इजरायली सत्ताबाट बाहिरिने भए नेतान्याहु, बेनेट नयाँ प्रधानमन्त्री बन्दै
काठमाडौँ — इजरायलमा विपक्षी गठबन्धनबीच नयाँ सरकार बनाउने विषयमा सहमति जुटेको छ । वर्तमान प्रधानमन्त्री बेन्यामिन नेतान्याहुको विपक्षीमा रहेका ८ वटा पार्टीबीच नयाँ सरकार बनाउने विषयमा सहमति जुटेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
योसँगै १२ वर्षदेखि इजरायलको सत्तामा रहेका नेतान्याहु बाहिरिने पक्का भएको छ ।
सहमतिअनुसार दक्षिणपन्थी यामिना पार्टीका नेता नेफ्टाली बेनेट र येश यटिड पार्टीका नेता येर लेपिडले आलोपालो सरकारको नेतृत्व गर्नेछन् । बेनेट सन् २०२३ सम्म प्रधानमन्त्री बन्नेछन् भने मध्यमार्गी येश एटिड पार्टीका नेता लेपिड सन् २०२३ को अगस्टदेखि सरकारको नेतृत्वमा हुनेछन् ।
गत मार्चमा भएको चुनावमा इजरायलमा नेतान्याहुको लिकुड पार्टीसहित कुनै पनि दलले बहुमत प्राप्त गर्न सकेका थिएनन् । कसैलाई बहुमत प्राप्त नभएपछि लिकुड पार्टीलाई जुन २ सम्म बहमुत सावित गर्न आह्वान भएको थियो । तर नेतान्याहुले उक्त समयसीमाभित्र बहुमत जुटाउन सकेनन् । इजरायलमा कुनै पनि पार्टीले बहुमत प्राप्त नगरेका कारण गत दुई वर्षमा चार पटक चुनाव भइसकेको छ ।
१२० सिट रहेको इजरायली संसद्मा सरकार गठनका लागि ६१ सिट आवश्यक पर्छ । यदि यस पटक पनि कसैले बहुमत प्राप्त नगरेको भए इजरायलमा दुई वर्षमा ५औं पटक आम चुनाव हुन्थ्यो ।
राष्ट्रपति रुवेन रिवलिनले तत्काल संसद्को अधिवेशन बोलाएर विश्वासको मत लिने काम अघि बढाउन संसद्लाई आग्रह गरेका छन् ।
इजरायलको नयाँ गठबन्धनमा वैचारिक हिसाबले विपरीत प्रकारका पार्टी सामेल छन् । तर उनीहरुले नेतान्याहुको शासन अन्त्य गर्नका लागि एक ठाउँमा उभिएको बताएका छन् । नयाँ गठबन्धनमा दक्षिणपन्थी, वामपन्थी र मध्यमार्गी धारका पार्टी समावेश छन् ।
प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले भने गठबन्धन सरकार बनाउने प्रयासलाई ‘शताब्दीकै सबैभन्दा ठूलो छल’ भनेका छन् । नयाँ सरकार बनेमा इजरायलको सुरक्षा र भविष्य नै खतरामा पर्ने उनको भनाइ छन् । ७१ वर्षीय नेतान्याहु इजरायलमा सबैभन्दा लामो समय सत्तामा रहने नेता हुन् । पछिल्लो एक दशकदेखि इजरायली राजनीतिमा उनकै मात्र दबदबा थियो । तर उनीमाथि भ्रष्टाचार र चुनावमा धाँधली गरेको आरोप भने लाग्दै आएको छ ।
निसेटमा नेतान्याहुको लिकुड पार्टीको ३० सिट रहेको छ भने दोस्रो ठूलो पार्टी येश एटिडको १७ सिट रहेको छ । विश्वासको मत लिँदासम्म सबै दल एकजुट भए उनीहरुको पंक्षमा बहुमत ६२ सांसद हुनेछन् ।
गठबन्धनमा रहेका ८ दलको संसद्मा यस्तो छ उपस्थिति
येश एटिड पार्टी – १७
काहोल लाव्लान – ८
इजरायल बेइतेनु – ७
लेबर पार्टी – ७
यामिना – ७
न्यु होप – ६
मेरेज – ६
राम – ४
प्रकाशित : जेष्ठ २०, २०७८ १०:१६