अन्तरिक्षमा स्टेशन बनाउन चीनद्वारा रकेट प्रक्षेपण

एजेन्सी

बेइजिङ — चीनले स्थायी अन्तरिक्ष स्टेसन निर्माण गर्ने महत्वाकांक्षी कार्यक्रमका लागि आवश्यक सामग्रीको केही अंश बिहीबार प्रक्षेपण गरेको छ ।

अन्तरिक्षमा स्टेशन बनाउन चीनद्वारा रकेट प्रक्षेपण

स्टेसन निर्माणका लागि अन्तरिक्ष यात्रुहरूको बासस्थान रहने ‘तिन्हे’ अंश वेनचाङ् अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट ‘लङ मार्च–५बी’ रकेटमार्फत बिहीबार प्रक्षेपण गरिएको हो । चीनले सन् २०२२ सम्ममा अन्तरिक्षमा आफ्नै नयाँ स्टेसन सञ्चालनमा ल्याउने बताइसकेको छ ।

अहिले अन्तरिक्षमा एक मात्र स्टेसन छ । उक्त अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा चीनलाई सहभागी गराइएको छैन । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन सन् २०२४ मा बन्द हुने बताइएको छ । त्यसपछि अन्तरिक्षमा चीनको मात्र स्टेसन हुने सम्भावना छ ।

अन्तरिक्ष अन्वेषणसम्बन्धी कार्यमा अमेरिकी र रुसको तुलनामा चीन निकै पछाडि छ । चीनले सन् २००३ मा मात्रै अन्तरिक्षमा आफ्नो पहिलो यात्री पठाएको थियो । अमेरिका र रुस (तत्कालीन सोभियत संघ) ले त्यसभन्दा निकै अघि अन्तरिक्षमा यात्री पठाएका थिए ।

चीनले हालसम्म परीक्षणका रूपमा अन्तरिक्षमा पठाएका दुइटा स्टेसनमा छोटो समयका लागि यात्रीहरू रहन सक्छन् । तिन्हे स्टेसन अन्तरिक्षमा कम्तीमा १० वर्ष सञ्चालनमा रहने चिनियाँ अधिकारीको भनाइ छ ।

पृथ्वीबाट ३४० देखि ४५० किलोमिटरको दूरीमा रहने स्टेसनका लागि चीनले कम्तीमा अन्य १० वटा अंशहरू पठाउने जनाएको छ ।

यसअघि चीन र रुसले संयुक्त रूपमा चन्द्रमाको सतहमा अन्तरिक्ष स्टेसन बनाउने घोषणा गरेका थिए । अन्तरिक्ष कार्यक्रममा ठूलो खर्च गरेको चीन सन् २०१९ मा चन्द्रमाको पछिल्लो भागमा मानवरहित यान पठाउने पहिलो देश हो ।

प्रकाशित : वैशाख १६, २०७८ २२:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?