कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

कोरोना खोपलाई बौद्धिक सम्पत्ति अधिकारमुक्त बनाउने प्रस्तावमा अमेरिकाको समर्थन

विश्व स्वास्थ्य संगठनद्वारा स्वागत
इकान्तिपुर डेस्क

काठमाडौँ — विश्वभर कोरोना संक्रमण भइरहेका बेला अमेरिकी राष्ट्रपति जो बाइडेनले महत्वपूर्ण निर्णय गरेका छन् । राष्ट्रपति बाइडेनले बुधबार कोरोना भाइरसविरुद्धको खोपको अविष्कारलाई बौद्धिक सम्पत्ति अधिकारबाट मुक्त राख्ने कुरामा समर्थन जनाएका हुन् । 

कोरोना खोपलाई बौद्धिक सम्पत्ति अधिकारमुक्त बनाउने प्रस्तावमा अमेरिकाको समर्थन

कोरोना खोपलाई प्याटेन्टमुक्त बनाउने गरी विश्व व्यापार संगठन(डब्लूटीओ) मा अघि बढाइएको अभियानलाई बाइडेनले समर्थन जनाएका हुन् । भारत, दक्षिण अफ्रिका र ब्राजिललगायतका देशले कोरोना खोपलाई प्याटेन्टमुक्त बनाउनुपर्ने भन्दै पहिलेदेखि नै माग गर्दै आएका थिए । अमेरिकाले भारत र दक्षिण अफ्रिकाले विश्वव्यापी रुपमै कोरोना खोपको उत्पादन वृद्धिमा काम गर्नसक्ने भन्दै उक्त प्रस्तावमा समर्थन जनाएको हो ।

डब्लूटीओमा अमेरिकी वाणिज्य दूत क्याथरिन ताई भन्छिन्, ‘यो निकै असाधारण समय हो र हामीले असाधारण फैसला लिएका छौं । अमेरिकाले कोभिड–१९ खोपलाई बौद्धिक अधिकारबाट बाहिर राख्ने कुरामा समर्थन गरेको छ । जसले महामारी नियन्त्रणमा महत्वपूर्ण सघाउ पुग्नेछ ।’

उनले आफूहरु बौद्धिक सर्वाधिकारप्रति पूर्ण रुपमा प्रतिबद्ध भए पनि विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना संक्रमणको अन्त्यका लागि कोभिड–१९ खोपलाई यसबाट बाहिर राख्न चाहेको बताइन् । त्यस्तै उनले खोपका लागि चाहिने कच्चा पदार्थको उत्पादन पनि बढाउने बताएकी छिन् ।

बाइडेन प्रशासनलाई अभियन्ताहरुले महामारीकालमा कोरोना खोपलाई प्याटेन्टमुक्त बनाउन लबाब दिएका थिए । तर केहीले भने केवल प्याटेन्टमा छुट दिएर कोरोना खोपको आपूर्ति नबढ्ने बताएका छन् । यसका लागि प्रविधि हस्तान्तरणका साथै अन्य मुलुकलाई खोप निर्माणको प्रविधि पनि सिकाउनुपर्ने उनीहरुको भनाइ छ । यल विश्वविद्यालयका संक्रामक रोग विशेषज्ञ ग्रगे गोन्जालेसले प्याटेन्टमुक्त बनाउने कुरा सुरुवात मात्रै भएको र यसमा थप प्रक्रिया अगाडि बढाउनुपर्ने बताएका छन् । उनले प्रविधि हस्तान्तरणबिना खोपको उत्पादन वृद्धि नहुने पनि बताए ।

डब्लूटीओमा भारत र दक्षिण अफ्रिकाले कोरोना खोपलाई प्याटेन्टमुक्त बनाउन प्रस्ताव गरेका थिए । यसबारेमा सहमतिमा पुग्न भने समय लाग्ने बताइएको छ । डब्लूटीओका १६४ सदस्य राष्ट्रहरुले यसबारेमा निर्णय गर्न केही समय लाग्ने विज्ञहरुको भनाइ छ । अहिलेसम्म डब्लूटीओका करिब ६० मुलुकले यस विषयमा समर्थन जनाइरहेका छन् । यसअघि तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, बेलायत र युरोपेली युनियनले कोरोना खोपलाई सर्वाधिकारमुक्त बनाउन नहुनेमा अडान राख्दै आएका थिए ।

कोरोना खोप प्याटेन्टमुक्त भएमा भारतमा यसको उत्पादन बढ्ने बताइएको छ । पछिल्लो समय कोरोना संक्रमणको दोस्रो लहरले छटपटिएको भारतलाई यसले ठूलो राहत मिल्ने पनि बताइएको छ ।

अमेरिकाको पछिल्लो निर्णयको विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले पनि स्वागत गरेको छ । डब्लूएचओका महानिर्देशक डा. टेड्रोस एडहानोम गेहब्रेयससले विश्वस्वास्थ्यप्रति संवदेनशील हुँदै राष्ट्रपति बाइडेनद्वारा गरिएको ऐतिहासिक निर्णय भएको प्रतिक्रिया दिएका छन् । यो निर्णयले अहिलेको कठिन परिस्थितिमा सबैलाई राहत मिल्ने पनि उनको भनाइ छ ।

अहिले विश्वमा विभिन्न मुलुकले उत्पादन गरेको खोप अभियान चलिरहेको छ । अमेरिकामा मोर्डना र फाइजर–बायोएनटेकले निर्माण गरेको खोप लगाइँदैछ । त्यस्तै विश्वका विभिन्न मुलुकमा अक्सफोर्ड–एस्ट्राजेनेका, रुसी खोप निर्माता गामालेयको स्पुतनिक–५, चिनियाँ कम्पनी सिनोफार्मको भेरोसेललगायतका खोप प्रयोगमा ल्याइएको छ ।

नेपालमा अहिलेसम्म अक्सफोर्ड–एस्ट्राजेनेकासँगको सहकार्ययमा भारतीय कम्पनी सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड र चिनियाँ खोप भेरोसेल लगाइएको छ । भारतमा भने भारत बायोटेकले भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद्सँग मिलेर बनाएको कोभ्याक्सिन पनि प्रयोगमा ल्याइएको छ ।

-बीबीसीलगायत विभिन्न समाचार संस्थाको सहयोगमा

प्रकाशित : वैशाख २३, २०७८ १०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?