इजरायललाई ७३५ मिलियन डलर बराबरको हतियार बेच्दै अमेरिका

इकान्तिपुर डेस्क

काठमाडौँ — अमेरिकाले इजरायललाई ७३५ मिलियन अमेरिकी डलर(करिब ८६ अर्ब नेपाली) रुपैयाँ बराबरको हतियार बेच्ने भएको छ । इजरायल र प्यालेस्टाइनबीच हिंसात्मक संघर्ष जारी रहेका बेला बाइडेन प्रशासनले इजरायललाई ठूलो परिमाणमा हतियार बेच्न लागेको समाचार सार्वजनिक भएको हो । 

इजरायललाई ७३५ मिलियन डलर बराबरको हतियार बेच्दै अमेरिका

वासिङ्टन पोस्टले बाइडेन प्रशासनले इजरायललाई हतियार बेच्ने प्रस्तावलाई स्वीकृति दिएको समाचार प्रकाशित गरेको छ ।

गाजा क्षेत्रमा द्वन्द्व चर्किरहेको समय भए पनि अमेरिकी संसद्मा उक्त प्रस्ताव पास हुने अपेक्षा गरिएको छ । रोयर्टसले अमेरिकी संसद्को उच्च स्रोतलाई उद्धृत गर्दै मे ५ मा इजरायललाई हतियार बेच्न प्रस्तावबारे सूचित गरिएको बताएको छ । अमेरिकाले इजरायललाई हतियार बेच्ने भन्ने समाचार सबैभन्दा पहिले वासिङ्टन पोस्टले प्रकाशित गरेको हो । औपचारिक रुपमा सूचित गर्नुभन्दा पहिले अप्रिलमै अमेरिकी कंग्रेसलाई इजरायललाई हतियार बेच्ने योजनाबारे जानकारी गराइएको थियो ।

अमेरिकाले इजरायललाई ज्वाइन्ट डिरेक्ट अट्याक म्युनिसन्स(जेडीएमएमए) बिक्री गर्न लागेको पनि रोयटर्स र वासिङ्टन पोस्टले बताएका छन् । उक्त हतियार बोइङले बनाएको हो । जेएडीएम बम फिट गरेर प्रहार गर्न मिल्ने हतियार हो । यसमा २२७ देखि ९०७ किलोसम्म बम फिट गर्न सकिन्छ । इजरायली सेनाले गाजा क्षेत्रमा आक्रमण गर्न यस प्रकारका हतियार ठूलो परिमाणमा किनेको छ ।

बोइङले निर्माण गरेको ज्वाइन्ट डिरेक्ट अट्याक म्युनिसन्स । स्केच : एयरफोर्स म्यागजिन डट कम

अहिलेसम्म इजरायललाई हतियार बेच्ने प्रस्तावमा डेमोक्रेटिक र रिपब्लिकन दुवै पार्टीका नेताहरुले कुनै आपत्ति जनाएका छैनन् । अमेरिकी सदनले हतियार बिक्रीको प्रस्तावलाई रोक लगाउन सक्नेछ । तर यस पटक भने रोक लगाउने सम्भावना कम भएको बताइएको छ ।

गाजा क्षेत्रमा द्वन्द्व चर्किएको दोस्रो हप्ता सुरु भइसकेको छ, तर तत्काल अन्त्य हुने भने संकेत देखिएको छैन । अहिलेसम्म प्यालेस्टाइनतर्फ ६१ बालबालिकासहित २ सय १२ जनाको मृत्यु भएको छ भने २ बालबालिकासहित १० जना इजरायलीको मृत्यु भएको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र प्यालेस्टाइनलाई संघर्षविराम गर्न आग्रह गरेका छन् । हमास र इजरायली सेनाबीच हिंसात्मक द्वन्द्व चर्किएको ८ दिनपछि बाइडेनले संघर्षविरामका लागि आफूले पहल गरिरहेको बताएका हुन् ।

सम्बन्धित समाचार

इजरायल-प्यालेस्टाइन द्वन्द्व : संघर्षविराम गर्न अमेरिकी राष्ट्रपति बाइडेनको आग्रह

प्रकाशित : जेष्ठ ४, २०७८ ११:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?