पाकिस्तानमा दुई वटा रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाकिस्तानमा दुई वटा रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु

कान्तिपुर संवाददाता

काठमाडौँ — पाकिस्तानमा दुई वटा रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ । सोमबार सिन्ध प्रान्तको घोट्की जिल्लाको डहरकीमा मिल्लत एक्सप्रेस र सर सैयद एक्प्रेस रेल ठोक्किएका हुन् । 

तस्बिर : बाघी टीभी डट कम

पाकिस्तानी सञ्चारमाध्यम डनका अनुसार कराचीबाट सरोगोधा गइरहेको मिल्लत एक्सप्रेस र रावलपिन्डीबाट आइरहेको सर सैयद एक्सप्रेस राइती रेल्वे स्टेसननजिकै ठोक्किएका हुन् ।

पाकिस्तानी प्रहरीका अनुसार मिल्लत एक्सप्रेसका दुर्घटनाग्रस्त डिब्बामा अझै पनि १५ देखि २० जना यात्रु फसेका छन् । उनीहरुको उद्धार कार्य जारी रहेको घोट्कीका एसएसपी उमर तुफैलले डनलाई बताएका छन् ।

घोट्कीका उपआयुक्त उस्मान अब्दुल्लाहले दुर्घटनामा ३० जनाको मृत्यु भएको र करिब ५० जना घाइते भएको बताएका छन् । जियो न्युजसँगको कुराकानीमा उनले कम्तीमा पनि १३ वटा डिब्बा लिकबाट पल्टिएको बताएका छन् ।

प्रकाशित : जेष्ठ २४, २०७८ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्

बर्खास्तीपछि मन्त्री क्‍वार्टरबाट मोटरसाइकलमा घर फर्किए सोनल

सन्तोष सिंह

धनुषा — प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री पदबाट पदमुक्त भएका जितेन्द्र सोनल मोटरसाइकल चढेर मधेस भवनबाट बाहिरिएका छन् । 

आइतबार राति पदमुक्त भएपछि कर्मचारी, नागरिक समाज र प्रदेश सरकारलाई धन्यवाद दिँदै आफूले प्रयोग गर्दै आएको सावरी साधन सरकारलाई बुझाएर मोटरसाइकलमा झोला बोेकेर मन्त्री निवासबाट बाहिरिएका हुन् ।

‘राजनीतिक यात्राका क्रममा सरकार पिपल चौतारीको छहारी हो,’ घर फर्किने क्रममा सोनलले भने, ‘सरकारमा सवा तीन वर्ष बस्ने मौका प्राप्त भयो । यस अवधिमा तीन दिन पनि अराम गरिनँ । प्रदेश र जनताको सेवामा तल्लीन भएँ ।’

मन्त्री पदबाट हटे पनि प्रदेशको विकासका लागि सक्रिय रहने उनले बताए । भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारीमा रहँदा सडक र सिंचाइ क्षेत्रमा प्रदेशले फड्को मारेको उनले दावी गरे ।

मन्त्री सोनलले ‘खेत खेतमा पानी, हात हातमा काम’, ‘जहाँ सडक, त्यहीँ विकास’ जस्ता अभियान चलाएका थिए ।

मुख्यमन्त्री लालबाबु राउतले आइतबार साँझ भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलसहित ४ जनलाई पदमुक्त गरेका थिए । सोनलसहित भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा, समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डललाई पदमुक्त गरेको हो ।

भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री आफैले लिएका छन् । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पार्टीको एक पक्ष केन्द्र सरकारमा सहभागी भएपछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकार पुनर्गठनको तयारीमा जुटेका छन् । अध्यक्ष यादवले मुख्यमन्त्री राउतकै नेतृत्वमा नयाँ सरकार बनाउन नेपाली काग्रेस र माओवादी केन्द्रसँग छलफल अगाडि बढाएका छन् ।

प्रकाशित : जेष्ठ २४, २०७८ ०९:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×