कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

भारतमा वैशाख १८ देखि १८ वर्षमाथिका सबैलाई खोप

नयाँदिल्ली — कोरोना संक्रमण भयावह बन्दै गएपछि भारत सरकारले खोप अभियान थप तीव्र बनाउने भएको छ । सरकारले सोमबार अठार वर्षमाथिका सबैलाई खोप लगाउने निर्णय गरेको हो । 

भारतमा वैशाख १८ देखि १८ वर्षमाथिका सबैलाई खोप

प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा सोमबार बसेको विशेष बैठकले तेस्रो चरणको खोप अभियानअन्तर्गत वैशाख १८ देखि १८ वर्षभन्दा माथिको उमेरका सबैलाई खोप लगाउने निर्णय लिएको छ । भारतमा जनवरी १६ देखि खोप अभियान सुरु गरिएको हो । अप्रिल १ देखि ४५ वर्षमाथि उमेरका लागि खोप उपलब्ध हुँदै आएको थियो ।

त्यसै गरी बैठकले खोप खुला बजारमा बेच्न पनि अनुमति दिएको छ । यसअघि खोपको विक्री–वितरण भारत सरकारको प्रत्यक्ष निर्देशनमा हुँदै आएको थियो । खोप उत्पादकहरूले उत्पादनको ५० प्रतिशत केन्द्र सरकारलाई र बाँकी राज्य सरकार वा निजी क्षेत्रलाई दिन पाउने निर्णय पनि गरिएको छ ।

खोप उत्पादन क्षमता बढाउन अनुदान दिने निर्णयसमेत मोदी सरकारले गरेको छ । आइतबारसम्म भारतमा १२ करोड ३८ लाखभन्दा बढीले खोप लगाइसकेका छन् । तर पनि कतिपय राज्यमा खोप अभावका कारण अभियान नै स्थगित गरिएको छ । यसले गर्दा मोदी सरकारले चर्को आलोचना खेप्नुपरेको छ ।

भारतमा अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेकाद्वारा विकास गरिएको कोभिसिल्ड र भारतकै भारत बायोटेक र भारतीय औषधि अनुसन्धान परिषद्को साझेदारीमा विकास गरिएको कोभ्याक्सिन उत्पादन हुँदै आएको छ । कोभिसिल्डको उत्पादक सेरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) हो भने कोभ्याक्सिन हैदराबादको भारत बायोटेकले नै उत्पादन गर्दै आएको छ ।

यी दुई कम्पनीको उत्पादन क्षमताले नभ्याएपछि गत साता रुसमा विकसित स्पुतनिक–५ ले पनि आपत्कालीन अनुमति पाएको थियो । त्यसै गरी अमेरिका र जापानमा विकसित खोपलाई प्रक्रिया पूरा गरेर अनुमति दिने निर्णय पनि भइसकेको छ । भारत सरकारले जुलाई अन्त्यसम्म २५ करोडलाई खोप लगाउने लक्ष्य राखेको छ ।

प्रकाशित : वैशाख ७, २०७८ १२:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?