बेलायतमा प्लाटुन कमान्डर्स ब्याटल कोर्समा नेपाली सैनिक उत्कृष्ट- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेलायतमा प्लाटुन कमान्डर्स ब्याटल कोर्समा नेपाली सैनिक उत्कृष्ट

नवीन पोखरेल

लन्डन — प्रशिक्षणका लागि बेलायतमा रहेका नेपाली सेनाका एक अधिकृतले अर्को सफलता प्राप्त गरेका छन् ।नेपाली सेनाका २१ वर्षीय सेकेन्ड लेफ्टिनेन्ट पिटर थापा वेल्सको ब्रेकनस्थित इन्फेन्ट्री ब्याटल स्कुलमा भएको प्लाटुन कमान्डर्स ब्याटल कोर्स (पीसीबीसी) २००३ मा टप इन्टरनेसल स्टुडेन्ट घोषित भएका हुन् । 

गत १८ जनवरी २०२१ देखि ३० अप्रिल २०२१ सम्म भएको तीन महिने उक्त कोर्समा आयरल्यान्ड, कोसोभो, हंगेरी, स्कटल्याण्ड र नेपालबाट सैनिक अधिकृतहरु सहभागी थिए ।

प्लाटुन कमान्डिङ जस्तो चुनौतिपूर्ण कोर्समा आफ्नो इन्फेन्ट्री स्किल देखाउन नेपाली सैनिक अधिकृतहरु विगतमा देखि नै सफल भएकाले यसले नेपालको छवि विश्वमा उचो बनेको थापाले बताए ।

आउँदो जुलाई अन्त्यतिर नेपाल फर्कनुअघि थापाले अब कमान्डो कोर्स गर्ने छन् । बेलायतको रोयल मरिनले सञ्चालन गर्ने अल आर्मी कमान्डोले उक्त कोर्स गराउने थापाले बताए ।

यसअघि बेलायतको स्यान्डहर्स्टस्थित रोयल मिलिट्री एकेडेमीमा तालिमका क्रममा थापाले उत्कृष्ट क्षमता प्रदर्शन गरेर ‘इन्टरनेसनल सोर्ड अफ अनर’ अवार्ड पाएका थिए । २० वर्षयता नेपाली क्याडेटले उक्त अवार्ड पाएको यो पहिलो हो । ४४ साताको उक्त प्रशिक्षणमा विश्वका विभिन्न मुलुकका ३३ क्याडेट सामेल थिए ।

यसबाहेक थापाले प्लाटुन कमान्डर पाससमेत पाएका थिए । ब्रिटिस अफिसर क्याडेटलाई तालिम दिन योग्य उक्त ‘इन्स्ट्रक्टर पास’ नेपाललाई पहिलोपटक दिइएको हो । थापा कुनै पनि बेला रोयल मिलिट्री एकेडेमी स्यान्डहस्र्ट आएर ब्रिटिस क्याडेटलाई २ वर्षसम्म प्रशिक्षण दिन सक्नेछन् ।

थापा बेलायती सेनाको एउटा मात्र कोटामा छानिएर तालिममा आएका हुन् ।

दुई वर्षअघि मात्र नेपाली सेनामा भर्ती भएका धादिङ त्रिपुरासुन्दरी नगरपालिका निवासी थापाले बेलायतमा लिएको विभिन्न कोर्सले आफ्नो क्षमता अभिवृद्धि हुनुका साथै बेलायती सेनाको कार्यशैली र रणनीति बुझ्ने अवसर पाएको बताए । ‘विभिन्न देशका उच्च दर्जाका सैनिकहरुसँगको अन्तरक्रियाले अन्तर्राष्ट्रिय सम्बन्धबारे धेरै ज्ञान हासिल गर्न समेत पाएँ,’ उनी भन्छन् ।

प्रकाशित : वैशाख १८, २०७८ १३:३९
प्रतिक्रिया
पठाउनुहोस्

राजकुमार फिलिपको अन्त्येष्टि शनिबार

कोरोना  महामारीका कारण अन्त्येष्टि समारोहमा राजपरिवार सदस्यसहित ३० जना मात्रै सहभागी हुने
नवीन पोखरेल

लन्डन — बेलायती महारानी एलिजाबेथ द्वितीयाका श्रीमान् राजकुमार फिलिपको अन्त्येष्टि आउँदो अप्रिल १७ मा गरिने भएको छ । बेलायती राजदरबार बकिङ्घम प्यालेसका प्रवक्ताका अनुसार फिलिपको स्थानीय समयअनुसार दिउँसो ३ बजे विन्डसोरस्थित सेन्ट जर्ज गिर्जाघरमा अन्त्येष्टि गरिनेछ । फिलिपको गत शुक्रबार ९९ वर्षको उमेरमा स्वर्गारोहण भएको थियो ।

तस्बिर : रोयटर्स

फिलिपको सम्झनामा क्यान्टरबरीस्थित गिर्जाघरमा प्रार्थनासभा आयोजना गरिएको छ । क्यान्टरबरीका आर्च बिसप, जस्टिन वेल्बीको नेतृत्वमा उक्त प्रार्थना सभा आयोजना गरिएको थियो । आउँदो शनिबार हुने अन्त्येष्टि कार्यक्रमको नेतृत्व पनि उनले नै गर्ने अपेक्षा गरिएको छ । कोरोना भाइरसको महामारीका कारण अन्त्येष्टि समारोहमा राजपरिवार सदस्यहरू र निकटका ३० जनालाई मात्रै सहभागी गराइने बीबीसीले जनाएको छ ।

प्रधानमन्त्री बोरिस जोन्सनसमेत समारोहमा सहभागी हुने छैनन् । सर्वसाधारणलाई टाढै रहन भनिएको छ । फिलिप निवासमा सर्वसाधारणले पुष्पगुच्छा चढाइरहँदा त्यसको सट्टा च्यारिटीलाई सहयोग गर्न अपिल गरिएको छ । फिलिपको अन्त्येष्टिमा सहभागी हुन बेलायती प्रिन्स ह्यारी क्यालिफोर्नियाबाट लन्डन आउने भएका छन् । ह्यारी राजपरिवारको सम्पूर्ण जिम्मेवारी त्यागेर श्रीमती मेघन र छोरा आर्चीका साथ अमेरिकामा बस्दै आएका छन् । अन्त्येष्टिमा मेघन भने गर्भवती भएकाले चिकित्सकहरूको सुझावअनुसार सहभागी हुने छैनन् ।

सन् १९४७ नोभेम्बर २० मा बिहे गरेका राजकुमार फिलिप र रानीका ४ सन्तान, ८ नातिनातिना र १० जना पनाति–पनातिनी छन् । फिलिपको निधनसँगै ह्यारी मेघन र शाही परिवारबीच पछिल्लो समय देखिएको तिक्तता हट्ने अपेक्षा गरिएको छ । आमा डायनाको निधनपछि प्रिन्स ह्यारी र विलियमको अभिभावक रहेका बेलायती पूर्वप्रधानमन्त्री सर जोन मेजरले यो शोकको घडीले शाही परिवारबीचको दूरी अन्त्य गर्ने बताएका छन् ।

सरकारले फिलिपको निधनमा देशभर आठ दिन शोक मनाउने निर्णय गरेको छ । शोक मनाउने समयमा देशभर राष्ट्रिय झन्डा आधा र राजदरबारमा पूरै झन्डा झुकाइने छ ।

विश्व स्तब्ध

बेलायती महारानी एलिजाबेथ द्वितीयाका पति राजकुमार फिलिपको निधनप्रति विश्व समुदाय स्तब्ध भएको छ । विन्डसर क्यासलमा दिवंगत भएका फिलिपलाई विश्वभरका राजसंस्था, राष्ट्रप्रमुख, बहालवाला तथा पूर्वप्रधानमन्त्रीहरूले श्रद्धाञ्जली अर्पण गर्दै उनको योगदानको स्मरण गरेका छन् ।

युरोपेली राजपरिवार र कमनवेल्थ राष्ट्रका नेताहरूले स्वर्गिय फिलिपप्रति समवेदना प्रकट गर्दै उनको असाधारण राष्ट्रसेवाको स्मरण गरेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेन र जीवित सबै अमेरिकी पूर्वराष्ट्रपतिहरू, पोप फ्रान्सिस र आध्यात्मिक तिब्बती नेता दलाई लामाले पनि समवेदना प्रकट गरेका छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङले बेलायती महारानीलाई समवेदना सन्देश पठाएको बीबीसीले जनाएको छ । फिलिपको निधनमा अस्ट्रेलियाको क्यानबेरास्थित संसद् भवनको झन्डा आधा झुकाइएको छ । प्रिन्स फिलिप सन् १९५४ मा राज्याभिषेकपछि पहिलो विदेश भ्रमणका क्रममा रानीका साथ अस्ट्रेलिया पुगेका थिए ।

राजकुमार फिलिपको जन्म सन् १९२१ जुन १० मा ग्रिसको कोर्फु द्वीपमा भएको थियो । उनी ग्रिसका राजकुमार एन्ड्र्यु र बाटेनवर्गकी राजकुमारी एलिसका एकमात्र छोरा थिए । बेलायतकी महारानीसँग सात दशकभन्दा लामो वैवाहिक जीवन सँगै बिताएका फिलिप र महारानीले विश्वका सयौं राजकीय भ्रमण गरेका थिए । सन् १९५२ देखि अवकाश नलिँदासम्म झन्डै २२ हजार त्यस्ता कार्यक्रममा सहभागी भएका थिए । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार, फिलिपमा युवाहरूको कल्याण तथा वन्यजन्तु र प्रकृति संरक्षणमा विशेष रुचि थियो ।

सन् २०१७ अगस्टमा सार्वजनिक जीवनबाट अवकाश लिएका प्रिन्स फिलिप केही समयअघि अस्वस्थ भएका कारण एक महिना अस्पतालमा बिताएर गत मार्च १६ मा आफ्नो निवास विन्डसर क्यासल फर्किएका थिए । सन् १९५२ को फेब्रुअरीमा फिलिप र एलिजाबेथ केन्या भ्रमणमा रहेका बेला बेलायतका राजा जर्ज छैटौंको निधन भएपछि बेलायती महारानी बनेकी आफ्नी पत्नी एलिजाबेथलाई राजकुमार फिलिपको जीवनपर्यन्त दरिलो साथ थियो ।

प्रकाशित : चैत्र ३०, २०७७ १२:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×