१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

भारतमा कोरोना संक्रमणको चेन तोड्न केही हप्ता पूर्ण लकडाउन अति आवश्यक : डा. एन्थोनी फौची

‘एक वर्ष पहिले चीनमा यस्तै विस्फोटक अवस्था आएको थियो । त्यतिबेला चीनले देशमा पूर्ण रुपमा लकडाउन गरेको थियो ।’
इकान्तिपुर डेस्क

काठमाडौँ — अमेरिकी राष्ट्रपति जो बाइडेनका प्रमुख चिकित्सा सल्लाहकार तथा वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फौचीले भारतमा कोरोना संक्रमणको ‘सुनामी’ रोक्नका लागि केही हप्ता पूर्ण रुपमा लकडाउन गर्नुपर्ने बताएका छन् ।

भारतमा कोरोना संक्रमणको चेन तोड्न केही हप्ता पूर्ण लकडाउन अति आवश्यक : डा. एन्थोनी फौची

कुनै पनि देश लकडाउनमा जान नचाहे पनि कोरोना संक्रमणको चक्र तोड्नका लागि भारतमा केही हप्ता लकडाउन आवश्यक रहेको डा. फौचीको भनाइ छ ।

भारतीय अंग्रेजी पत्रिका द इन्डियन एक्सप्रेससँगको कुराकानीमा डा. फौचीले भारतले कोरोना संक्रमण रोकथाममा के कस्ता उपाय अपनायो भन्दा राजनीतिक मुद्दा बन्ने बताए । उनले भने, ‘भारतले कोरोना संक्रमणको स्थितिलाई कसरी सम्हालिरहेको छ भन्दा यो राजनीतिक मुद्दा बन्छ । म यसबारेमा केही भन्दिनँ, म स्वास्थ्य क्षेत्रसँग आबद्ध व्यक्ति हुँ राजनीतिज्ञ होइन ।’ उनले पछिल्लो समय भारत अत्यन्तै कठिन र निराशाजनक अवस्थामा रहेको पनि बताएका छन् । उनले कुराकानीमा भनेका छन्, ‘जब तपाईं यस्तो परिस्थितिको सामना गर्नुहुन्छ, तत्कालै समग्र रुपमा विचार गरेर निर्णय लिनुपर्ने हुन्छ ।’

कोरोना भाइरसविरुद्धको खोप लगाउनु महत्वपूर्ण भए पनि त्यसको असर देखिन केही समय लाग्ने भएकाले अत्यावश्यक स्वास्थ्य सामग्री र उपकरणको व्यवस्था गर्नुपर्ने पनि उनको भनाइ छ । उनी भन्छन्, ‘खोप एउटा उपाय हुन सक्छ । यो अत्यन्त आवश्यक पनि छ तर अहिले अस्पतालमा अक्सिजन अभाव, बेड अभाव जस्ता समस्यालाई यसले कम गर्दैन । खोपको प्रभाव देखिन केही समय लाग्छ ।’

उनले वर्तमान समयमा कोरोना संक्रमणले निम्त्याएको संकट समाधानका लागि एउटा आयोग वा आपत्कालीन समूह बनाउनुपर्ने पनि बताए । यस्तो समूहले अक्सिजन तथा अन्य मेडिकल सामग्रीको सहज आपूर्तिको व्यवस्था मिलाउनुपर्ने उनको भनाइ छ । त्यस्तै भारतले यस कार्यमा अन्य देश र विश्व स्वास्थ्य संगठनको सहयोग लिनुपर्ने पनि उनले बताए ।

‘अन्य देश पनि भारतलाई सहयोग गर्न अग्रसर हुनुपर्छ । पछिल्लो संकटमा भारतले पनि अन्य देशलाई सहयोग गर्न निकै उदारता देखाएको छ,’ उनले भने । त्यस्तै चीनले कोरोना संक्रमण रोकथामका लागि अपनाएको उपाय पनि प्रभावकारी हुने डा. फौचीको भनाइ छ । ‘चीनले केही हप्ताभित्रै अस्थायी अस्पताल निर्माण गरेको थियो । जुन देखेर पूरा विश्व चकित थियो । भारतमा पनि मानिसहरु अस्पताल र उपचार खोजिरहेका छन् ।’

कोभ्याक्सिन भारतीय स्वरूपको कोरोनाविरुद्ध प्रभावकारी : डा. एन्थोनी फौची

अमेरिकामा कोरोना खोप वितरणमा नेसनल गार्डको सहयोग लिइएको उल्लेख गर्दै उनले भारतमा पनि सेनालगायतका विभिन्न समूहबाट अस्पताल निर्माणमा सहयोग लिन सकिने बताए । उनले भने, ‘यसमाथि गम्भीरतापूर्वक सोच्नु आवश्यक छ । अस्पताल निर्माणमा उनीहरुको सहयोग लिन सकिन्छ । सेनाले यसमा सहयोग गर्न सक्छ । के तपाईं अमेरिकाले झैं तत्काल सेनाको सहयोग लिन सक्नुहुन्छ ? अमेरिकाले कोरोना खोप वितरणमा नेसनल गार्डको सहयोग लिएको थियो ।’

कोरोना भाइरस शत्रु भएको उल्लेख गर्दै उनले युद्धकालीन अवस्थामा झैं फिल्ड अस्पताल निर्माण गर्नुपर्ने पनि बताए । भारतजस्तो देशमा अहिलेसम्म करिब २ प्रतिशत नागरिकलाई मात्र खोपको पूरा डोज लगाउनु निकै गम्भीर स्थिति भएको उनको भनाइ छ । भारतले खोप अभियानलाई छिटोभन्दा छिटो विस्तार गर्नुपर्ने पनि उनले बताए । संक्रमणको अवस्थालाई नजरअन्दाज गर्ने हो भने यसले अझ भयावह रुप लिने पनि उनले चेतावनी दिए । यसले समाजमा कस्तो विस्फोटक रुप लिन्छ भन्ने अमेरिकाको उदाहरणबाट बुझ्न सकिने पनि उनको भनाइ थियो ।

‘अमेरिका केही समयका लागि विश्वकै सबैभन्दा बढी प्रभावित देश रहेको थियो । अमेरिका विश्वकै धनी देश पनि हो । हामीले यसका लागि सबैभन्दा उत्कृष्ट तयारी गर्नुपथ्र्यो तर हामी सबैभन्दा नराम्री प्रभावित भयौं,’ उनले भने ।

कोरोना भाइरसले को धनी, को गरिब भनेर नहेर्ने पनि उनको भनाइ छ । ‘भाइरसले को कति धनी विकसित र उन्नत छ भन्ने हेर्दैन । यदि तपाईंले यसको रोकथाम र नियन्त्रणको उपाय पहिचान गर्नसक्नु भएन भने यसले निकै कठिन परिस्थितिमा पुर्‍याउनेछ,’ उनले भने । कोरोना संक्रमण कम नभएकै अवस्थामा यसविरुद्ध विजय प्राप्त भयो भनेर घोषणा गर्नु ठूलो गल्ती भएको उनको भनाइ छ ।

त्यस्तै छोटो समयको लकडाउनले कम क्षति हुने भन्दै यसबारेमा भारतले सोच्नुपर्ने पनि डा. फौचीले बताए । ‘मलाई लाग्छ भारतले तुरुन्त अस्थायी लकडाउन लागू गर्नुपर्छ । यस समय अक्सिजन, मेडिकल उपकरण, पीपीई किट र सहज उपचारको व्यवस्था उपलब्ध गराउनु सबैभन्दा महत्वपूर्ण कुरा हो । तर सबैभन्दा महत्वपूर्ण तुरुन्त लकडाउन गर्नु आवश्यक छ,’ उनले भने । ‘एक वर्ष पहिले चीनमा यस्तै विस्फोटक अवस्था आएको थियो । त्यतिबेला चीनले देशमा पूर्ण रुपमा लकडाउन गरेको थियो । यदि तपाईंले तुरुन्तै यस्तै कदम उठाउनुभयो भने ६ महिनाका लागि लकडाउन गर्नुपर्दैन । यसले संक्रमणको चेन तोड्न सकिन्छ,’ फौचीले भने ।

केही हप्ताका लागि पूर्ण रुपमा लकडाउन गर्ने हो भने संक्रमणको फैलावटलाई प्रभावकारी ढंगले कम गर्न सकिने उनको भनाइ छ । अमेरिकाका प्रसिद्ध संक्रामक रोग विशेषज्ञ डा. फौचीले अमेरिकाका ७ जना राष्ट्रपतिसँग काम गरिसकेका छन् ।

भारतमा कोरोना संक्रमणले एकपछि अर्को रेकर्ड राखिरहेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा मात्र ४ लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो एक दिनमा भारतमा ४ लाख १ हजार ९ सय ९३ जनामा संक्रमण पुष्टि भएको छ । एकैदिन कुनै पनि देशमा ४ लाखभन्दा बढीलाई संक्रमण देखिएको यो पहिलो पटक हो ।

प्रकाशित : वैशाख १८, २०७८ १२:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?