भारतलाई सहयोग गर्न विश्व समुदायसँग प्रियांकाको अनुरोध 

एजेन्सी

कोरोनाको दोस्रो लहरसँगै बढ्दो मृत्युदरसँग लडिरहेको भारतका लागि बलिउड अभिनेत्री प्रियांका चोपडाले सहयोग मागेकी छन्  । सामाजिक सञ्जाल इन्स्टाग्राममा सार्वजनिक गरेको भिडियोमा उनले भारतको गम्भीर अवस्थाको वर्णन गर्दै सहयोगका लागि अनुरोध गरेकी हुन् । 

भारतलाई सहयोग गर्न विश्व समुदायसँग प्रियांकाको अनुरोध 

'म अहिले लन्डनमा छु । मेरा साथीभाइ र परिवारबाट सुन्दैछु भारतको अस्पताल कोभिडका बिरामीले भरिभराउ छन् । आइसीयु खाली छैन । एम्बुलेन्स उस्तै अस्तव्यस्त छन् । अक्सिजनको अभाव छ । अत्यधिक मृत्युले शव जलाउन हम्मेहम्मे परेको छ । भारत मेरो घर हो र अहिले त्यहाँको अवस्था नाजुक छ,' उनले भिडियोमा भनेकी छिन् । भिडियोमार्फत् उनले भारतलाई तत्काल सहयोगको खाँचो परेको उनले बताएकी छिन् ।

'भारतको यस्तो अवस्थालाई विश्व समुदायले ध्यान दिन आवश्यक छ । किन त्यहाँ सहयोगको खाँचो छ म भन्छु- जबसम्म कोही सुरक्षित हुँदैन अरु पनि सुरक्षित हुन सक्दैनन् । त्यसैले आफ्नो स्रोत र शक्तिको प्रयोग गरेर यो महामारीलाई रोकौं,' उनले भनेकी छिन्, 'कृपया सहयोग गर्नुहोस् । मलाई थाहा छ भारतमा यस्तो परिस्थिति किन आयो भनेर धेरै सोच्दै हुनुहुन्छ । त्यसबारे पछि बहस गरौंला तर अहिले तत्काल त्यहाँ सहयोगको खाँचो छ । अहिले भारतलाई तपाईंको खाँचो छ ।'

उनले भारतको लागि राहत संकलन गर्न 'गिभ इन्डिया' फन्ड पनि बनाएकी छन् । 'तपाईंको सानो सहयोगले ठूलो फरक पार्नेछ । ६३ लाख बढीले मलाई फलो गर्नुभएको छ । एक लाखले मात्रै १० डलर सहयोग गर्नुभयो भने १० लाख हुन्छ,' उनले इन्स्टाग्राममा लेखेकी छिन् । यसअघि पनि भारतलाई सहयोग आवश्यक पर्दा प्रियांकाले बोल्दै आएकी थिइन् ।

प्रकाशित : वैशाख १६, २०७८ १२:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?