महामारी नियन्त्रणमा नेपाललाई सक्दो सहयोग गर्ने चीनको  घोषणा- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महामारी नियन्त्रणमा नेपाललाई सक्दो सहयोग गर्ने चीनको  घोषणा

लक्ष्मी लम्साल

बेइजिङ — चीनले नेपालको कोरोना महामारी नियन्त्रणमा सक्दो सहयोग गर्ने घोषणा गरेको छ। बेइजिङस्थित नेपाली दूतावासले महामारी नियन्त्रणमा चिनियाँ सहयोगका लागि सिनोफार्म र अक्सिजन सिलिन्डरका लागि चिनियाँ सिड्का भन्ने निकायसँग पहल गरिरहेका बेला चीनले पत्रकार सम्मेलन गरेरै सक्दो सहयोगको प्रतिबद्धता जनाएको हो।

शुक्रबार बेइजिङमा पत्रकार सम्मेलन गरेर चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वन पिनले भने, ‘नेपालमा तीव्र गतिमा बढिरहेको कोरोना महामारीपछि उत्पन्न परिस्थितिप्रति चीनको ध्यानाकर्षण भएको छ। चीनले सबै प्रकारका सक्दो सहयोग गर्नेछ।’

चीन र पाँच वटा दक्षिण एसियाली मुलुकका परराष्ट्रमन्त्रीबीच वैशाख दोश्रो साथा भिडियो कन्फ्रेन्स हुँदा चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले कोरोना महामारीको अवस्थालाई ध्यानमा राखी नेपाललगायत सम्बन्धित मुलुकहरूलाई सहयोगको प्रतिबद्धता जनाएका थिए। चीनले नयाँ चरणको स्वास्थ्य सहायता उपलब्ध गराउने वाचालाई व्यवहारमा उतार्न लागेको छ। प्रवक्ता वाङले भनेका छन्, ‘अहिलेको अवस्थामा महामारी प्रतिरोधी स्वास्थ्य सामग्रीको तयारी आधारभूत रुपमा पूरा भएको छ, नेपाली साथीहरूको सहयोगमा सम्भव भएसम्म तत्काल नेपालमा पुर्‍याउन चीन तयार छ।’

परराष्ट्र प्रवक्ता वाङका अनुसार चीनका स्थानीय सरकार तथा गैसरकारी संस्थाहरूले सक्रियताका साथ महामारीका लागि अत्यावश्यक सामग्रीहरू नेपालमा पुर्‍याउने काम गर्दै आएका छन्। उनले भने, ‘हामीलाई विश्वास छ, नेपाल सरकार र सबै पार्टीहरूको संयुक्त प्रयासमा नेपाली जनताले महामारीबाट मुक्ति पाउनेछन्। उत्पादन र जनजीवन पूर्ववत् रूपमा सामान्य अवस्थामा फर्किनेछ।’

चिनियाँ सञ्‍चारमाध्यमका अनुसार नेपाल चीनको मैत्री छिमेकी र रणनीतिक साझेदार हुनुका साथै महामारीको उदयपछि एकअर्कालाई आपसी सद्भाव र सहयोगबाट नयाँ अध्याय कोरेका मुलुक हुन्। चीनले नेपालमा जारी कोरोना महामारीका चुनौतीलाई साझा गर्न चाहन्छ र नेपाललाई सहयोग पुर्‍याउन यथाशक्य प्रयास गरिरहने टिप्पणी पनि चिनियाँ सञ्‍चारमाध्यमहरूले गरेका छन्।

प्रकाशित : वैशाख २५, २०७८ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्

‘हटस्पट’ बन्दै चितवन

तीन दिनमा २६ को मृत्यु, सघन उपचारमा १११ जना, अस्पताल आउने अधिकांशलाई अक्सिजन आवश्यक
रमेशकुमार पौडेल

चितवन — कोरोना संक्रमितको मृत्यु हुने क्रम चितवनमा पनि चिन्ताजनक रूपमा उकालो लाग्न थालेको छ । यहाँका अस्पतालहरूमा उपचाररत संक्रमितमध्ये बुधबारयता मात्रै २६ जनाको मृत्यु भइसकेको छ । त्यसमध्ये चितवनका मात्रै ८ जना छन् । त्योभन्दा बढी रूपन्देहीका छन् । स्वास्थ्य कार्यालयका अनुसार शुक्रबार दिउँसोसम्म जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार ९ सय ७७ पुगेको छ ।

मध्य चैतयता जिल्लाभित्रै संक्रमितको संख्या ह्वात्तै बढ्दै गएको हो । यसबाहेक जिल्ला बाहिरबाट पनि धेरै संक्रमित आउने गरेका छन् । स्वास्थ्य कार्यालय प्रमुख दीपक तिवारीका अनुसार हाल १७ जिल्लाका संक्रमित यहाँ उपचाररत छन् । शुक्रबार चितवनका सक्रिय संक्रमितमध्ये अस्पतालमा १ सय ४० जना छन् ।

अन्य होम आइसोलेसनमा छन् । भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचार गराउनेको संख्या भने २ सय ७२ छ । झन्डै आधा बिरामी बाहिरी जिल्लाका छन् । ‘पूर्वी नवलपरासी, पश्चिम नवलपरासी, तनहुँ, गोरखा, लमजुङ, धादिङबाट पहिलादेखि नै बिरामी यतै आउँथे । अहिले पनि आएका छन् । संक्रमण बढेसँगै रूपन्देही र पूर्वी तथा पश्चिम तराईका जिल्लाबाट पनि बिरामी आइरहेका छन्,’ तिवारीले भने ।

भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारी गत वर्ष अस्पताल आउने संक्रमितमध्ये २० प्रतिशतलाई मात्रै अक्सिजन दिनुपरेको बताउँछन् । यो पटक भर्ना भएका प्रायःलाई दिनुपरिरहेको उनले बताए । ‘अस्पताल आएका प्रायःलाई अक्सिजन दिनुपरेको छ । अक्सिजन दिँदादिँदै ४८ घण्टाभित्र आईसीयू र भेन्टिलेटरमा राख्नुपर्ने बिरामी पनि धेरै छन्,’ डा.अधिकारीले भने ।

शुक्रबार यहाँका अस्पतालका आईसीयूमा ६३ जना, भेन्टिलेटरमा ११ र एचडीयूमा ३७ जना छन् । बिरामीको चाप बढेको र बाहिरी जिल्लाबाट आउने बिरामी अन्तिम अवस्थामा आएका कारण पनि मृतकको संख्या बढ्न थालेको स्वास्थ्य कार्यालय प्रमुख तिवारीको आकलन छ । ‘३०/४० प्रतिशत बिरामी त आउँदै गम्भीर अवस्थामा हुनुहुन्थ्यो,’ तिवारीले भने । अस्पतालमा सामान्य अवस्थामा आएर एचडीयू, आईसीयू र भेन्टिलेटरसम्म लैजाँदा पनि बचाउन नसकेका संक्रमित धेरै रहेको उनले सुनाए । ‘मृत्यु हुनेमा कम उमेरका संक्रमित पनि धेरै नै हुनुहुन्छ,’ उनले थपे ।

रोकथामको प्रयास चित्तबुझ्दो छैन

राप्ती नगरपालिका–५ का २९ वर्षीय विजय थिङ भारत उडिसाको भुवनेश्वरमा इन्जिनियरिङ पढ्छन् । भारतमा संक्रमण बढ्न थालेपछि वैशाख ११ मा उनी घर आए । सिधै गएनन् । एक दिन होटलमा बसेर स्वाब दिए । १३ गते उनलाई संक्रमण नभएको बताइयो । तर घर गएको पर्सिपल्ट ज्वरो आयो । ज्वरो बढ्न थालेपछि उनले नगर प्रमुख र उपप्रमुखलाई फोन गरे ।

‘उहाँहरूको फोन उठेन । भण्डारा अस्पतालका स्वास्थ्यकर्मीलाई फोन गरे । उहाँले ज्वरो आएको भए सिटामोल खाएर साता दिन घरमै बस्नुस्, त्यसपछि पनि सन्चो नभए अस्पताल जानुहोला भन्नुभयो,’ विजयले भने । तर अवस्था सहज भएन । एम्बुलेन्स पनि नमिलेपछि आफैं मोटरसाइकल हाँकेर १५ गते फेरि चितवन मेडिकल कलेज आए । स्वाब दिए, एक्सरे र रगत परीक्षणका लागि छाडे । ‘भोलिपल्ट रिपोर्ट आउँछ भनेका थिए । म निकै आत्तिएँ । १६ गते दिउँसो ४ बजे अस्पताल गएर रिपोर्ट नआउँदै भर्ना भएँ । ८ बजे रिपोर्टमा कोरोना पोजिटिभ आयो । स्थानीय स्वास्थ्यकर्मीको सल्लाह मानेर बसेको भए मेरो फोक्सो सिद्धिने थियो,’ विजयले भने ।

गत वर्षको जस्तो स्थानीय तहले क्वारेन्टाइन बनाएका छैनन् । तर पछिल्ला दिन अक्सिजन सिलिन्डरसहितको केही बेडको आइसोलेसन बनाउन सुरु गरेको दाबी भने गरेका छन् । ‘गत वर्षको जस्तो समुदाय तहमा क्वारेन्टाइन बनाउन सक्ने अवस्था देखिएन । तीव्र फैलने खालको भाइरस भएकाले संक्रमितलाई चाँडो अस्पतालसम्म पुर्‍याउने र सामान्य संक्रमितलाई अक्सिजन सिलिन्डरसहितको आइसोलेनमा राख्ने प्रबन्ध सबै स्थानीय तहले मिलाएका छन्,’ जिल्ला समन्वय समिति संयोजक कृष्णकुमार डल्लाकोटीले भने ।

उनले स्थानीय तहले संक्रमितलाई आवश्यक पर्दा अस्पताल जान तत्काल एम्बुलेन्स पाइने व्यवस्था मिलाएकोसमेत दाबी गरे । तर पार्वतीपुरका शिक्षक बटुकलाल तमाङले होम आइसोलेसनमा बसेका एक संक्रमितलाई अस्पताल लैजान दुई घण्टा खोज्दा पनि एम्बुलेन्स नपाएको र अस्पताल पुगेर पनि शय्या पाउन घण्टौं कुर्नुपरेको गुनासो गरे ।

व्यवस्थापनको चुनौती

चितवनमा होम आइसोलेसनमा बस्ने संक्रमित अत्यधिक छन् । जिल्ला बाहिरबाट उपचारका लागि आउने संक्रमित पनि उत्तिकै छन् । जिल्लामा उपलब्ध पूर्वाधारले नपुग्ने भन्दा पनि उचित व्यवस्थापन गर्न नसकेर समस्या पर्ने हो कि भन्ने डर यहाँका अधिकारीहरूलाई छ । संक्रमितहरूको मृत्यु भयो भन्ने सुनेपछि अस्पताल आउने चाप झनै थपिन्छ ।

‘घरमा बस्दा केही बढी खतरा हुने पो हो कि भनेर धमाधम मान्छेहरू अस्पताल आउने गरे भने सामान्य अवस्थाका संक्रमितहरूको पनि भीड लाग्न थाल्छ । यसले गर्दा अस्पतालले हेर्नै पर्ने गम्भीर संक्रमितले सेवा नपाउने अवस्था आउन सक्छ,’ स्वास्थ्य कार्यालय प्रमुख तिवारीले भने । यसका लागि संक्रमित गम्भीर हो या हैन भन्ने छुट्याउन सक्ने संयन्त्र आवश्यक भएको उनले बताए । ‘सामान्य एक्सरे गरे पनि संक्रमितको अवस्था कति गम्भीर छ भनेर आकलन गर्न सकिन्छ । ठूला अस्पतालहरूमा गम्भीर खालका बिरामी मात्र राख्न सक्ने हो र अस्पताल आउन खोज्ने अन्य संक्रमितलाई अरू अस्पतालमा राख्ने व्यवस्था गर्ने हो भने उपचारमा प्रभावकारी रूपमा लाग्न सकिन्छ,’ तिवारीले भने ।

जिल्लामा संक्रमितको उपचारका लागि तीन अस्पताल गरी करिब चार सय बेड छन् । भरतपुर अस्पतालका अध्यक्ष डा. अधिकारी ६ सयसम्म बेड पुर्‍याउन सके उत्तम हुने बताउँछन् । तर पाँच सय बेडभन्दा बढी बनाउँदा चिकित्सक र स्वास्थ्यकर्मीको व्यवस्थापनमा भने चुनौती रहेको उनको भनाइ छ ।

प्रकाशित : वैशाख २५, २०७८ ०७:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×