कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

गाजामा इजरायली सेनाले फेरि गर्‍यो हवाई आक्रमण

हमासले आगो लगाउने खालको बेलुन पठाएपछि जवाफी कारबाही गरिएको इजरायली सेनाको दाबी 

काठमाडौँ — इजरायलले गाजा क्षेत्रमा पुन: हवाई आक्रमण गरेको छ । प्यालेस्टिनी विद्रोही समूह हमासले आफ्नो भूमिमा आगो लगाउने खालको बेलुन पठाएपछि जवाफी कारबाही गरिएको इजरायली डिफेन्स फोर्स(आईडीएफ)ले जनाएको छ ।

गाजामा इजरायली सेनाले फेरि गर्‍यो हवाई आक्रमण

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बुधबार बिहान गाजामा विस्फोटका ठूला आवाज सुनिएको छ । आईडीएफले इजरायली लडाकु विमानले खान युनुस र गाजा सहरमा हमास विद्रोहीको अड्डामा आक्रमण गरेको बताएको छ ।

आईडीएफले वक्तव्य जारी गर्दै भनेको छ, ‘यी क्षेत्रमा आतंकवादी गतिविधि चलिरहेको थियो । गाजा पट्टिमा जारी आतंकवादी क्रियाकलापलाई मध्यनजर गर्दै आईडीएफ युद्धसमेत सुरु गर्नका लागि तयारी अवस्थामा रहेको छ ।’

मे २१ मा दुई पक्षबीच युद्धविराम भएपछि पहिलो पटक इजरायल र हमासबीच ठूलो रुपमा संघर्ष चर्किएको हो । पछिल्लो संघर्षमा के कति क्षति भयो भन्नेबारे जानकारी प्राप्त भइसकेको छैन । त्यस्तै इजरायलमा नेफ्टाली बेनेटको नेतृत्वमा गठबन्धन सरकार बनेपछि गाजामा आक्रमण भएको पहिलो घटना हो ।

यसअघि मे महिनामा ११ दिनसम्म चलेको संघर्षका कारण कम्तीमा २६८ जनाको मृत्यु भएको थियो । मृत्यु हुने अधिकांश प्यालेस्टिनी नागरिक थिए । उक्त संघर्षमा ६६ बालबालिकासहित २५६ जना प्यालेस्टिनी र १२ इजरायलीको मृत्यु भएको थियो ।

हमासले पठाएको बेलुनका कारण इजरायली भूमिमा लागेको आगो । तस्बिर : रोयटर्स

मंगलबार यहुदी राष्ट्रवादी समूहले इजरायलको कब्जामा रहेको पूर्वी जेरुसेलममा एउटा जुलुस निकालेका थिए । सन् १९६७ मा सहरमाथि कब्जा गरेको वर्षगाँठ पुगेको भन्दै उक्त समूहले ‘मार्च अफ द फ्ल्याग्स’ नाम दिइएको जुलुस निकालेका थिए । हमासले भने उक्त जुलुस रोक्न चेतावनी दिँदै आएको थियो । जुलुसमा सहभागीहरुले प्यालेस्टाइनविरोधी नारा लगाएका थिए ।

अल जजिराका अनुसार इजरायली प्रहरीले पुरानो सहरको दमास्कस गेटबाट दर्जनौं प्यालेस्टिनी नागरिकलाई बलजफ्ती हटाएको थियो । इजरायली प्रहरीले कम्तीमा १७ जना प्यालेस्टिनी नागरिकलाई पक्राउ गरेको र धरपकडबाट कम्तीमा ३३ जना घाइते भएको अलजजिराले उल्लेख गरेको छ ।

सन् १९६७ को मध्यपूर्वको युद्धपछि इजरायलले पूर्वी जेरुसेलममाथि कब्जा गरेको थियो । त्यसपछि उसले पूरा जेरुसेलमलाई आफ्नो राजधानी दाबी गर्दै आएको छ । तर अन्तर्राष्ट्रिय समुदायले यसलाई मान्दैन । प्यालेस्टाइनले भने पूर्वी जेरुसेलमलाई भविष्यको एक सार्वभौम र स्वतन्त्र मुलुकको राजधानीका रुपमा लिँदै आएको छ ।

गाजाको पुनर्निर्माण गर्न इजिप्टले प्यालेस्टाइनलाई ५० करोड डलर दिने

यही विषयमा प्यालेस्टाइन र इजरायलबीच विवाद रहँदै आएको छ भने पटक–पटक यसले युद्धको रुप लिएको छ । सन् २०१४ को जुलाईदेखि अगस्टको बीचमा भएको द्वन्द्वमा २२५१ प्यालेस्टाइनी मारिएका थिए । तीमध्ये १४६२ त सर्वसाधारण नै थिए । त्यस्तै इजरायलका ६ सर्वसाधारणसहित ६७ जना सैनिक मारिएका थिए ।

सम्बन्धित समाचार

प्रकाशित : असार २, २०७८ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?