२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

बलिउडका चर्चित संगीतकार श्रवण राठोरको कोरोना संक्रमणबाट मृत्यु

छुट्यो नदीम–श्रवणको जोडी

काठमाडौँ — बलिउडका चर्चित संगीतकार श्रवणकुमार राठोरको निधन भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उनको मृत्यु कोरोना संक्रमणबाट भएको हो । उनी ६६ वर्षका थिए । 

बलिउडका चर्चित संगीतकार श्रवण राठोरको कोरोना संक्रमणबाट मृत्यु

बलिउडमा श्रवण र नदिम अख्तर सैफीको जोडी नदिम–श्रवणका नामले चर्चित थियो । श्रवणलाई केही दिनपहिले कोरोना संक्रमण भएपछि मुम्बईस्थित एसएल रहेजा अस्पताल भर्ना गरिएको थियो । कोरोना संक्रमित भए पनि उनको मृत्युको कारण हृदयघात र मल्टिपल अर्गान फेलियर भएको चिकित्सकले बताएका छन् ।

बुबाको मृत्युको पुष्टि गर्दै छोरा सञ्जीव राठोरले लेखेका छन्, ‘केही समयअघि बुबाले हामीलाई छाडेर बिदा हुनुभएको छ । हृदयघातले उहाँको ज्यान लियो । उहाँको शरीरका केही अंगले काम गर्न छाडेका थिए ।’ अस्पतालमा उनलाई भेन्टिलेटरमा राखिएको थियो । उनको उपचारमा संलग्न चिकित्सकका अनुसार उनमा रक्तसञ्चार सही प्रकारले भइरहेको थिएन । कोरोना संक्रमणपछि मधुमेहका बिरामीसमेत रहेका उनको कलेजोमा पनि समस्या देखिएको थियो ।

सन् १९९० को दशकमा नदिम–श्रवण जोडीको बलिउडमा दबदबा थियो । उनीहरूले संयुक्त रूपमा थुप्रै हिट चलचित्रमा संगीत भरेका छन् । चलचित्र ‘आसिकी’ का रोमान्टिक गीतमा उनीहरूले दिएको सांगीतिक धुन निकै लोकप्रिय छ ।

टी–सिरिज कम्पनीका मालिक गुलसन कुमारको हत्याको आरोप लागेपछि नदिमले भारत छाडेका थिए । त्यसै कारण नदिम र श्रवण सन् १९९७ मा अलग भएका थिए । उनीहरू सन् २००० मा फेरि सँगै आए । त्यसपछि ‘धड्कन’, ‘राज’, ‘डु नट डिस्टर्ब’ मा सँगै काम गरेका थिए । त्यसपछि श्रवण कैयौं टेलिभिजन शोहरुमा जज बनेका थिए । सन् २००५ बाट भने उनी सांगीतिक क्षेत्रमा सक्रिय हुन छाडेका थिए ।

श्रवणको जन्म सांगीतिक परिवारमै भएको थियो । उनका बुबा पण्डित चतुर्भुज राठोर हिन्दुस्तानी शास्त्रीय गायक थिए । श्रवणका दुई छोरा सञ्जीव र दर्शन पनि संगीतकार नै हुन् ।

‘आसिकी’का अलावा नदिम–श्रवणले ‘साजन’, ‘सडक’, ‘दिल है कि मानता नहीँ’, ‘फूल और काँटे’, ‘हम हैं राही प्यारे के’, ‘राजा हिन्दुस्तानी’, ‘दिलवाले’, ‘सिर्फ तुम’, ‘धड्कन’लगायतका चर्चित चलचित्रमा संगीत दिएका थिए । एक समय बलिउडमा यो सांगीतिक जोडी सबैभन्दा सफल र महँगो मानिन्थ्यो ।

प्रकाशित : वैशाख १०, २०७८ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?