कोरोनाले भारतमा एकैदिन ३९८० को मृत्यु, ४ लाख १२ हजारभन्दा बढीलाई संक्रमण

काठमाडौँ — भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या लगातार बढिरहेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ३ हजार ९ सय ८० जनाको मृत्यु भएको छ ।

कोरोनाले भारतमा एकैदिन ३९८० को मृत्यु, ४ लाख १२ हजारभन्दा बढीलाई संक्रमण

भारतमा कोरोना संक्रमणबाट एकैदिन मृत्यु हुनेको यो संख्या अहिलेसम्मकै उच्च हो । यसअघि भारतमा हिजो बुधबार कोरोनाले ३ हजार ७ सय ८० को मृत्यु भएको थियो ।

त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा संक्रमितको संख्या पनि बढेको छ । भारतमा बुधबार एकैदिन अहिलेसम्मै उच्च ४ लाख १२ हजार २ सय ६२ जनामा संक्रमण पुष्टि भएको छ। भारतमा यसअघि गत शुक्रबार एकैदिन ४ लाख १ हजार ९ सय २३ संक्रमित थपिएका थिए । मंगलबार भने भारतमा ३ लाख ८२ हजार ३ सय १५ जनामा संक्रमण पुष्टि भएको छ ।

भारतमा अहिलेसम्म २ करोड १० लाख ७७ हजारभन्दा बढीलाई संक्रमण पुष्टि भएको छ भने करिब १ करोड ७२ लाख संक्रमणमुक्त भएका छन् । त्यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ३० हजार १ सय ६८ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा ३ लाख २९ हजार १ सय १३ जना संक्रमणमुक्त भएका छन् । योसँगै भारतमा संक्रमण मुक्त हुनेको संख्या करिब १ करोड ७३ लाख पुगेको छ ।

भारतमा सक्रिय संक्रमितको संख्या ३५ लाख ६६ हजारभन्दा बढी छ । भारतमा पछिल्लो २४ घण्टामा १९ लाख २३ हजार १ सय ३१ नमुना परीक्षण भएको थियो । भारतमा मंगलबारसम्ममा करिब १६ करोड २५ लाख डोज खोप लगाइएको छ ।

भारत विश्वमा सबैभन्दा बढी संक्रमित मुलुकमध्ये अमेरिकापछि दोस्रोमा पर्छ । कोरोनाको दोस्रो लहर सुरु भएसँगै दिल्ली, महाराष्ट्र, उत्तरप्रदेश, मध्यप्रदेश, गुजरात, छत्तीसगढ, कर्नाटकलगायत राज्यमा उच्च संक्रमण देखिएको छ ।

महाराष्ट्रमा पछिल्लो २४ घण्टामा ५७ हजार ६ जनामा संक्रमण पुष्टि भएको छ भने ९ सय २० जनाको मृत्यु भएको छ । त्यस्तै राजधानी दिल्लीमा दिल्लीमा पछिल्लो २४ घण्टामा १९ हजार २ सय ९ जनामा संक्रमण पुष्टि हुनुका साथै ३ सय ११ जनाको मृत्यु भएको छ ।

पछिल्लो समय नेपालसँग सीमा जोडिएका भारतका राज्यहरूमा पनि संक्रमण बढिरहेको छ । पछिल्लो २४ घण्टामा उत्तर प्रदेशमा ४० हजार ८ सय ५२ जनामा संक्रमण पुष्टि भएको छ भने ३ सय ५३ जनाको मृत्यु भएको छ ।

त्यस्तै पश्चिम बंगालमा १७ हजार ७३ जनामा संक्रमण पुष्टि भएको छ भने १०३ जनाको मृत्यु भएको छ । त्यस्तै नेपालसँग सीमा जोडिएको बिहारमा पछिल्लो २४ घण्टामा ११ हजार ७ सय २६ जनामा संक्रमण पुष्टि भएको छ भने ६१ जनाको मृत्यु भएको छ ।

प्रकाशित : वैशाख २३, २०७८ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?