कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

सर्तसहित अन्तर्राष्ट्रिय पर्यटकका लागि फ्रान्स खुला गर्ने घोषणा

ददि सापकोटा

पेरिस — फ्रान्सले स्वास्थ्य सतर्कताका लागि विभिन्न सर्तहरुसहित अन्तर्राष्ट्रिय पर्यटकका लागि आफ्नो देश जुन ९ देखि खुला गर्ने घोषणा गरेको छ ।

सर्तसहित अन्तर्राष्ट्रिय पर्यटकका लागि फ्रान्स खुला गर्ने घोषणा

यो निर्णयपछि खोप लगाउनेका लागि युरोपमा कोरोना भाइरस परीक्षणको आवश्यकता हटाउने निर्णय समेत गरेको छ । अमेरिकालगायत विश्वका धेरैजसो ठाउँबाट खोप लगाइएको प्रमाण बुझाउन सक्ने पर्यटकलाई सहजै भित्रिन दिइने छ । तर कोरोना भाइरस परीक्षणको नकारात्मक रिपोर्ट भने देखाउनुपर्ने छ ।

यस्तै कोरोना भाइरसका विभिन्न संस्करणसित कडा संघर्ष गरिरहेका ब्राजिल, भारत, दक्षिण अफ्रिका, बंगलादेश, उरुग्वे जस्ता देशहरूबाट आएका पर्यटकहरूले भने उनीहरूको भ्रमणका लागि बाध्यकारी कारण देखाउनुपर्ने छ । फ्रान्सले कडा नियम र सर्तको पालना गर्नुपर्ने भन्दै भारत, ब्राजिल, दक्षिण अफ्रिकासहित १६ देशलाई रातो सूचीमा राखेको छ ।

युरोप बाहिरका मुलुकका लागि फ्रान्स सरकारले जारी गरेको नयाँ यात्रा नियममा विश्वका बाँकी भागहरू सुन्तला रङमा वर्गीकृत गरेको छ । यसको अर्थ युरोप बाहिरबाट आउनेसित सतर्कता अपनाउनुपर्ने भन्ने हो ।

संयुक्त राज्य अमेरिका र बेलायत लगायत 'सुन्तला रङ' को सूचीमा राखिएका देशहरूबाट खोप लगाएर आएका आगन्तुकहरूले अब फ्रान्स ओर्लिएपछि क्वारनटाइनमा बस्नुपर्दैन । र, तिनले फ्रान्स भ्रमणको कारणहरूको औचित्यपनि प्रमाणित गर्नुपर्दैन । यद्यपि तिनीहरूसित ७२ घण्टाको नेगेटिभ पीसीआर परीक्षणको प्रमाण खोजिने छ । अथवा ४८ घण्टा भित्रको नकारात्मक एन्टिजेन परीक्षण माग गरिने छ ।

युरोपेली आगन्तुक र अन्य सात देशबाट आउनेलाई हरियो श्रेणीमा विभाजित गरिएको छ । अस्ट्रेलिया, दक्षिण कोरिया, इजरायल, जापान, लेबनान, न्युजिल्याण्ड र सिंगापुरमा खोप लगाएका नागरिकले अब फ्रान्स ओर्लिँदा परीक्षणको आवश्यकता पर्दैन ।

पर्यटकका लागि खुकुलो पारिएका नियमहरूले फ्रान्सको पर्यटन क्षेत्रका लागि ठूलो राहत दिने पर्यटन मन्त्रालयले उल्लेख गरेको छ ।

प्रकाशित : जेष्ठ २३, २०७८ १७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?