इजरायल-प्यालेस्टाइन द्वन्द्व : अहिलेसम्म १०० भन्दा बढी प्यालेस्टिनी र ७ इजरायली नागरिकको मृत्यु- विश्व - कान्तिपुर समाचार

इजरायल-प्यालेस्टाइन द्वन्द्व : अहिलेसम्म १०० भन्दा बढी प्यालेस्टिनी र ७ इजरायली नागरिकको मृत्यु

सीमामा इजरायलद्वारा ठूलो संख्यामा सैन्य बल तैनाथ
कान्तिपुर संवाददाता

काठमाडौँ — प्यालेस्टाइनसँगको टकराव बढ्दै जाँदा इजरायले गाजास्थित सीमा क्षेत्रमा ठूलो संख्यामा सैन्य बल तैनाथ गरेको छ । सोमबारदेखि जारी संघर्षमा दुवै पक्षबाट हवाई आक्रमण भइरहेका बेला सीमामा इजरायलले सेना तैनाथ गरेको हो ।

गाजातर्फबाट प्रहार गरिएका रकेटलाई निष्प्रभावी बनाउँदै इजरायलको डोम एन्टिमिसाइल सिस्टम तस्बिर : रोयटर्स

इजरायलले अब जमिनबाट पनि प्यालेस्टिनी विद्रोही संगठन हमासमाथि कारबाही गर्ने योजना बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सीमामा इजरायली सेनाले बख्तरबन्ध गाडी र ठूलो मात्रामा हतियारहरु ल्याएको छ । सेनाले कम्तीमा पनि ७ हजार रिजर्भ सैनिकलाई सीमामा बोलाएको बताइएको छ ।

बीबीसीका अनुसार सोमबार रातिदेखि सुरु भएको दोहोरो आक्रमणमा परी १ सयभन्दा बढीको मृत्यु भएको छ । प्यालेस्टाइनतर्फ २७ जना बालबालिकासहित १ सयभन्दा बढी र ७ जना इजरायली आक्रमणमा मारिएका छन् ।

पुटिनलाई एर्दोआनको फोन : अन्तर्राष्ट्रिय समुदायले इजरायललाई कडा पाठ सिकाउन आवश्यक

यसैबीच इजरायलकै विभिन्न ठाउँमा यहुदी र अरब समुदायबीच झडप भइरहेको छ । इजरायलका रक्षामन्त्री बेनी ग्यान्ट्ज शान्ति स्थापनाका लागि सुरक्षा व्यवस्था चुस्त र कडा पार्न निर्देशन दिएका छन् । अहिलेसम्म हिंसामा संलग्न ४ सयभन्दा बढीलाई पक्राउ गरिएको पनि बताइएको छ ।

गाजा र इजरायलमा सोमबारदेखि भड्किएको हिंसा सन् २०१४ यताकै गम्भीर हो । यसको सुरुवाती पूर्वी जेरुसेलममा गत शुक्रबार अल मक्सा मस्जिदनजिक भएको झडपबाट सुरु भएको हो । त्यसको तीन दिनपछि सोमबारदेखि भने दुवै पक्षबाट रकेट र मिसाइल हमला भइरहेको छ ।

इजरायलमा रहेका नेपालीलाई दूतावासको आग्रह : साइरन बज्नासाथ सुरक्षित स्थानमा जानुहोस्

पछिल्ला केही दिनदेखि जेरुसेलममा हिंसा भड्किइरहेको थियो । जेरुसेलमस्थित अल अक्सा मस्जिदमा जान प्रतिबन्ध लगाइएपछि प्यालेस्टाइनका नागरिक क्रुद्ध भएका थिए । यो मस्जिदलाई इस्लाममा तेस्रो पवित्र स्थान मानिन्छ । यो यहुदीहरुको पनि पवित्र धार्मिक स्थलमा रुपमा रहेको छ ।

गाजास्थित सीमा क्षेत्रमा हतियारसहित तैनाथ भएका इजरायली सैनिक तस्बिर : रोयटर्स

प्यालेस्टाइन रेड क्रेसेन्ट सोसाइटीका अनुसार इजरायली प्रहरीसँगको झडपमा ३ सयभन्दा बढी घाइते भएका थिए । सोमबार ‘जेरुसेलम दिवस’ मनाइरहँदा हिंसा भड्किएको हो । सन् १९६७ को अरब–इजरायल युद्धपछि पूर्वी जेरुसेलममाथि कब्जा गरिएको सम्झनामा सोमबार जेरुसेलम दिवस मनाइएको थियो ।

हमासले अल अक्सा र शेख जराह मस्जिदबाट प्रहरी हटाउन पहिलेदेखि नै इजरायलसँग आग्रह गर्दै आएको थियो । उसले दिएको समयसीमा सकिएपछि रकेट प्रहार गरेको बताएको छ ।

सन् १९६७ को मध्यपूर्वको युद्धपछि इजरायलले पूर्वी जेरुसेलममाथि कब्जा गरेको थियो । त्यसपछि उसले पूरा जेरुसेलमलाई आफ्नो राजधानी दाबी गर्दै आएको छ । तर अन्तर्राष्ट्रिय समुदायले यसलाई मान्दैन । प्यालेस्टाइनले भने पूर्वी जेरुसेलमलाई भविष्यको एक सार्वभौम र स्वतन्त्र मुलुकको राजधानीका रुपमा लिँदै आएको छ ।

यही विषयमा प्यालेस्टाइन र इजरायलबीच विवाद रहँदै आएको छ भने पटक–पटक यसले युद्धको रुप लिएको छ । सन् २०१४ को जुलाईदेखि अगस्टको बीचमा भएको द्वन्द्वमा २२५१ प्यालेस्टाइनी मारिएका थिए । तीमध्ये १४६२ त सर्वसाधारण नै थिए । त्यस्तै इजरायलका ६ सर्वसाधारणसहित ६७ जना सैनिक मारिएका थिए ।

सम्बन्धित समाचार

इजरायल-प्यालेस्टाइन द्वन्द्व झन् चर्कियो

इजरायली सेना र हमासबीच आक्रमण जारी

इजरायल र प्यालेस्टाइनबीच फेरि द्वन्द्व चर्कियो : ९ बालबालिकासहित कम्तीमा २० जना मारिए

प्रकाशित : वैशाख ३१, २०७८ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्

अक्सिजनका लागि हारालुछ

‘बिरामीको चाप बढ्दै छ, अक्सिजन झन्झन् घट्दै छ’
भवानी भट्ट

कञ्चनपुर — महाकाली अस्पतालमा बुधबार दिनभरि अक्सिजनको हाहाकार भयो । अस्पतालकै प्लान्टबाट जेनतेन बिरामीलाई उपलब्ध गराइयो । साँझ २० सिलिन्डर अक्सिजन आउँदा बिरामीका आफन्तबीच हारालुछ नै भयो ।

त्यसपछि फेरि उस्तै अवस्था । बिहीबार साँझसम्म फेरि साँझ ५० सिलिन्डर अक्सिजन आएपछि फेरि बिरामीका आफन्तबीच हारालुछ चल्यो । ‘केही दिनदेखि यस्तै चलिरहेको छ,’ अस्पतालका कोभिड १९ फोकल पर्सन डा. गोविन्द रोकायाले भने, ‘अहिलेसम्म त जेनतेन धानिएकै छ, अलि अलि गरेर पुर्‍याएकै छौं ।’ उनका अनुसार बिरामीलाई आवश्यकताभन्दा पनि निकै कम अक्सिजन दिएर जोगाउनुपरेको छ । १० लिटर अक्सिजन आवश्यक भएकालाई ४/५ लिटर मात्रै दिइरहेको उनले बताए ।

कतैबाट अक्सिजन नआएको अवस्थामा अस्पतालकै प्लान्टबाट सिलिन्डरहरूमा अलिअलि भरेर बिरामीलाई दिने गरिएको डा. रोकायाले बताए । अहिले अस्पतालमा ८० बिरामी छन् । आईसीयूका ६ बेड र एचडीयूका १५ बेड सबै भरिभराउ छन् । ५० बेडको आइसोलेसन वार्ड पनि भरिएकै छ । इमर्जेन्सी वार्डमा समेत बिरामीको चाप अत्यधिक छ ।

अस्पतालमा अहिले दैनिक सय सिलिन्डरभन्दा बढी अक्सिजन आवश्यक पर्छ । तर बुधबार र बिहीबार जम्मा ७० सिलिन्डर मात्रै उपलब्ध भएको छ । धनगढी र नेपालगन्जबाटै अक्सिजन प्राप्त हुन नसकेपछि अभाव चर्किएको हो । धनगढीको प्लान्ट बिग्रेको र नेपालगन्जमा पनि माग बढी भएका कारण आवश्यकताअनुसार उपलब्ध हुन नसकेको अस्पतालले जनाएको छ । ‘बिरामीको चाप बढ्दै छ, अक्सिजन झन्झन् घट्दै छ,’ महाकाली अस्पताल विकास समितिका अध्यक्ष कृष्णदत्त जोशीले भने, ‘केही दिनदेखि त हाहाकार नै हुन थालेको छ ।’ उनका अनुसार अस्पतालमा खाली सिलिन्डर पनि थोरै भएका कारण झनै समस्या भएको हो । अहिले खाली सिलिन्डर सय मात्रै छन् । सबै एकैपटक भर्न सकिँदैन । आधाआधा गरेर आपूर्ति भइरहेको थियो । उद्योगहरूबाट कम आपूर्ति हुन थालेपछि ५० सिलिन्डरसमेत पाउन समस्या भएको उनले बताए ।

‘आईसीयूका लागि त हाम्रै प्लान्टले धान्थ्यो,’ जोशीले भने, ‘तर अभाव भएका बेला त्यहाँबाट अन्य बिरामीलाई पनि दिनुपरिरहेको छ ।’ पछिल्लो समय अस्पतालका लागि विभिन्न संघसंस्था र व्यक्तिले पनि अक्सिजन सहयोग गरिरहेका छन् । उनीहरूले पनि अस्पतालकै खाली सिलिन्डर भरेर अक्सिजन उपलब्ध गराइरहेका छन् । ‘हामीलाई कम्तीमा दुई सय खाली सिलिन्डरसम्म उपलब्ध भए रोटेसन मिलाउन सहज हुन्थ्यो,’ जोशीले भने, ‘जति हारगुहार गरे पनि खाली सिलिन्डर पाउनै गाह्रो भएको छ ।’ महाकाली अस्पतालमा ठूलो खालको अक्सिजन प्लान्ट निर्माणको अभियान पनि सुरु भएको छ ।

टीकापुरमा जुट्यो ३० लाख जुट्यो

टीकापुर– अक्सिजन अभाव भएपछि कैलालीको टीकापुरमा स्थानीयस्तरबाटै सञ्चालित अभियानबाट झन्डै ३० लाख रुपैयाँ संकलन भएको छ ।

अक्सिजनका लागि टीकापुर सरोकार समूहले सामाजिक सञ्जालमार्फत सहयोगको अपिल गरेपछि देश–विदेशबाट रकम संकलन भएको हो । आर्थिक स्रोत जुटे पनि अक्सिजन भने पाउन नसकिएको अभियानमा

संलग्न टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारीले बताए । ‘अहिले हामीसित पैसाको कमी छैन तर काम भएन । सरकारले अक्सिजनको कोटा बढाइदिए हुन्थ्यो,’ अध्यक्ष भण्डारीले भने, ‘धन र मन भएकाले सहयोग त गरे तर पैसाको उपयोग हुन सकेन ।’


टीकापुर अस्पतालमा दैनिक कम्तीमा ६५ सिलिन्डर अक्सिजन आवश्यक छ तर, नेपालगन्जबाट टीकापुरका लागि जम्मा ४० सिलिन्डर मात्र रिफिल भइरहेको छ ।

प्रकाशित : वैशाख ३१, २०७८ ०८:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×