३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

भारतमा अक्सिजन पाउनै हारगुहार

कर्नाटकको अस्पतालमा अक्सिजन सकिँदा २४ जनाको मृत्यु, दिल्लीको अक्सिजन आपूर्ति सेनालाई दिने तयारी 
सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतमा कोरोनाको दोस्रो लहरसँगै सुरु भएको अक्सिजन संकट टर्नेभन्दा पनि थप विकराल बन्दै गएको छ । केही सातादेखि राजधानी दिल्लीले अक्सिजनको चरम संकट व्यहोरिरहेकामा अब त्यस्तै संकट अन्य राज्यहरूमा पनि देखिन थालेको छ ।

भारतमा अक्सिजन पाउनै हारगुहार

दक्षिण भारतीय राज्यको कर्नाटकको चमाराजानगरको एउटा अस्पतालमा आइतबार राति अक्सिजन सकिँदा २४ जना सिकिस्त बिरामीको ज्यान गएको छ । मुख्यमन्त्री बीएस यदियुरप्पाले घटनाको छानबिन गर्न निर्देशन दिँदै दोषीलाई कारबाही गर्ने प्रतिबद्धता गरेका छन् । विपक्षी भारतीय राष्ट्रिय कंग्रेसले भने राज्य सरकारले अक्सिजन आपूर्ति नगरेका कारण बिरामीको ज्यान गएको भन्दै प्रदेश सरकारमाथि हत्याको आरोप लगाएका छन् । कंग्रेसका प्रदेश प्रमुख डीके शिवकुमारले ट्वीट गर्दै त्यस्तो आरोप लगाएका हुन् ।

दिल्लीमा त अक्सिजन संकट सुरु भएको दुई साता नाघिसकेको छ । अस्पतालहरूले सामाजिक सञ्जालमा ‘एसओएस’ सन्देशमार्फत अक्सिजनका लागि गुहार लगाउने क्रम जारी छ । अक्सिजन अभावकै कारण बिरामीहरूको ज्यान जाने क्रम पनि रोकिएको छैन । शनिबार मात्र दिल्लीको एउटा अस्पतालमा अक्सिजन अभावका कारण ८ बिरामीको मृत्यु भएको थियो । शनिबार दिउँसो दिल्लीको बात्रा अस्पतालमा अक्सिजन सकिँदा उपचाररार्थ ८ जना सिकिस्त कोरोना संक्रमित बिरामीले ज्यान गुमाएका थिए । त्यसमा अस्पतालका एक चिकित्सकसमेत थिए ।

दिल्लीमा अक्सिजन अभावका कारण अस्पतालमा उपचारार्थ बिरामीको ज्यान गएको यो पहिलो घटना भने होइन । दुई साताअघि दिल्लीकै दुई अस्पतालमा अक्सिजन सकिँदा ४५ बिरामीहरूको मृत्यु भएको थियो । दिल्लीको जयपुर गोल्डन अस्पतालमा २० र गंगाराम अस्पतालमा २५ जनाको सिकिस्त कोरोना बिरामीको अक्सिजन आपूर्ति अवरुद्ध हुँदा ज्यान गुमाएका थिए ।

घरमै आइसोलेसन बसेका संक्रमितहरूका लागि अक्सिजनको व्यवस्था गर्न परिवारजनले भोग्नुपरेको कष्ट त झनै कहालीलाग्दो छ । उनीहरूले अक्सिजनको लेभल नाप्ने अक्सिमिटरको कालाबजारीदेखि सिलिन्डरको चर्को अभावसम्म खेप्नुपरेको छ । उनीहरू दिल्लीको चर्को घाममा अक्सिजन सिलिन्डरका लागि घण्टौं लाइन लाग्न बाध्य छन् ।

संकट यति गहिरिँदा पनि केन्द्र र राज्य सरकार दुवैका तर्फबाट समस्या समाधानका लागि ठोस पहल भएको देखिँदैन । उल्टो राज्य सरकार र केन्द्र सरकार आरोप–प्रत्यारोपमै अल्झिएको देखिन्छ । अरविन्द केजरीवाल नेतृत्वको राज्य सरकारले दिल्लीले निर्धारित कोटा अनुसारको अक्सिजन आपूर्ति नगरेको आरोप केन्द्र सरकारमाथि लगाएको छ भने केन्द्रले भने अक्सिजन आपूर्तिका लागि दिल्ली सरकारले पूर्व तयार नगरेको र अहिले संकटका बेला गुनासो गरेको आरोप लगाएको छ ।

केन्द्र सरकारले शनिबार मात्र दिल्लीको दैनिक अक्सिजन कोटा ४९० मेटनबाट बढाएर ५९० पुर्‍याएको छ तर दिल्ली सरकारले भने तोकिएको कोटा समेत नपाएको र करिब एक हजार मेटन अक्सिजन माग रहेको बताएको छ । केन्द्र सरकारले अक्सिजन आपूर्तिकै लागि भनेर रेल्वेले ग्रिन कोरोडिर सञ्चालनमा ल्याएको समेत दाबी गरेको छ । केन्द्र र राज्य सरकारबीचका यिनै दाबी र आरोपप्रत्यारोपमा दिल्ली अस्पताल र संक्रमितहरूको अक्सिजनका लागि गरिरहेको याचना त्यत्तिकै हराएको छ । सरकारका विज्ञप्तिहरू केलाउने हो भने दैनिक रूपमा विभिन्न मुलुकबाट सहयोगस्वरूप ठूलो संख्यामा अक्सिजन प्लान्ट, कन्सन्ट्रेटरर्सलगायत सामग्रीहरू धमाधम भित्रिरहेका छन् । तर, अक्सिजनको अभाव ज्युँकात्युँ छ ।

अस्पतालहरूले सरकारको आस मारेर अदालतको ढोका समेत नढक्ढकाएका होइनन् । भारतको सर्वोच्च अदालतले दिल्लीको अक्सिजनको संकटलाई गम्भीरतापूर्वक लिँदै मंगलबार रातिसम्म समस्या समाधान गर्न केन्द्र सरकारलाई आदेशसमेत दिएको छ । तर, संकट समाधानप्रति सरकारले अहिलेसम्म देखाएको बेवास्तालाई हेर्दा अदालतको आदेशले पनि सकारात्मक परिणाम दिने सम्भावना भने न्यून छ ।

यसैबीच, दिल्लीको अक्सिजन आपूर्तिको जिम्मा भारतीय सेनालाई दिने विषयमा छलफल भइरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । रक्षामन्त्री राजनाथ सिंहले यस विषयमा उच्च अधिकारीहरूसँग छलफल गरेको बताइएको छ । केही दिनअघि दिल्लीका मुख्यमन्त्री केजरीवालले पनि अक्सिजन संकट समाधानका लागि केन्द्र सरकारसँग सहयोग मागेका थिए । ‘दिल्लीमा गम्भीर अक्सिजन अभाव देखिएको छ । म फेरि केन्द्र सरकारलाई दिल्लीलाई तत्काल अक्सिजन उपलब्ध गराउन अनुरोध गर्छु,’ केजरीवालले ट्वीटमा भनेका थिए ।

संक्रमण केही घट्यो

भारतमा कोरोना भाइरस संक्रतिको संख्या केही घटेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार शुक्रबार र शनिबारको तुलनामा भाइरसबाट संक्रमित हुने तथा ज्यान गुमाउनेको संख्यामा कमी आएको हो ।

मन्त्रालयका अनुसार आइतबार ३ लाख ६८ हजार संक्रमित थपिएका हुन् । शुक्रबार एकै दिन ४ लाख १ हजार ९ सय २३ संक्रमित थपिएका थिए । उक्त अवधिमा हालसम्मकै बढी अर्थात् ३ हजार ६ सय ८९ जनाको भाइरसका कारण मृत्यु भएको थियो । त्यस्तै शनिबार ३ लाख ९२ हजार ४ सय ८८ जना संक्रमित भएका थिए । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ४ सय १७ जनाको मृत्यु भएको छ । योसँगै भारतमा भाइरसको संक्रमणका कारण मृत्यु हुने को संख्या २ लाख १८ हजार ९ सय ५९ पुगेको छ ।

भारतमा अहिलेसम्म १ करोड ९९ लाख २५ हजारभन्दा बढीलाई संक्रमण पुष्टि भएको छ । तीमध्ये करिब १ करोड ६२ लाख ९३ हजार संक्रमणमुक्त भएका मन्त्रालयले जनाएको छ । सोमबार साँझसम्म भारतमा सक्रिय संक्रमितको संख्या ३४ लाख १३ हजारभन्दा बढी छ । भारतमा हालसम्म १५ करोड ७१ लाख ९८ हजारभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाइसकेका जनाइएको छ । तर पछिल्लो समय खोप अभाव भएका कारण अभियान प्रभावित भएको छ । कोरोनाको दोस्रो लहर सुरु भएसगै दिल्ली, महाराष्ट्र, उत्तरप्रदेश, मध्यप्रदेश, गुजरात, छत्तीसगढ, कर्नाटकलगायत राज्यमा संक्रमण निकै तीव्र रूपमा फैलिइरहेको छ ।

भाइरस प्रभावित देशको सूचीमा भारत विश्वकै दोस्रो स्थानमा छ । सबैभन्दा बढी प्रभावित अमेरिकामा ३ करोड २४ लाख २४ हजारभन्दा बढी संक्रमित छन् । ५ लाख ७७ हजार ५४ जनाको भाइरसले मृत्यु भइसकेको छ । सोमबार साँझसम्म विश्वभर १५ करोड २९ लाख ७४ हजारभन्दा बढी संक्रमित भइसकेका छन् । तीमध्ये ३२ लाख ४ हजार ४ सय ७८ जनाको ज्यान गएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।

प्रकाशित : वैशाख २१, २०७८ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?