राहुल गान्धीलाई कोरोना संक्रमण- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राहुल गान्धीलाई कोरोना संक्रमण

कान्तिपुर संवाददाता

नयाँदिल्ली — भारतको विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसका पूर्व अध्यक्ष तथा नेता राहुल गान्धीलाई कोरोना संक्रमण भएको छ । गान्धीले मंगलबार अपरान्ह ट्विट गर्दै आफू संक्रमित भएको जानकारी गराएका छन् ।

‘सामान्य लक्षण देखिएपछि परीक्षण गर्दा मलाई कोरोना संक्रमण पुष्टि भएको छ । हालैका दिनमा मेरो सम्पर्क आउने सबैजनाले कृपया स्वास्थ्य मापदण्ड पालना गरिदिनुहोला र सुरक्षित रहनुहोला’ गान्धीले ट्विटमा भनेका छन् । गान्धी पछिल्लो समय पश्चिम बंगाल, तमिलनाडु, केरला र असमको विधानसभाको चुनावी अभियानमा व्यस्त थिए ।

सोमबार मात्रै भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । सिंहले कोरोना खोपको दुई वटै डोज लगाइसकेका थिए । हाल उनको दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट फर मेडिकल साइन्सेस् (एम्स्) मा उपचार भइरहेको छ । ८८ वर्षीय सिंहको स्वास्थ्य सुधारोन्मुख रहेको बताइएको छ ।

प्रकाशित : वैशाख ७, २०७८ १६:५०
प्रतिक्रिया
पठाउनुहोस्

एसियाकै प्रभावशाली युवाको सूचीमा गौरिका

राजु घिसिङ

काठमाडौँ — पौडीमा तहल्का मच्चाइरहेकी गौरिका सिंह प्रभावशाली युवाहरूको सूची ‘फोर्ब्स थर्टी अन्डर थर्टी एसिया २०२१’ मा परेकी छन् ।

स्वीमर गौरिका सिंह प्रभावशाली युवाहरूको सूची ‘फोर्ब्स थर्टी अन्डर थर्टी एसिया २०२१’ मा परेकी छन् । चर्चित अमेरिकी म्यागजिन फोर्ब्सले मंगलबार सार्वजनिक गरेको सूचीमा गौरिका ‘इन्टरटेन्मेन्ट एन्ड स्पोर्ट्स’ तर्फ एसियाकै प्रभावशाली ३० युवामा परेकी हुन् ।

सात वर्षयता नेपाली पौडीमा सनसनीपूण प्रदर्शन गरिरहेकी १८ वर्षीया गौरिकालाई प्रभावशाली युवामा समावेश गर्दै फोर्ब्सले लेखेको छ, ‘गौरिका सिंह नौ वर्ष भएदेखि नै पौडीमा छिन् र १२ वर्षदेखि नै नेपालको लागि प्रतिस्पर्धा गरिरहेकी छन् । दक्षिण एसियाली खेलकुद २०१९ मा चार स्वर्ण, दुई रजत र तीन कांस्यपदक जितिन् । उनी रियो ओलम्पिक २०१६ मा सबभन्दा कम उमेरकी खेलाडी थिइन् । उनी टोकियो ओलम्पिक २०२० लाई पनि छनोट भएकी छन्, जुन स्थगित भएर जुलाई–अगस्ट २०२१ मा हुदैछ । पौडीबाहेक उनी समाजसेवामा पनि संलग्न छिन् । उनी गैरनाफामूलक संस्थाहरू माइती नेपाल र शान्ति एजुकेसन इनिसिएटिभकी सद्‍भावना दूत हुन् ।’

उनीसहित ३० वर्षमुनिका ३० जना प्रभावशाली युवालाई फोर्ब्सले थर्टी अन्डर थर्टी एसियाको इन्टरटेन्मेन्ट एन्ड स्पोर्टस् विधामा समावेश गरेको हो । गायक/गायिकासहित मनोरन्जन उद्योगमा संलग्न युवाहरू र खेलाडीलाई यस विधामा राखिएको छ । फोर्ब्सको यस विधामा गत वर्ष नेपाली एमेच्योर गल्फर प्रतिमा शेर्पा परेकी थिइन् ।

यसपाली गौरिकासहित दुई नेपाली युवा फोर्ब्सको सूचीमा परेका छन् । २९ वर्षीय प्रकाश काइराला ‘फाइनन्स एन्ड भेन्चर क्यापिटल’ तर्फ महादेशकै प्रभावशाली ३० युवामा पुगेका हुन् । फिनलिट नेपालका यी संस्थापकले सन् २००९ यता वितीय साक्षरताको अभियान चलाइरहेका छन् ।

इन्टरटेन्मेन्ट एन्ड स्पोर्ट्स, सोसल इम्प्याक्ट, हेल्थ केयर एन्ड साइन्स, फाइनन्स एन्ड भेन्चर क्यापिटल, आर्टस्, इन्टरप्राइज टेक्नोलोजी, कन्ज्युमर टेक्नोलोजी, रिटेल एन्ड इकमर्स, इन्डस्ट्री म्यानुफ्याक्चरिङ एन्ड इनर्जी र मिडिया, मार्केटिङ एन्ड एडभरटाइजिङ गरी दस विधामा फोर्ब्सले ३० वर्षमुनिका प्रभावशाली युवाको सूची निकालेको हो । हरेक विधामा ३०–३० जनालाई छनोट गरिएको छ । यसमा २ हजार ५ सय बढी मनोनयनमा परेको फोर्ब्सले जनाएको छ ।

‘अत्यन्तै खुसी’

फोर्ब्सको सूचीमा छनोट भएपछि गौरिकाले आफ्नो इन्स्टाग्राममा पोष्ट गरेकी छन्, ‘अत्यन्तै खुसी छु । फोर्ब्स थर्टी अन्डर ३० एसियाको क्लास अफ २०२१ मा छनोट भएको घोषणा गर्न पाउँदा एकदमै खुसी छु । म साँच्चिकै प्रतिभावान् र धैर्य मानिसहरूसँगै सम्मानित भएकी छु । र, म खेलकुदमा महिला र मेरो देश दुवैको प्रतिनिधित्व गर्न सक्षम भएकी छु ।’ गरिमा राणा र पारस सिंहका पहिलो सन्तान गौरिका स्वदेशमा जन्मिएपछि लन्डनमा हुर्किइन् र उतै स्वीमिङ करिअरलाई अगाडि बढाएकी हुन् ।

कोरोना भाइरसको महामारीको कारण स्वीमिङ पुलमा ट्रेनिङ गर्नबाट लामो समय बञ्चित भएपछि गौरिका गत माघमा स्वदेश आएकी थिइन् । टोकियो ओलम्पिकको तयारीलाई जोड दिँदै उनले ५६ दिनको स्वदेश बसाइमा कालो पुलस्थित बेस्ट भेन्यूको हिटिङ सिस्टम भएको स्वीमिङ पुलमा अभ्यास गरेकी थिइन् । चैत २० मा लन्डन फर्केपछि उतै ट्रेनिङ गरिरहेकी छन् ।

प्रकाशित : वैशाख ७, २०७८ १६:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×