अस्ट्रेलिया–न्युजिल्यान्ड हवाई उडान सुरु

अस्ट्रेलिया — अस्ट्रेलिया र न्युजिल्यान्डबीच सोमबारदेखि हवाई उडान सुरु भएको छ । एक वर्षभन्दा लामो समयपछि सुरु भएको हवाई उडानमार्फत यात्रा गर्नेहरू क्वारेन्टाइनमा भने बस्न पर्ने छैन ।

हवाई सेवा सुरु गर्नका लागि दुई देशले केही समय पहिले नै सहमति गरेका भए पनि अस्ट्रेलियामा कोरोना भाइरसको दोस्रो लहर देखिएपछि स्थगित गरिएको थियो । तर न्युजिल्यान्डबाट आउने यात्रुलाई भने अस्ट्रेलियाका केही क्षेत्रमा यात्रा गर्न यसअघि नै अनुमति दिइएको थियो ।

उडानमार्फत एकअर्का देशमा पुग्न चाहने हजारौं यात्रुले टिकट बुक गरेका बीबीसीले जनाएको छ । लकडाउनका कारण क्वारेन्टाइनविहीन यात्रा गर्न नपाएका दुवै देशका हजारौं यात्रुले उक्त निर्णयको स्वागत गरेका छन् । दुई देशबीच उडान बन्द भएपछि कैयौं नागरिकले अर्को देशमा रहेका आफन्तलाई समेत भेट्न पाएका थिएनन् । उडान सुरु हुने निर्णयसँगै सोमबार यात्रुहरू विमानस्थल खुल्नुभन्दा अगावै पुगिसकेका थिए ।

अधिकांशले लामो समयपछि खुला रूपमा यात्रा गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् । ‘म आज कति भावुक भएँ भन्नेबारे आफैंलाई थाहा भएन,’ अस्ट्रेलियाको सिड्नी विमानस्थलमा एक यात्रु डाउन ट्राटलाई उल्लेख गर्दै बीबीसीले जनाएको छ ।

पछिल्लो निर्णयअनुसार अर्को देश जान चाहने यात्रु कम्तीमा दुई साता उक्त देशमा बसेको हुनुपर्ने उल्लेख छ । त्यसका साथै उनीहरूमा कोरोना भाइरस संक्रमित नभएको वा भाइरससँग सम्बन्धित कुनै लक्षण नदेखिएको हुनुपर्ने छ । ‘ट्रान्स तास्मान बबल’ नाम दिइएको यो निर्णयबाट दुवै देशको पर्यटन क्षेत्रसमेत लाभदायी हुने विश्वास अधिकारीहरूको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार पछिल्लो निर्णयको दुवै देशका पर्यटन व्यवसायी तथा संघसंस्थाले स्वागत गरेका छन् ।

प्रकाशित : वैशाख ७, २०७८ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?