चिनियाँ कोरोना खोपले डब्लूएचओबाट पायो अनुमति

काठमाडौँ — विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) चीन सरकारको स्वामित्वमा रहेको सिनोफार्मले बनाएको कोरोना खोपलाई आपत्कालीन प्रयोगको अनुमति दिएको छ । डब्लूएचओले युरोप र अमेरिकाबाहिर उत्पादित कोरोना खोपलाई अनुमति दिएको यो पहिलो पटक हो ।

चिनियाँ कोरोना खोपले डब्लूएचओबाट पायो अनुमति

यसअघि डब्लूएचओले फाइजर–बायोएनटेक, अक्सफोर्ड–एस्ट्राजेनेका, जोन्सन एन्ड जोन्सन र मोडर्नाले बनाएको कोरोना खोपलाई अनुमति दिएको थियो ।

सिनोफार्मले उत्पादन गरेको कोरोना खोप भेरोसेल चीनमा लाखौं नागरिकलाई लगाइसकिएको छ । त्यस्तै विभिन्न ल्याटिन अमेरिकी र एसियाली मुलुकले पनि भेरोसेललाई आपत्कालीन प्रयोगको अनुमति दिइसकेका छन् । नेपालको औषधि व्यवस्था विभागले भेरोसेललाई फागुन ५ गते आपत्कालीन प्रयोगका लागि अनुमति दिएको थियो । चीन सरकारले नेपाललाई ८ लाख डोज भेरोसेल सहयोगस्वरुप उपलब्ध गराएको छ ।

चीनमा उत्पादित कोरोना खोपको गुणस्तर र विश्वसनीयतामाथि विभिन्न कोणबाट प्रश्न उठिरहेका बेला डब्लूएचओले मान्यता दिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । शुक्रबार डब्लूएचओले उक्त खोप ‘सुरक्षित, प्रभावकारी र गुणस्तरीय’ रहेको जनाएको हो । डब्लूएचओले उक्त खोप १८ वर्षभन्दा माथिका उमेर समूहलाई २ डोज दिन सिफारिस गरेको छ । भेरोसेलले अनुमति पाएसँगै निकट भविष्यमै सिनोभ्याकले बनाएको खोप र रुसको गामालेय इन्स्टिच्युटले बनाएको स्पुतनिक–५ ले पनि अनुमति पाउने आशा गरिएको छ ।

विभिन्न मुलुकमा बनेका खोपले डब्लूएचओबाट अनुमति पाएमा कोरोना महामारी रोकथाम र नियन्त्रणमा सहयोग पुग्ने बताइएको छ । डब्लूएचओबाट अनुमति पाएसँगै भेरोसेललाई विश्वव्यापी कोरोना खोप कार्यक्रम कोभ्याक्समा प्रयोग गर्न सकिनेछ । यसले गरिब मुलुकहरुमा खोप अभियानलाई तीव्रता दिन सहयोग पुग्नेछ ।

बीबीसीका अनुसार डब्लूएचओबाट अनुमति पाउनुभन्दा पहिले नै करिब ६ करोड ५० लाख डोज वितरण भइसहेको छ । यूएई, हंगेरी, पाकिस्तान, नेपाललगायत मुलुकले उक्त खोप प्रयोगमा ल्याइसकेका छन् । यो खोप अस्पताल भर्ना भएका र लक्षण देखिएका व्यक्तिमा ७९ प्रतिशतसम्म प्रभावकारी देखिएको पनि डब्लूएचओले बताएको छ । यो खोपलाई २ देखि ८ डिग्री सेल्सियसम्मको तापक्रममा सुरक्षित ढंगले भण्डारण गर्न सकिन्छ ।

प्रकाशित : वैशाख २५, २०७८ १०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?