१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

अमेरिकामा अब १२ देखि १५ वर्षका बालबालिकालाई पनि कोरोना खोप लगाइने

काठमाडौँ — अमेरिकामा अब १२ देखि १५ वर्षसम्मका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ । 

अमेरिकामा अब १२ देखि १५ वर्षका बालबालिकालाई पनि कोरोना खोप लगाइने

समाचार संस्था रोयटर्सका अनुसार मे १३ देखि उक्त उमेरसमूहका बालबालिकालाई कोरोना खोप लगाउने तयारी गरिएको छ । अमेरिकी नियामक निकाय खाद्य तथा औषधि प्रशासन(एफडीए)ले फाइजर–बायोएनटेकको कोरोना खोप १२–१५ उमेर समूहका बालबालिकालाई लगाउन आपत्कालीन प्रयोगका लागि अनुमति दिएको हो ।

यो उमेर समूहलाई कोरोना खोप लगाउन विश्वमै पहिलो पटक अनुमति दिइएको हो । यो उमेर समूहकालाई कोरोना खोप लगाउन अनुमति दिइनुलाई महत्वपूर्ण कदमका रुपमा हेरिएको छ । कोरोना भाइरस महामारीका कारण करोडौ स्कुले विद्यार्थी घरमै बस्न बाध्य भएका बेला यो अभियानले फेरि उनीहरुलाई विद्यालय जाने वातावरण सिर्जना हुने अपेक्षा गरिएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले सबै राज्य प्रशासनलाई युवा तथा किशोरहरुलाई छिटोभन्दा छिटो खोप लगाउन आग्रह गरेका छन् । ‘यदि तपाईं एक अभिभावक हुनुहुन्छ । जसले आफ्ना छोराछोरीलाई सुरक्षित राख्न चाहनुहुन्छ वा कोही आफै कोरोना खोप लगाउन इच्छुक छ भने आजको फैसला अत्यन्तै आशावादी र महत्वपूर्ण छ,’ राष्ट्रपति बाइडेनले भनेका छन् ।

चिकित्सकीय परीक्षणको सफल परिणाम आएपछि उक्त उमेर समूहका बालबालिकालाई खोप लगाउन आपत्कालीन अनुमति दिइएको हो । परीक्षणमा १२ देखि १५ वर्षका २२६० जना बालबालिका सहभागी भएको पनि रोयटर्सले जनाएको छ ।

अमेरिकामा यसअघि १६ वर्ष र त्यसभन्दा माथिका उमेर समूहलाई कोरोना खोप लगाउन अनुमति दिइएको थियो । अमेरिकामा अहिलेसम्म २६ करोड डोज कोरोना खोप लगाइएको बताइएको छ ।

प्रकाशित : वैशाख २८, २०७८ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?