भारतमा पत्रकार आफैं बन्दै छन् समाचार- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतमा पत्रकार आफैं बन्दै छन् समाचार

खोप पाउने सूचीमा नपरेका उनीहरु रिपोर्टिङमा आफ्नो सुरक्षामा संवेदनशील पनि हुन सकेनन्
सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतीय टेलिभिजन पत्रकार रोहित सरदानाको शुक्रबार निधन भयो । उनलाई एक साताअघि कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा सुधार भइरहेका बेला शुक्रबार बिहान ‘कार्डिआक अरेस्ट’ का कारण उनको मृत्यु भएको हो । सरदानाले आजतक टीभीमा ‘दंगल’ र ‘दस तक’ कार्यक्रम चलाउँथे । त्यस्तै महामारी सुरु भएदेखि नै दिनरात नभनी रिपोर्टिङमा खटेका च्यानल न्युज नेसनका पत्रकार मनोज कुमार आफैं समाचार बने ।

एक वर्षभित्र कैयन् संक्रमितहरूका कथा र व्यथा उनको रिपोर्टिङमा समेटिए । उनले गत मंगलबार कोरोना संक्रमणबाट ज्यान गुमाए । बेलायती पत्रिका द गार्जियनकी दिल्ली संवाददाता ककोली भट्टाचार्यको पनि कोरोनाले नै ज्यान लियो । ५१ वर्षीय भट्टाचार्य करिब १२ वर्षदेखि गार्जियनको दिल्लीस्थित दक्षिण एसिया ब्युरोमा आबद्ध थिइन् ।

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरूको संख्याले हरेक दिन नयाँ रेकर्ड बनाउने क्रमसँगै संक्रमणकै कारण मृत्यु हुने पत्रकारहरूको यस्तो सूची दिनहुँ लामो बन्दै गएको छ । एक अध्ययनले पछिल्लो एक वर्षमा महामारीको जोखिमपूर्ण सही सूचनाका लागि कुदिरहेका पत्रकारहरू आफैं पनि संक्रमित भएका छन् र करिब डेढ सय जनाले ज्यान गुमाउनुपरेको छ । प्रेस क्लब अफ इन्डियाले त अप्रिलको महिनामा प्रत्येक दिन कम्तीमा एक जना पत्रकार गुमाउनुपरेको जनाएको छ । भारतीय महिला पत्रकारहरूको सञ्जाल (नेटवर्क अफ वुमन इन मिडिया) को तथ्यांकअनुसार महामारी सुरु भएयता १ सय ५५ जना भारतीय पत्रकारहरूले संक्रमणका कारण ज्यान गुमाएका छन् । त्यसैगरी इन्स्टिच्युट अफ पर्सेप्सनले गरेको अर्को एक अध्ययनले पछिल्लो एक वर्षमा संक्रमणबाट ज्यान गुमाउनेहरूमा उत्तरप्रदेशका पत्रकार बढी छन् ।

अध्ययनका अनुसार २० अप्रिल २०२० देखि २१ अप्रिल २०२१ सम्ममा उत्तरप्रदेशमा मात्र १५ पत्रकारको मृत्यु संक्रमणका कारण भएको छ । दोस्रो स्थानमा छ तेलंगना । त्यहाँ ११ जनाको ज्यान गएको छ भने राजधानी दिल्लीमा ५ जना पत्रकारको मृत्यु भएको छ । अध्ययनका अनुसार पछिल्लो चार महिना मात्र संक्रमणले ३१ पत्रकारको ज्यान लिएको छ । र, यो संख्या दिनहुँ बढ्दो छ । र, युवादेखि पाका पत्रकारसम्मले कोरोनासँग जुध्दाजुध्दै हार मानेका छन् । वामपन्थी नेता सीताराम यचुरीका ३४ वर्षीय छोरा आशिष यचुरीको पनि संक्रमणबाट एक साताअघि मृत्यु भएको थियो । उनी न्युजलन्ड्रीमा सहायक सम्पादक पदमा कार्यरत थिए । पत्रकार यचुरीको हरियाणाको मेदान्त अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

अघिल्लो मंगलबार पाका पत्रकारद्वय पीपी पाण्डे र बिजन सरकारले पनि कोरोना भाइरसविरुद्धको लडाइँ जित्न सकेनन् । त्यस्तै गत आइतबार मुम्बईमा वरिष्ठ द हिन्दुका फोटो पत्रकार विवेक बेन्द्रेको संक्रमणकै कारण मृत्यु भयो । करिब ३० वर्ष फोटो पत्रकारिता गरेका बेन्द्रेले सन् १९९३ मुम्बईमा भएको शृंखलाबद्ध बम विस्फोटको तस्बिरका कारण निकै चर्चा बटुलेका थिए । पाँच दिनअघि अर्का पुराना पत्रकार सन्तोष कुमारको पनि कोरोनाले नै ज्यान लिएको थियो ।

संक्रमित पत्रकारहरूको संख्या त गनिसाध्य छैन । न कसैले यसको तथ्यांक राखेको छ । पत्रकारहरूले पनि अन्य नागरिकहरूले जस्तै बेड, अक्सिजन र रेम्डेसिभिरलगायतका अत्यावश्यक औषधिहरूका लागि हारगुहार गरिरहेको देखिन्छ । कति पत्रकारले त अक्सिजनको गुहार गर्दै मृत्युवरण गरेका छन् । अघिल्लो साता लखनउका स्वतन्त्र पत्रकार विनय श्रीवास्तवको ट्वीटरमा अक्सिजनका लागि गुहार गर्दागर्दै मृत्यु भयो । उनले २४ घण्टादेखि आफ्नो अक्सिजन निरन्तर घटिरहेको भन्दै सहयोगका लागि याचना गरिरहे । याचना सुन्ने कोही भएनन्, भोलिपल्ट उनको मृत्यु भयो ।

यति धेरै संख्यामा पत्रकारहरू संक्रमित हुने र ज्यान गुमाउनुपर्ने परिस्थिति कसरी बन्यो त ? दिल्लीस्थित भारतीय आमसञ्चार अध्ययन संस्थान (आईआईएमसी) का प्राध्यापक तथा पूर्वपत्रकार आनन्द प्रधान महामारीका बेला अपनाइनुपर्ने सावधानी र सतर्कमा गम्भीर नभएका कारण पत्रकारहरूले असमयमै ज्यान गुमाउनुपरेको बताउँछन् । ‘अस्पताल, गल्लीगल्ली, शवदाह गृह केही नभनी अत्यन्त जोखिमपूर्ण वातावरणमा रिपोर्टिङ गरिरहेका छन् तर त्यसका लागि चाहिने सावधानी र पूर्वतालिम नभएकाले पनि धेरै पत्रकारहरूको ज्यान गएको हो,’ उनले भने ।

प्रकाशित : वैशाख १८, २०७८ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्

पोडीचरी विश्वविद्यालयद्वारा सबै विदेशी विद्यार्थीलाई होस्टल छाड्न आदेश

होस्टल नछाडे पानी र बिजुली बन्द गर्ने नेपाली विद्यार्थीलाई कर्मचारीको धम्की
सुरेशराज न्यौपाने

नयाँदिल्ली — दक्षिण भारतको पोडीचरी विश्वविद्यालयले पनि महामारीको कारण देखाउँदै आवासीय विद्यार्थीहरुलाई शुक्रबार (३० अप्रिल) सम्म होस्टल छाड्न भनेको छ । विश्विद्यालयले २२ तारिखमा एक सूचना जारी गर्दै होस्टल खाली गर्न भनेको थियो । त्यत्तिमात्र होइन होस्टल छाड्नका लागि कर्मचारीहरुले धम्कीसमेत दिएका छन् ।

विश्वविद्यालयको होस्टल छाड्ने आदेश र कर्मचारीको धम्कीका कारण होस्टलमा रहेका छ जना विदेशी विद्यार्थीहरु तनावमा परेका छन् । तिनमा नेपाल, बंगलादेश, श्रीलंका, जिम्बाबेबाट एक/एक जना र दुई जना अफगानिस्तानका छन् । ‘गत वर्ष पनि होस्टल खाली गराइएको थियो तर, विदेशी विद्यार्थीहरुलाई बस्न दिइएको थियो । यसपटक पनि त्यस्तै होला भनेर ढुक्क थियौं । तर, यसपटक होस्टल छाड्न धम्की नै दिइएको छ जसले गर्दा हामी सबै तनावमा छौं’, अन्तर्राष्ट्रिय मामिला विषयमा स्नातकोत्तर अध्ययनरत विभु लुइँटेलले भनिन् ।

उनले बुधबार दुई जना कर्मचारीहरु अनुमति नलिई कोठामा छिरेको र दुई दिनमा होस्टल छाड् भनेर धम्की दिएको बताइन् । ‘म बाथरुम गएको बेला नसोधी सिधै कोठामा आए अनि शुक्रबारसम्म नछाडे पानी र बिजुली बन्द गरिदिन्छु भन्ने धम्की दिएर गए’ लुइँटेलले भनिन् ।

लुइँटेलले महामारीका कारण विद्यार्थीहरु आफै तनाव र त्रासमा रहेका बेला विश्वविद्यालयले होस्टल छाड्न भन्दै अमानवीय व्यवहार गरेको बताइन् ।‘बाहिर डेरा पनि पाइँदैन नेपाल जान पनि यहाँबाट सहज छैन’ उनले भनिन् । साथै उनले विश्वविद्यालयमा अझै पनि धेरै कर्मचारी बसिरहेको तर, विद्यार्थीहरुलाई मात्र जबर्जस्ती होस्टल छाड्न भनिएको आरोप लगाइन् । ‘अझै पनि धेरै कर्मचारी यहाँ बसिरहेका छन् । तर हामीलाई मात्र यस्तो व्यवहार गर्नु खेदजनक हो’ उनले भनिन् ।

विश्वविद्यालयको होस्टल खाली गराउने र कर्मचारीले होस्टल छाड्न धम्की दिएको प्रति त्यहाँको विद्यार्थी काउन्सिलले पनि गम्भीर चासो प्रकट गरेको छ । ‘अहिलेको कठिन समयमा विद्यार्थीलाई अलपत्र नपार्न र महामारीको स्वास्थ्य मापदण्ड पालना गर्ने गरी होस्टलमा बस्न आवश्यक प्रबन्ध मिलाउन अनुरोध गर्छौं’ परिषद्ले विश्वविद्यालयलाई लेखेको पत्रमा भनेको छ । साथै परिषद्ले विद्यार्थीहरुलाई कर्मचारीहरुले होस्टल छाड्न धम्की दिइएको प्रति पनि चासो प्रकट गर्दै त्यस किसिमका गतिविधिले विद्यार्थीहरुको जीवन नै खतरा पार्ने भन्दै चिन्ता व्यक्त गरेको छ ।

विद्यार्थीहरुलाई होस्टल छाड्न धम्की दिइएको विषयमा दिल्लीस्थित नेपाली दूतावासले पनि चासो देखाएको छ । भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले यस विषयमा विश्वविद्यालय प्रशासनलाई पत्राचार भइसकेको र विश्वविद्यालयले विद्यार्थीलाई होस्टलबाट नहटाउने प्रतिबद्धता जनाएको बताए । ‘विश्वविद्यालयले लिखित पत्र मागेको थियो, हामीले पठायौं । र, अब नहटाउने जानकारी दिएको छ’ राजदूत आचार्यले भने ।

राजदूत आचार्यले त्यसो भने पनि नेपाली विद्यार्थी लुइँटेलले कान्तिपुरसँग विश्वविद्यालयले अझै पनि होस्टल छाड्न दबाब दिइरहेको बताइन् । ‘दूतावासले पत्र लेखेर आग्रह गरे पनि मलाई विश्वविद्यालयका निर्देशकले नै होस्टल जसरी पनि छाड्नु पर्छ भनेका छन्’ उनले भनिन् ।

यसअघि दिल्लीस्थित साउन एसियन युनिभर्सिटि (साउ) ले पनि आवासीय विद्यार्थीहरुलाई १० मेभित्र होस्टल छाड्न भनेको थियो । जसले गर्दा होस्टलमा रहेका २० नेपालीलाई कोरोना त्रासकै बीच घर जाने चिन्तामा परेका छन् ।


प्रकाशित : वैशाख १६, २०७८ १५:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×