अस्ट्रेलिया फर्के ५ वर्ष जेल

स्वास्थ्यमन्त्री ग्रेग हन्टले मंगलबारदेखि लागू हुने नयाँ नियम अस्ट्रेलियाली र अन्य देशका नागरिकका लागि समान हुने बताएका छन् ।
क्रिकेटरसमेत फर्कन नपाउने
नारायण खड्का

अस्ट्रेलिया — अस्ट्रेलियाले भारतमा रहेका आफ्ना नागरिक स्वदेश फर्किएमा ५ वर्ष जेल सजाय र ६६ हजार अस्ट्रेलियन डलरसम्म जरिवाना गर्ने भएको छ । भारतमा कोरोना भाइरसको संक्रमण बढिरहेका कारण कम्तीमा १४ दिन भारतमा बसेको कुनै पनि व्यक्ति अस्ट्रेलिया आए उक्त सजाय गरिने अस्ट्रेलियाली स्वास्थ्यमन्त्री ग्रेग हन्टले बताएका छन् । 

अस्ट्रेलिया फर्के ५ वर्ष जेल

यही मंगलबारदेखि सुरु हुने यो नयाँ नियम कोरोनाकै कारण लागू गरिएको विश्वकै कडा नियम भएको सञ्चारमाध्यमले जनाएका छन् । आजसम्म कुनै पनि रास्ट्रले आफ्ना नागरिक स्वदेश फर्किएमा जेल सजाय हुने वा जरिवाना हुने नियम लागू गरेका छैनन् । तर हन्टले उक्त नियम अस्थायी भएको र अस्ट्रेलियाली नागरिक वा अन्य देशका नागरिकलाई समान भएको बताए ।

सरकारले जैविक विविधतासम्बन्धी कानुनअन्तर्गत उक्त नियम परिमार्जन गरेको हो । अस्ट्रेलियाले केही दिनअघि नै भारतबाट आउने सबै यात्रुवाहक विमानलाई अस्ट्रेलिया प्रवेशमा प्रतिबन्ध लगाइसकेको छ । नयाँ नियम भारतमा बसेका र सिंगापुर वा दुबई हुँदै आउने अस्ट्रेलिया नागरिकलाई समेत लागू हुने जनाएको छ ।

हाल भारतमा करिब ९ हजार अस्ट्रेलियाली नागरिक छन् । तीमध्ये ६ सय जना भाइरसको उच्च जोखिममा रहेका जनाइएको छ । स्वास्थ्यमन्त्री हन्टले आफूहरूको मुख्य उद्देश्य अस्ट्रेलियाली नागरिकलाई कोरोना भाइरसको संक्रमणबाट बचाउनुरहेको बताएका छन् । पछिल्लो समय भारतबाट अस्ट्रेलिया आएका नागरिकमा कोरोनाको संक्रमण उच्च देखिएको छ । स्वास्थ्यमन्त्री हन्टले संक्रमण बढिरहेको देशबाट आउने नागरिकको संख्या बढेको कारण यो नियम लगाउनुपरेको बताएका छन् ।

उनका अनुसार भारतमा कम्तीमा १४ दिन बिताएका कसैले पनि सेल्फ क्वारेन्टाइनमा बस्ने गरी आउन चाहे पनि आउन पाउने छैनन् । सरकारले बिहीबार सबै राज्य तथा टेरिटोरीका प्रमुख सम्मिलित बैठकपछि भारतको अवस्था र देशभित्र खोप वितरणलाई मध्यनजर गरेर उक्त निर्णय लिइएको जनाएको छ । अस्ट्रेलियाले दुई सातापछि भने आपत्कालीन अवस्थामा रहेका आफ्ना नागरिकलाई प्राथमिकताका आधारमा उद्धार गर्ने जनाएको छ । मे १५ सम्म भारतबाट आउने यात्रुवाहक जहाजलाई अस्ट्रेलियाले प्रतिबन्ध लगाइसकेको छ । अस्ट्रेलियाको विपक्षी दल लेबरले आफ्नो देश फर्कन चाहने नागरिकलाई क्वारेन्टाइनको व्यवस्था गर्ने जिम्मेवारी केन्द्र सरकारको भएको बताएको छ । लेबरले भारतबाट देश फर्कन चाहेका ९ हजार नागरिकलाई अन्य देशमा अलपत्र पार्न नहुने बताएको छ । उसले उपयुक्त र समय सुहाउँदो क्वारेन्टाइन सुविधा उपलब्ध गराउन सरकारसमक्ष माग गरेको छ ।

क्रिकेटरसमेत फर्कन नपाउने

भारतमा भइरहेको इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्न पुगेका एक दर्जन अस्ट्रेलियाली क्रिकेटरसमेत सरकारको निर्णयका कारण समस्यामा परेका छन् । अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनले क्रिकेटर व्यक्तिगत रूपमा खेल खेल्नका लागि भारत गएका कारण उनीहरूलाई कुनै विशेष किसिमको सुविधा उपलब्ध नहुने बताइसकेका छन् । एबीसी सञ्चारमाध्यमका अनुसार भारतमा रहेका क्रिकेटर एडम जाम्पा र केन रिचार्डसन सरकारद्वारा जारी निर्णयअगावै अस्ट्रेलिया फर्किसकेका भए पनि अन्य खेलाडी फर्कने टुंगो छैन ।

प्रकाशित : वैशाख १९, २०७८ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?