कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

इजरायली सेनाको हवाई आक्रमणमा आइतबार मात्र ४२ प्यालेस्टिनी मारिए

अहिलेसम्म १८८ प्यालेस्टिनी र १० इजरायली नागरिकको मृत्यु
इकान्तिपुर डेस्क

काठमाडौँ — प्यालेस्टिनी अधिकारीले आइतबार गाजा क्षेत्रमा इजरायली सेनाको हवाई आक्रमणमा परी ४० भन्दा बढीको मृत्यु भएको जनाएका छन् ।

इजरायली सेनाको हवाई आक्रमणमा आइतबार मात्र ४२ प्यालेस्टिनी मारिए

गत सोमबार रातिदेखि सुरु भएको हिंसात्मक द्वन्द्वमा आइतबार एकैदिन धेरैको मृत्यु भएको हो । गाजाका अधिकारीहरुक अनुसार आइतबार त्यस क्षेत्रमा इजरायली सेनाको हवाई आक्रमणमा परी १६ जना महिला र १० जना बालबालिकासहित ४२ जनाको मृत्यु भएको छ ।

सोमबारयता इजरायलमा दुई जना बालबालिकासहित १० जनाको मृत्यु भएको छ । त्यस्तै गाजामा अहिलेसम्म ५५ बालबालिका र ३३ महिलासहित १ सय ८८ जनाको मत्यु भएको बीबीसीले जनाएको छ । त्यस्तै गाजा क्षेत्रमा १ हजार २ सयभन्दा बढी घाइते भएका छन् ।

इजरायली सेनाले भने प्यालेस्टाइनतर्फबाट अहिलेसम्म ३ हजार रकेट प्रहार भएको जनाएको छ । संयुक्त राष्ट्र संघका एन्टोनियो गुटेरेसले दुवै पक्षलाई तत्काल टकराव अन्त्य गर्न आग्रह गरेका छन् । हिंसालाई जारी राखे मध्यपूर्व क्षेत्रमा ठूलो संकट आउने पनि उनको भनाइ छ ।

राष्ट्र संघले गाजा क्षेत्रमा इन्धनको संकटले अस्पतालहरुमा समस्या उत्पन्न हुने पनि बताएको छ ।

इजरायलमा रहेका नेपालीलाई दूतावासको आग्रह : साइरन बज्नासाथ सुरक्षित स्थानमा जानुहोस्

गाजा क्षेत्रमा सोमबारदेखि भड्किएको हिंसा सन् २०१४ यताकै गम्भीर हो । यसको सुरुवात पूर्वी जेरुसेलममा गत शुक्रबार अल मक्सा मस्जिदनजिक भएको झडपबाट सुरु भएको हो । त्यसको तीन दिनपछि सोमबारदेखि भने दुवै पक्षबाट रकेट र मिसाइल हमला भइरहेको छ ।

पछिल्ला केही दिनदेखि जेरुसेलममा हिंसा भड्किइरहेको थियो । जेरुसेलमस्थित अल अक्सा मस्जिदमा जान प्रतिबन्ध लगाइएपछि प्यालेस्टाइनका नागरिक क्रुद्ध भएका थिए । यो मस्जिदलाई इस्लाममा तेस्रो पवित्र स्थान मानिन्छ । यो यहुदीहरुको पनि पवित्र धार्मिक स्थलमा रुपमा रहेको छ ।

प्यालेस्टाइन रेड क्रेसेन्ट सोसाइटीका अनुसार इजरायली प्रहरीसँगको झडपमा ३ सयभन्दा बढी घाइते भएका थिए । सोमबार ‘जेरुसेलम दिवस’ मनाइरहँदा हिंसा भड्किएको हो । सन् १९६७ को अरब–इजरायल युद्धपछि पूर्वी जेरुसेलममाथि कब्जा गरिएको सम्झनामा सोमबार जेरुसेलम दिवस मनाइएको थियो ।

हमासले अल अक्सा र शेख जराह मस्जिदबाट प्रहरी हटाउन पहिलेदेखि नै इजरायलसँग आग्रह गर्दै आएको थियो । उसले दिएको समयसीमा सकिएपछि रकेट प्रहार गरेको बताएको छ ।

सन् १९६७ को मध्यपूर्वको युद्धपछि इजरायलले पूर्वी जेरुसेलममाथि कब्जा गरेको थियो । त्यसपछि उसले पूरा जेरुसेलमलाई आफ्नो राजधानी दाबी गर्दै आएको छ । तर अन्तर्राष्ट्रिय समुदायले यसलाई मान्दैन । प्यालेस्टाइनले भने पूर्वी जेरुसेलमलाई भविष्यको एक सार्वभौम र स्वतन्त्र मुलुकको राजधानीका रुपमा लिँदै आएको छ ।

यही विषयमा प्यालेस्टाइन र इजरायलबीच विवाद रहँदै आएको छ भने पटक–पटक यसले युद्धको रुप लिएको छ । सन् २०१४ को जुलाईदेखि अगस्टको बीचमा भएको द्वन्द्वमा २२५१ प्यालेस्टाइनी मारिएका थिए । तीमध्ये १४६२ त सर्वसाधारण नै थिए । त्यस्तै इजरायलका ६ सर्वसाधारणसहित ६७ जना सैनिक मारिएका थिए ।

सम्बन्धित समाचार

प्रकाशित : जेष्ठ ३, २०७८ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?