इजरायल-प्यालेस्टाइन द्वन्द्व : संघर्षविराम गर्न अमेरिकी राष्ट्रपति बाइडेनको आग्रह

इकान्तिपुर डेस्क

काठमाडौँ — अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र प्यालेस्टाइनलाई संघर्षविराम गर्न आग्रह गरेका छन् । हमास र इजरायली सेनाबीच हिंसात्मक द्वन्द्व चर्किएको ८ दिनपछि बाइडेनले संघर्षविरामका लागि आफूले पहल गरिरहेको बताएका हुन् । 

इजरायल-प्यालेस्टाइन द्वन्द्व : संघर्षविराम गर्न अमेरिकी राष्ट्रपति बाइडेनको आग्रह

अमेरिकी राष्ट्रपति बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई फोन गरेर अमेरिकाले इजिप्टलगायतका मुलुकसँग मिलेर जारी द्वन्द्व कम गर्न प्रयासरत रहेको बताएको बीबीसीले उल्लेख गरेको छ ।

तर संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्मा हिंसा बन्द गर्न आह्वान गरिएको संयुक्त वक्तव्य जारी गर्न भने अमेरिका मानिरहेको छैन ।

द्वन्द्व चर्किएको दोस्रो हप्ता सुरु भइसकेको छ, तर तत्काल अन्त्य हुने भने संकेत देखिएको छैन । अहिलेसम्म प्यालेस्टाइनतर्फ ६१ बालबालिकासहित २ सय १२ जनाको मृत्यु भएको छ भने २ बालबालिकासहित १० जना इजरायलीको मृत्यु भएको छ ।

इजरायलले गाजामा मारिएकामध्ये अधिकांश हमास विद्रोहीसँग आबद्ध भएको दाबी गरेको छ । तर अन्तर्राष्ट्रिय संघसंस्थाका स्वतन्त्र रिपोर्टमा भने इजरायली सेनाको आक्रमणमा सर्वसाधारण पनि मारिएको बताइएको छ ।

ह्वाइट हाउसबाट जारी विज्ञप्तिमा राष्ट्रपति बाइडेनले निर्दोष सर्वसाधारणको सुरक्षाको सुनिश्चित गर्न इजरायललाई आग्रह गरेका छन् । त्यस्तै बेलायतका प्रधामन्त्री बोरिस जोन्सनका प्रवक्ताले पनि वक्तव्य जारी गर्दै सर्वसाधारणलाई लक्षित गरी आक्रमण नगर्न आग्रह गरेका छन् ।

गाजामा इजरायली सेनाको हवाई आक्रमणपछि देखिएको दृश्य तस्बिर : रोयटर्स

जर्मन चान्सलर एन्जेला मर्केलले नेतान्याहुलाई फोन गरेर द्वन्द्व अन्त्यका लागि पहल गर्न अनुरोध गरेकी छिन् । त्यस्तै फ्रान्स र इजिप्टले पनि जारी द्वन्द्व तत्काल अन्त्य गर्न दुवै पक्षलाई अनुरोध गरेका छन् ।

त्यस्तै संयुक्त राष्ट्र संघले गाजामा ४० वटा विद्यालय र चार वटा अस्पतालमा ‘पूर्ण वा आंशिक रुपमा क्षति पुगेको’ बताएको छ । विश्व स्वास्थ्य संगठनका आपत्कालीन विभागका प्रमुख डा. माइक र्‍यानले स्वास्थ्य संस्थामा भइरहेको आक्रमण तत्कालन बन्द गर्न आग्रह गरेका छन् ।

गाजा क्षेत्रमा सोमबारदेखि भड्किएको हिंसा सन् २०१४ यताकै गम्भीर हो । यसको सुरुवात पूर्वी जेरुसेलममा गत शुक्रबार अल मक्सा मस्जिदनजिक भएको झडपबाट सुरु भएको हो । त्यसको तीन दिनपछि सोमबारदेखि भने दुवै पक्षबाट रकेट र मिसाइल हमला भइरहेको छ ।

पछिल्ला केही दिनदेखि जेरुसेलममा हिंसा भड्किइरहेको थियो । जेरुसेलमस्थित अल अक्सा मस्जिदमा जान प्रतिबन्ध लगाइएपछि प्यालेस्टाइनका नागरिक क्रुद्ध भएका थिए । यो मस्जिदलाई इस्लाममा तेस्रो पवित्र स्थान मानिन्छ । यो यहुदीहरुको पनि पवित्र धार्मिक स्थलमा रुपमा रहेको छ ।

इजरायलमा रहेका नेपालीलाई दूतावासको आग्रह : साइरन बज्नासाथ सुरक्षित स्थानमा जानुहोस्

प्यालेस्टाइन रेड क्रेसेन्ट सोसाइटीका अनुसार इजरायली प्रहरीसँगको झडपमा ३ सयभन्दा बढी घाइते भएका थिए । सोमबार ‘जेरुसेलम दिवस’ मनाइरहँदा हिंसा भड्किएको हो । सन् १९६७ को अरब–इजरायल युद्धपछि पूर्वी जेरुसेलममाथि कब्जा गरिएको सम्झनामा सोमबार जेरुसेलम दिवस मनाइएको थियो ।

हमासले अल अक्सा र शेख जराह मस्जिदबाट प्रहरी हटाउन पहिलेदेखि नै इजरायलसँग आग्रह गर्दै आएको थियो । उसले दिएको समयसीमा सकिएपछि रकेट प्रहार गरेको बताएको छ ।

सन् १९६७ को मध्यपूर्वको युद्धपछि इजरायलले पूर्वी जेरुसेलममाथि कब्जा गरेको थियो । त्यसपछि उसले पूरा जेरुसेलमलाई आफ्नो राजधानी दाबी गर्दै आएको छ । तर अन्तर्राष्ट्रिय समुदायले यसलाई मान्दैन । प्यालेस्टाइनले भने पूर्वी जेरुसेलमलाई भविष्यको एक सार्वभौम र स्वतन्त्र मुलुकको राजधानीका रुपमा लिँदै आएको छ ।

यही विषयमा प्यालेस्टाइन र इजरायलबीच विवाद रहँदै आएको छ भने पटक–पटक यसले युद्धको रुप लिएको छ । सन् २०१४ को जुलाईदेखि अगस्टको बीचमा भएको द्वन्द्वमा २२५१ प्यालेस्टाइनी मारिएका थिए । तीमध्ये १४६२ त सर्वसाधारण नै थिए । त्यस्तै इजरायलका ६ सर्वसाधारणसहित ६७ जना सैनिक मारिएका थिए ।

सम्बन्धित समाचार

प्रकाशित : जेष्ठ ४, २०७८ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?