछि यसको शरीरको बाहिरी भाग । यस्ता भाग एभिएसन स्कूल, विश्वविद्यालय, सिनेमा कम्पनी र विशेषज्ञहरुले शैक्षिक प्रयोजनका लागि प्रयोग गर्न सक्छन् । ती पाटपूर्जा दान दिने वा तिनलाई गलाएर, पगालेर फेरि विमानको पाटपूर्जा बनाउन प्रयोग गरिन्छन् ।

केही विमानहरू आन्तरिक मर्मतका लागि माराना पनि पठाइन्छन् ताकि उनीहरू फेरि नयाँ ब्राण्डको रूपमा देखापर्न सकुन् । कोरोना भाइरसको संक्रमण फैलिएपछि विश्वभरि लामो हवाइयात्राको मागमा कमि आएकाले विश्वका एयरलाइन्सले आफ्ना जहाजहरूलाई भण्डारणको लागि माराना पठाउँछन् जहाँ उनीहरूले चिसो भन्दा मरुभूमिको घाम ताप्न पाउँछन् ।

कोरोना भाइरस फैलावटको कारणले आएको औद्याेगिक मन्दीको अवस्थामा विश्वका केही एयरलाइन्सहरूले पायक पर्ने ठूला सहरी विमानस्थलमा पार्किङ नपाएपछि एरिजोना मरूभूमिमा विमानहरु छानीछानी पठाएका छन् । डेल्टा एयरलाइन्सका लागि पनि आफ्ना विमानहरु भण्डारका लागि अमेरिकाको माराना मुख्य विमानस्थल बनेको छ ।

कोरोनाको कारणले मारानाको विमानस्थलमा नयाँ विमानहरु आएका छन् । ती अल्पकालीन पाहुनाका रुपमा आएका हुन् दिर्घकालीन आवासियका रुपमा भन्दा ।

प्रकाशित : जेष्ठ ३०, २०७८ २१:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×