भारतमा एकैदिन कोरोना संक्रमणबाट ३७८० जनाको मृत्यु- विश्व - कान्तिपुर समाचार

भारतमा एकैदिन कोरोना संक्रमणबाट ३७८० जनाको मृत्यु

इकान्तिपुर डेस्क

काठमाडौँ — भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या लगातार बढिरहेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ३ हजार ७ सय ८० जनाको मृत्यु भएको छ ।

भारतमा कोरोना संक्रमणबाट एकैदिन मृत्यु हुनेको यो संख्या अहिलेसम्मकै उच्च हो । यसअघि भारतमा गत आइतबार कोरोनाले ३ हजार ६ सय ८९ को मृत्यु भएको थियो ।

त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा थप ३ लाख ८२ हजार ३ सय १५ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि अघिल्लो दिन ३ लाख ५७ हजार २ सय २९ जनामा संक्रमण पुष्टि भएको थियो भने ३ हजार ४ सय ४९ जनाको मृत्यु भएको थियो ।

भारतमा आइतबार ३ लाख ६८ हजार संक्रमित थपिएका थिए । शुक्रबार भने एकैदिन ४ लाख १ हजार ९ सय २३ संक्रमित थपिएका थिए । जुन भारतमा महामारी सुरु भएयताकै बढी हो । त्यस्तै शनिबार ३ लाख ९२ हजार ४ सय ८८ जना संक्रमित भएका थिए ।

भारतमा अहिलेसम्म २ करोड ६ लाख ६५ हजारभन्दा बढीलाई संक्रमण पुष्टि भएको छ भने करिब १ करोड ६९ लाख संक्रमणमुक्त भएका छन् । त्यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख २६ हजार १ सय ८८ पुगेको छ ।

भारतमा सक्रिय संक्रमितको संख्या ३४ लाख ८७ हजारभन्दा बढी छ । भारतमा पछिल्लो २४ घण्टामा १५ लाख ४१ हजार २ सय ९९ नमुना परीक्षण भएको थियो । भारतमा मंगलबारसम्ममा करिब १६ करोड ५ लाख डोज खोप लगाइएको छ ।

भारत विश्वमा सबैभन्दा बढी संक्रमित मुलुकमध्ये अमेरिकापछि दोस्रोमा पर्छ । कोरोनाको दोस्रो लहर सुरु भएसँगै दिल्ली, महाराष्ट्र, उत्तरप्रदेश, मध्यप्रदेश, गुजरात, छत्तीसगढ, कर्नाटकलगायत राज्यमा उच्च संक्रमण देखिएको छ ।

महाराष्ट्रमा पछिल्लो २४ घण्टामा ६५ हजार ९ सय ३४ जनामा संक्रमण पुष्टि भएको छ भने ८ सय ९१ जनाको मृत्यु भएको छ । त्यस्तै राजधानी दिल्लीमा दिल्लीमा पछिल्लो २४ घण्टामा १८ हजार ७ सय ८८ जनामा संक्रमण पुष्टि हुनुका साथै ३ सय ३८ जनाको मृत्यु भएको छ ।

पछिल्लो समय नेपालसँग सीमा जोडिएका भारतका राज्यहरूमा पनि संक्रमण बढिरहेको छ । पछिल्लो २४ घण्टामा उत्तर प्रदेशमा ३६ हजार ६ सय ८३ जनामा संक्रमण पुष्टि भएको छ भने ३ सय ५१ जनाको मृत्यु भएको छ ।

त्यस्तै पश्चिम बंगालमा १६ हजार ४ सय ५७ जनामा संक्रमण पुष्टि भएको छ भने १०७ जनाको मृत्यु भएको छ । त्यस्तै नेपालसँग सीमा जोडिएको बिहारमा पछिल्लो २४ घण्टामा ११ हजार ९ सय २६ जनामा संक्रमण पुष्टि भएको छ भने १०५ जनाको मृत्यु भएको छ ।

प्रकाशित : वैशाख २२, २०७८ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्

भेरी अस्पतालमा ४१ स्वास्थ्यकर्मी थपिए

रामलीला मैदानमा अक्सिजनसहितको ५० बेडको कोभिड आइसोलेसन निर्माण 
रुपा गहतराज

नेपालगन्ज — भेरी अस्पतालमा ४१ स्वास्थ्यकर्मी थप गरिएको छ । स्वास्थ्य सहायक, स्टाफ नर्स, पारामेडिक्स र नर्सिङ भर्ना गरिएको हो । संक्रमितले बेड नपाउने अवस्था आएपछि नेपालगन्ज उपमहानगरपालिकाले अस्थायी अस्पताल निर्माण गरेरसमेत उपचार थालेको छ ।

रामलीला मैदानमा अक्सिजन– सहितको ५० बेडको कोभिड आइसोलेसन निर्माण गरिएको छ । ‘बिरामीको अक्सिजन लेभल मेन्टेनका लागि आइसोलेसनमा राख्ने गर्छौं,’ उपप्रमुख उमा थापामगरले भनिन्, ‘सुरुमा अक्सिजन आइसोलेसनको मापदण्डका आधारमा सञ्चालन गरिए पनि अहिले गम्भीर प्रकृतिका कोभिड संक्रमित आउँदा समस्या थपिएको छ ।’ आइसोलेसनमा २५ बेड सञ्चालनमा छ ।

गत वर्ष नै यहाँको ह्वाइट हाउस होटलमा सञ्चालनमा ल्याइएको आइसोलेसनलाई यस पटक पनि निरन्तरता दिइएको छ । ‘होटल आइसोलेसन उपमहानगरभित्रका संक्रमितलाई राख्न बनाइएको हो,’ उपप्रमुख मगरले भनिन्, ‘अहिले ह्वाइट हाउसमा रहेका १ सय २० जनामध्ये उपमहानगरका १८ जना मात्रै छन् ।’

नेपालगन्ज उपमहानगरले रामलीला मैदानस्थित सार्वजनिक भवनमा बनाएको अक्सिजनसहितको आइसोलेसनमा उपचाररत संक्रमिच । तस्बिर : रुपा गहतराज/कान्तिुपर

उपमहानगरले भेरी अस्पतालमा उपचाररत संक्रमित र अन्य बिरामीका कुरुवालाई खाना खुवाउने अञ्जनी माता रसोईलाई मासिक एक लाख रुपैयाँ सहयोग गर्न थालेको छ । कार्यपालिका बैठकले मासिक एक लाखको दरले तीन महिना सहयोग गर्ने निर्णय गरेको हो । ‘यो संकटमा गरिएको मानवीय सेवा हो,’ सुन्दर काण्ड मित्रमण्डलका सदस्य जितेन्द्र सिंहले भने, ‘जेनतेन मिलाइरहेका थियौं, त्यसैमा उपमहानगरको साथ पाएका छौं ।’

सोमबार उपमहानगर प्रमुख धवलशमशेर राणाको अध्यक्षतामा बसेको बैठकले एउटा एम्बुलेन्ससमेत थप गर्ने निर्णय गरेको छ । ‘उपमहानगरमा संक्रमित बढी देखिएकाले यो निर्णय गरेका हौं,’ उपमहानगरका प्रवक्ता तथा वडा १ का अध्यक्ष प्रमोद रिजालले भने, ‘धेरै संक्रमित घरकै आइसोलेसनमा छन्, त्यसैले अर्को एम्बुलेन्स भयो भने संक्रमितलाई सजिलो हुन्छ ।’ उपमहानगरले भेरी अस्पतालको प्रत्यक्ष निगरानीमा बाल मन्दिरमा तत्काल थप आइसोलेसन सञ्चालन गर्ने निर्णयसमेत गरेको प्रवक्ता रिजालले बताए ।

स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दका अनुसार जिल्लामा १० हजार ५ सय ८० जना संक्रमित छन् । ३ हजार ४ सय २३ जना होम आइसोलेसनमा छन् । उपमहानगरपालिकामा कोभिडबाट १९ महिला र २४ पुरुष गरी ४३ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित : वैशाख २२, २०७८ १०:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×