१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

बेनेट बने इजरायलको नयाँ प्रधानमन्त्री, १२ वर्षपछि सत्ताबाट बाहिरिए नेतान्याहु

इकान्तिपुर डेस्क

काठमाडौँ — यामिना पार्टीका नेता नेफ्टाली बेनेट इजरायलको नयाँ प्रधानमन्त्री बनेका छन् । आइतबार इजरायली संसद्मा भएको मतदानमा विश्वासको मत प्राप्त गरेपछि उनले प्रधानमन्त्रीका रुपमा शपथ ग्रहण पनि गरिसकेका छन्  ।

बेनेट बने इजरायलको नयाँ प्रधानमन्त्री, १२ वर्षपछि सत्ताबाट बाहिरिए नेतान्याहु

योसँगै १२ वर्षदेखि इजरायली सत्तामा रहेका बेन्यामिन नेतान्याहु विपक्षमा पुगेका छन् । नेतान्याहु इजरायलमा सबैभन्दा बढी सरकार चलाउने प्रधानमन्त्री हुन् । उनी ५ पटक इजरायलको प्रधानमन्त्री बने । उनी पहिलो पटक सन् १९९६ देखि १९९९ सम्म प्रधानमन्त्री बनेका थिए । त्यसपछि उनी सन् २००९ देखि २०२१ सम्म लगातार सरकारको नेतृत्वमा थिए ।

बेनेटले नेतान्याहुलाई एक भोटले हराए । बेनेटको विपक्षी गठबन्धनले ६० भोट प्राप्त गर्दा नेतान्याहुले ५९ सांसदको समर्थन प्राप्त गरे । नेतान्याहु सरकारमा नरहे पनि दक्षिणपन्थी लिकुड पार्टीको प्रमुख र इजरायली संसद्मा प्रमुख प्रतिपक्षी नेताको भूमिकामा हुनेछन् ।

केही दिनअघि बेन्यामिन नेतान्याहुको विपक्षीमा रहेका ८ वटा पार्टीबीच नयाँ सरकार बनाउने विषयमा सहमति जुटेको थियो । सहमतिअनुसार दक्षिणपन्थी यामिना पार्टीका नेता नेफ्टाली बेनेट र येश यटिड पार्टीका नेता येर लेपिडले आलोपालो सरकारको नेतृत्व गर्नेछन् । बेनेट सन् २०२३ सम्म प्रधानमन्त्री बन्नेछन् भने मध्यमार्गी येश एटिड पार्टीका नेता लेपिड सन् २०२३ को अगस्टदेखि सरकारको नेतृत्वमा हुनेछन् ।

इजरायली सत्ता गठबन्धनमा रहेका ८ दलका नेता । तस्बिर : रोयटर्स

गत मार्चमा भएको चुनावमा इजरायलमा नेतान्याहुको लिकुड पार्टीसहित कुनै पनि दलले बहुमत प्राप्त गर्न सकेका थिएनन् । कसैलाई बहुमत प्राप्त नभएपछि लिकुड पार्टीलाई जुन २ सम्म बहमुत सावित गर्न आह्वान भएको थियो । तर नेतान्याहुले उक्त समयसीमाभित्र बहुमत जुटाउन सकेनन् । इजरायलमा कुनै पनि पार्टीले बहुमत प्राप्त नगरेका कारण गत दुई वर्षमा चार पटक चुनाव भइसकेको छ ।

इजरायलको नयाँ गठबन्धनमा वैचारिक हिसाबले विपरीत प्रकारका पार्टी सामेल छन् । तर उनीहरुले नेतान्याहुको शासन अन्त्य गर्नका लागि एक ठाउँमा उभिएको बताएका छन् । नयाँ गठबन्धनमा दक्षिणपन्थी, वामपन्थी र मध्यमार्गी धारका पार्टी समावेश छन् ।

इजरायली प्रधानमन्त्री नेफ्टाली बेनेट र विदेशमन्त्री येर लेपिड । तस्बिर : रोयटर्स

निसेटमा नेतान्याहुको लिकुड पार्टीको ३० सिट रहेको छ भने दोस्रो ठूलो पार्टी येश एटिडको १७ सिट रहेको छ ।

को हुन् नेफ्टाली ?

४९ वर्षीय नेफ्टाली बेनेट नेतान्याहुकै विश्वासपात्र मानिन्थे । नेतान्याहुबाट अलग हुनुभन्दा पहिले उनी सन् २००६ देखि २००८ सम्म इजरायलको चिफ अफ स्टाफको भूमिकामा थिए । उनी लिकुड पार्टी छाडेर दक्षिणपन्थी होम पार्टीमा गएका थिए ।

सन् २०१३ को चुनावमा उनी सांसदमा निर्वाचित भए । सन् २०१९ सम्म उनी हरेक गठबन्धनमा मन्त्री बने । तर सन् २०१९ मा भएको चुनावमा उनको गठबन्धनले एक सिट पनि जितेन । ११ महिनापछि भएको चुनावमा उनी यामिना पार्टीको प्रमुखका रुपमा संसद्‍मा पुगे । उनको पार्टीको संसद्‍मा ६ सिट रहेको छ ।

आइतबार संसद्‍मा हात मिलाउँदै नेतान्याहु र बेनेट । तस्बिर : रोयटर्स

बेनेट नेतान्याहुभन्दा पनि अतिराष्ट्रवादी र दक्षिणपन्थी नेताका रुपमा चिनिन्छन् । उनले इजरायललाई एक यहुदी राष्ट्रका रुपमा अगाडि बढाउनुपर्ने कुराको वकालत गर्छन् । उनले वेस्ट ब्यांक, पूर्वी जेरुसेलम र सिरियाली गोलान पठारलाई पनि यहुदी इतिहासको हिस्सा बताउँछन् । सन् १९६७ को मध्य-पूर्वको युद्धपछि यो क्षेत्र इजरायलको नियन्त्रणमा रहेको छ । यसका बाबजुद बेनेटले गाजामा भने कुनै दाबी गर्दैनन् । सन् २००५ मा इजरायलले गाजाबाट सेना हटाएको थियो ।

अमेरिकासहित अन्तर्राष्ट्रिय समुदायले इजरायल र प्यालेस्टाइनबीचको समस्याको समाधार दुई राष्ट्रको सिद्धान्त हुने बताउँदै आएका छन् । तर बेनेट भने प्यालेस्टिनीहरूका लागि एक स्वतन्त्र मुलुकको मागमा सहमत छैनन् ।

हामी छिट्टै फर्कनेछौँ - नेतान्याहु

संसद्‍मा विश्वासको मत लिने क्रममा भएको छलफलमा नेतान्याहुले आफूहरू छिट्टै सरकारमा आउने बताएका छन् । साथै उनले गठबन्धन सरकारलाई इतिहासकै सबैभन्दा 'कमजोर' र 'खतरनाक' भएको आरोप लगाएका थिए । 'तपाईंहरू आफूलाई प्रजातन्त्रको संरक्षक भन्नुहुन्छ तर प्रजातन्त्रसँग यति डराउनुहुन्छ कि मेरो उम्मेदवारीविरुद्ध फासीवादी कानुन पारित गर्न तयार हुनुहुन्छ,' उनले भने । नेतान्याहुले विपक्षी गठबन्धन इरान र उत्तर कोरियाली शासकको पथमा हिँड्न खोजेको पनि आरोप लगाएका थिए ।

सत्ता गठबन्धनमा रहेका पार्टी र सिट

येश एटिड पार्टी – १७

काहोल लाव्लान – ८

इजरायल बेइतेनु – ७

लेबर पार्टी – ७

यामिना – ७

न्यु होप – ६

मेरेज – ६

राम – ४

- यो सामग्री बीबीसी, सीएनएनलगायत विभिन्न समाचार संस्थाको सहयोगमा तयार पारिएको हो ।

प्रकाशित : जेष्ठ ३१, २०७८ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?