चिनियाँ सहयोगमा पाकिस्तानमै तयार भयो कोरोना खोप ‘पाकभ्याक’

इकान्तिपुर डेस्क

काठमाडौँ — पाकिस्तानले चिनियाँ सहयोगमा मुलुकभित्र कोरोना भाइरसविरुद्धको खोप उत्पादन गरेको छ । पाकिस्तानले चिनियाँ औषधि निर्माता कम्पनी क्यान्सिनोको सहयोगमा ‘पाकभ्याक’ उत्पादन गरेको हो । 

चिनियाँ सहयोगमा पाकिस्तानमै तयार भयो कोरोना खोप ‘पाकभ्याक’

मंगलबार इस्लामाबादमा आयोजित एक समारोहमा योजना, विकास तथा विशेष पहलसम्बन्धी केन्द्रीय मन्त्री असद उमरले सार्वजनिक गरेका हुन् । पाकिस्तानी स्वास्थ्य टिम र चीनलाई धन्यवाद दिँदै पाकिस्तानका लागि यो कुनै क्रान्तिभन्दा कम नभएको बताएका छन् । पाकिस्तानमा कोरोना खोप लगाउनेहरुको पहिलो रोजाइ चीनमा बनेको सिनोफार्म भएको पनि उनले बताए ।

त्यस्तै प्रधानमन्त्री इमरान खानका स्वास्थ्य सल्लाहकार डाक्टर फैसल सुल्तानले पनि कठिन चुनौतीलाई अवसरमा रुपान्तरण गर्न आफूहरुले सफल भएको बताए । कोरोना महामारी रोकथाम र नियन्त्रणमा चीनले धेरै सहयोग गरेको उनको भनाइ थियो । ‘चीनले कच्चा पदार्थ दिएको हा तर त्यसका बाबजुद पनि यसको विकास गर्न सहज भने थिएन,’ उनले भने । उनका अनुसार केही दिनमै पाकिस्तानमा ठूलो परिमाणमा कोरोना खोप उत्पादन सुरु हुनेछ ।

पाकिस्तानी सञ्चारमाध्यम डनका अनुसार क्यान्सिनोले विकास गरेको खोपको ‘कन्सनट्रेटेड रुप’ पाकिस्तान ल्याएर इस्लामाबादस्थित नेसनल इन्स्टिच्युट अफ हेल्थ(एनआईएच) मा प्याकेजिङ गरिन्छ । क्यान्सिनो कोरोनाविरुद्धको चीनको पहिलो खोप हो । जसको चिकित्सकीय परीक्षण पाकिस्तानमा गरिएको थियो । करिब १८ हजार नागरिकमा यसको परीक्षण गरिएको बताइएको छ । पाकिस्तानमा गरिएको परीक्षणको नतिजाअनुसार उक्त खोपले ६५.७० प्रतिशतलाई संक्रमण रोक्ने र ९०.९८ प्रतिशतलाई गम्भीर हुनबाट बचाउने बताइएको थियो ।

पाकिस्तानमा केही दिनयता संक्रमण पनि घटिरहेको छ । पछिल्ला दुई दिनमा पाकिस्तानमा २ हजारभन्दा कममा संक्रमण पुष्टि भएको छ । पाकिस्तानमा अहिलेसम्म करिब ९ लाख २२ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २० हजार ९ सय ३० जनाको मृत्यु भइएको छ ।

प्रकाशित : जेष्ठ १९, २०७८ १४:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?