कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

बिल र मेलिन्डा गेट्सले गरे सम्बन्धविच्छेद

काठमाडौँ — बिल गेट्स र मेलिन्डा गेट्सले सम्बन्धविच्छेदको घोषणा गरेका छन् । विवाह गरेको २७ वर्षपछि दुवैले दम्पतीका रुपमा अब सँगै बस्न नसक्ने उल्लेख गर्दै सम्बन्धविच्छेदको घोषणा गरेका हुन् । 

बिल र मेलिन्डा गेट्सले गरे सम्बन्धविच्छेद

दुवैले सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै सम्बन्धविच्छेदको जानकारी दिएका छन् ।

संयुक्त वक्तव्यमा भनिएको छ, ‘हामीलाई अब एक दम्पतीका रुपमा अघि बढ्न सक्दैनौँ भन्ने लागेको छ ।’ सन् १९८७ मा मेलिन्डा र बिलको भेट भएको थियो । बिलको कम्पनी माइक्रोसफ्टमा मेलिन्डा प्रोडक्ट म्यानेजरका रुपमा आबद्ध हुने क्रममा दुवैको भेट भएको हो ।

उनीहरुले सन् १९९४ मा हवाईमा रहेको लानाई आइल्यान्डमा विवाह गरेका थिए । उनीहरुको दुई छोरी र एक छोरा रहेका छन् । त्यस्तै उनीहरुले संयुक्त रुपमा लोककल्याणकारी संस्था बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसन चलाउँदै आएका छन् ।

पछिल्लो पटक कोरोना महामारीको रोकथाम र नियन्त्रण तथा खोप अभियानलाई सघाउन फाउन्डेसनले विश्व स्वास्थ्य संगठनलाई करोडौं सहयोग गरेको छ । ‘गम्भीर रुपको सोचविचारपछि हामीले हाम्रो वैवाहिक सम्बन्धलाई टुंग्याउने निर्णय गरेका हौँ,’ वक्तव्यमा भनिएको छ । ‘विगत २७ वर्षमा हामीले ३ जना छोराछोरी हुर्कायौं । एउटा उत्कृष्ट संस्था बनायौं जसले विश्वभरमा मानिसहरुको स्वास्थ्य तथा गुणस्तरीय जीवन बाँच्नका लागि सहयोग गरिरहेको छ ।’

उनीहरुले फाउन्डेसनको अभियानलाई निरन्तरता दिने पनि प्रतिबद्धता जनाएका छन् । ‘हामीले हाम्रो मिसनलाई निरन्तरता दिन्छौं तर हामी अब एक दम्पतीका रुपमा बढ्न सक्दैनौं,’ वक्तव्यमा भनिएको छ ।

आफूहरुले जिन्दगीमा नयाँ बाटो हिँड्न खोजेको र आफ्नो परिवारको निजत्वको सम्मान गर्न पनि उनीहरुले सबैलाई आग्रह गरेका छन् ।

फोर्ब्स म्यागजिनका अनुसार १३४ बिलियन अमेरिकी डलरको सम्पत्तिसहित बिल गेट्स विश्वकै चौथो धनी व्यक्ति हुन् । ६५ वर्षीय बिल गेट्सले लोककल्याणकारी काममा आफूलाई केन्द्रित गर्ने उल्लेख गर्दै गत वर्ष माइक्रोसफ्टको बोर्डबाट राजीनामा दिएका थिए । सन् १९७५ मा बिल गेट्सले कम्प्युटर सफ्टवेयर कम्पनी स्थापना गरेका थिए । जसबाट नै उनले प्रशस्त सम्पत्ति आर्जन गरेका थिए ।

प्रकाशित : वैशाख २१, २०७८ ११:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?