२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

भारत आइपुग्यो बेलायतको सहयोग

- पछिल्लो समय अनियन्त्रित बनेको कोरोना भाइरसको महामारीसँग जुध्न भारतलाई अमेरिका, बेलायत, ईयूलगायतले आपत्कालीन सामग्री सहयोग गरेका हुन्
एजेन्सी

नयाँदिल्ली — भारतमा पछिल्लो समय अनियन्त्रित बनेको कोरोना भाइरसको महामारीसँग जुध्न बेलायतले गरेको सहयोग पहिलोपटक नयाँदिल्ली आइपुगेको छ ।

भेन्टिलेटर र अक्सिजन उपकरणलगायतको बेलायती सहयोग मंगलबार दिउँसो भारत आइपुगेको हो । संक्रमण तीव्र रूपमा फैलिएपछि भारतमा पछिल्ला दुई सातायता अक्सिजन, आईसीयू बेडको चरम अभाव भएको छ । अधिकारीहरुले अझ धेरै अक्सिजन तथा भेन्टिलटरको आवश्यकता रहेको बताएका छन् ।

एक स्वास्थ्य सल्लाहकारले १ अर्ब ३० करोडभन्दा बढी जनसंख्या भएको देशका लागि बेलायतको सहयोग समुद्रमा पानीको थोपासरह भएको प्रतिक्रिया दिएका छन् । बीबीसीसँग कुरा गर्दै जरिर उद्वादियाले मुम्बईका अस्पतालहरुमा अक्सिजन तथा भेन्टिलेटरको अभावमा मानिसहरु छटपटाइरहेको देखेको बताएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार अक्सिजनको अभाव पूर्तिका लागि सबै जिल्लामा अक्सिजन प्लान्ट स्थापना गरिने ट्वीटरमार्फत जनाएका छन् । पछिल्लो लहरको संक्रमणलाई मोदीले ‘आँधीबेहरी’ संज्ञा दिएका छन् । दोस्रो लहरको संक्रमण रोक्न विफल भएको भन्दै सरकारको कडा आलोचना भएपछि मोदीको भनाइ सार्वजनिक भएको हो ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार मंगलबार ३ लाख २३ हजार १ सय ४४ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा संक्रमितमध्ये कम्तीमा २ हजार ७ सय ७१ जनाको मृत्यु भइसकेको छ । सोमबार ३ लाख ५२ हजार ९ सयभन्दा बढी संक्रमित भएका थिए । अधिकारीहरुका अनुसार दिल्लीलगायत राज्यमा परीक्षण दर घटेकाले संक्रमित संख्यामा केही कमी आएको हो । केही दिनयता ६० हजारभन्दा बढीको परीक्षण गरेको दिल्लीले मंगलबार ४५ हजार जनामा मात्र भाइरस परीक्षण गरेको हो । अप्रिल १३ मा दिल्लीमा १ लाख ८ हजार जनामा भाइरस परीक्षण गरिएको थियो । कपितय प्रयोगशालाले कामको चाप बढेको भन्दै तीन दिनसम्म पनि परीक्षणको रिपोर्ट नदिएका भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

त्यसैगरी, अमेरिकालगायत अन्य देशहरुले सहयोग गरेका आपत्कालीन सामग्रीहरू पनि भारत आउने क्रममा रहेका जनाइएको छ । अमेरिकाले कच्चा पदार्थमा लगाएको निर्यात प्रतिबन्धसमेत हटाइसकेको भारतमा खोप निर्माणका लागि पछिल्लो समय कच्चा पदार्थको निकै अभाव छ । अमेरिकाले भारतका लागि भेन्टिलेटर, पीपीई तथा परीक्षण किटहरू पठाइसकेको सीएनएनले जनाएको छ ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसले सोमबार भारतका खोप उत्पादकहरूलाई आवश्यक पर्ने कच्चा पदार्थ तत्काल उपलब्ध गराउने जनाएको हो । ‘महामारीको सुरुवाती चरणमा जसरी भारतले हामीलाई सहयोग गर्‍यो, त्यसरी नै हामी पनि भारतलाई मद्दत गर्न प्रतिबद्ध छौं,’ अमेरिकी राष्ट्रपति जो बाइडेनले भनेका छन् । भारतीय अधिकारी तथा सिरम इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत अदर पुनावालाले अमेरिकालाई कच्चा पदार्थमा लगाएको निर्यात प्रतिबन्ध हटाइदिन आग्रह गरेका थिए ।

त्यसैगरी, बेलायतले भारतका लागि भेन्टिलेटर तथा अक्सिजन कन्सन्ट्रेटरसहित ६ सय वटा उपकरणहरू पठाएको छ । ती सामग्री मंगलबार बिहान नयाँदिल्ली उत्रने जनाएका छन् । ‘यो निकै चिन्ताजनक समयमा हामी एक मित्र र साझेदारका रूपमा भारतसँगै उभिएका छौं,’ बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले भनेका छन् ।

भारतले जर्मनीबाट पनि उपकरणहरू निर्यात गर्न लागेको छ । ती सामग्रीहरू शुक्रबारसम्म देशभित्र आइपुग्ने भारतीय रक्षा मन्त्रालयले जनाएको छ । फ्रान्सले भारतका लागि आफूले सक्दो अक्सिजन आपूर्ति गर्ने बताएको छ । युरोपेली संघले पनि अक्सिजन तथा औषधि भारत पठाउने बताएको छ । त्यसैगरी, सिंगापुर, संयुक्त अरब इमिरेट्स, साउदी अरबले पनि विभिन्न सामग्री तथा उपकरणहरू पठाइसकेका बीबीसी हिन्दीले उल्लेख गरेको छ ।

प्रकाशित : वैशाख १४, २०७८ २१:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?